Sunday, September 13, 2026

चेरब स्मृति प्रतिष्ठानको पाचौं अधिवेशन तथा चेरब स्मृति सम्मान-२०८२ अर्पण कार्यक्रम सम्पन्न

चेरब स्मृति प्रतिष्ठानले मिति २०८३ साल भाद्र २७ गते शनिवारका दिन वि.पी. नेत्र प्रतिष्ठान आँखा ,नाक, कान, घाँटी अस्पताल मध्यपुर थिमी नगरपालिका वडा नं १ स्थित लोकन्थली , मनोहराफाँटको सभाकक्षमा तेह्रौं साधारण सभा, पाचौं अधिवेशन, चेरब स्मृति सम्मान-२०८२ तथा कविता वाचन कार्यक्रम कार्यक्रम सम्पन्न गर्यो ।

उक्त कार्यक्रकमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार श्री महेश प्रसाईं हुनुहुन्थ्यो भने विशिष्ठ अतिथिहरूमा डा. विष्णु बिभु घिमिरे,भाषा आयोगका माननीय सदस्य श्री मातृका पोखरेल, घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष चेतनाथ घिमिरे,पाण्डवराज घिमिरे प्रतिष्ठानका अध्यक्ष कुलराज घिमिरे,कवि चन्द्रप्रसाद न्यौपाने,नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक श्री मदन तिम्सीना, गोरखापत्र संस्थानका अधिकृत कर्मचारी श्री केदार वाशिष्ठ, प्रतिष्ठानका आजीवन सदस्य, साधारण सदस्य, कवि कलाकार एवम् प्रतिष्ठानका पदाधिकारीहरू, समाज सेवीहरू रहनु भएको थियो ।

उक्त कार्यक्रममा आ.व.२०८२/८३को आर्थिक प्रतिवेदन श्री टीका खनाले र सचिवको प्रतिवेदन सचिव श्री पदम बाँस्तोलाले पेश गर्नु भएको थियो । दुवै प्रतिवेदन सभाले सर्वसम्मत रूपमा पास गरेको थियो।

उक्त सभाले प्रतिनिधि चयनका लागि गरिएको प्रस्तावमा विद्यमान समितिलाई नै एक कार्यकालका लागि सर्वसम्मत रूपमा पारित गरेकोछ ।
सभामा प्रा.डा. विष्णु बिभु घिमिरे, भाषा आयोगका माननीय सदस्य मातृका पोखरेल, घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष श्री चेतनाथ घिमिरेले शुभकामना मन्तव्य राख्नु भएको थियो।

उक्त कार्यक्रमका प्रमुख अतिथि श्री महेश प्रसाईंलेप्रतिष्ठानले शोकलाई शक्तिमा बदल्ने कार्य गरिरहेको भन्द‌ै प्रेरणा दिनु भएको थियो। ने.वि.प्रा.का उप कार्यकारी निर्देशक श्री मदन तिम्सीनाले आफ्नो मन्तब्यका साथ भोटेकोसीको विपद् सम्वन्धी स्थलगत निरीक्षण गर्दाका जानकारीहरू गराउनु भएको थियो ।

कार्यक्रमा चेरब स्मृति सम्मान २०८२ बरिष्ठ साहित्यकार एवम् लघुकथाकार श्री पुष्करराज भट्टलाई प्रमुख अतिथि सभापति तथा सल्लाहकार रत्नकला घिमिरे,प्रमुख अतिथि एवम् अध्यक्ष पुण्य घिमिरेबाट प्रदान गरिएको उक्त कार्यक्रममा भोटेकोसी बाढीमा परी मृत्यु हुनेहरूमा श्रद्धाञ्जली, हराई रहेकाहरूको शीघ्र उद्धार तथा राहत उद्धारमा शीघ्रताको कामना गरिएको थियो । प्रतिष्ठानका अध्यक्षले पीडितहरूसँग समन्वय गरी प्रतिष्ठानले समयानुकूल सुरक्षा सम्वन्धी कार्यक्रमहरू र सामाजिक सेवाहरू अगाडि बढाउने जानकारी दिनुभएको थियो ।

कार्यक्रममा आशिष खनाल, सञ्जय सोती, डा. तीर्थ भट्ट, निर्मण रमण पराजुली, श्याम श्रेष्ठ, भोजराज रेग्मी मुखाले, भानुभक्त न्यौपाने, केदार वाशिष्ठ, पदम खनाल, मधुस न्योपानेले कविता वाचन गर्नु भएको यो समग्र कार्यक्रम सिस्नु पानीका सदस्य समेत रहनुभएका,प्रतिष्ठानका सचिव श्री चक्र दवाडीले संचालन गर्नु भएको थियो स्वागत मन्तव्य मधुस न्यौपानेले गर्नु भएको थियो भने प्रतिष्ठानका उपाध्यक्ष धर्म पोखरेलले धन्यवाद मन्तव्य गर्नु भएको थियो ।

००० 
































Friday, September 11, 2026

साहित्य सदनद्वारा विश्वेश्वरप्रसाद कोइरालाका आख्यानमा सङ्गोष्ठीको आयोजना

नेपाली साहित्यका सशक्त हस्ताक्षर आख्यानकार विश्वेश्वरप्रसाद कोइरालाको ११३ औं जन्मजयन्तीका अवसरमा वि.सं. २०८३ भाद्र २४ गते साहित्य सदन नेपालले सदनको रमेश विकल सभाकक्षमा 'आख्यानमा विश्वेश्वरप्रसाद कोइराला’ विषयक सङ्गोष्ठी आयोजना गर्यो । वरिष्ठ साहित्यकार डा. तुलसीप्रसाद भट्टराई प्रमुख अतिथि र सदनका अध्यक्ष प्रा.डा. हेमनाथ पौडेलको अध्यक्षता रहेको सो सङ्गोष्ठी कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतमले 'विश्वेश्वरप्रसाद कोइरालाका आख्यानमा इतरजातीय नारीपुरुष सम्बन्ध' प्रा.डा. नारायणप्रसाद चालिसेले 'विश्वेश्वरप्रसाद कोइरालाका आख्यानको प्रगतिशील वैचारिक समाजदर्शन' र डा. अनुपमा रेग्मीले 'विश्वेश्वरप्रसाद कोइराला कथामा प्रयुक्त दिगकाल' विषयक गोष्ठीपत्र प्रस्तुत गर्दै नेपाली साहित्यको आख्यान क्षेत्रमा कोइरालाको विशिष्ट एवं बहुआयामिक योगदान रहेको चर्चा गर्दै नयाँ किसिमले लेखिएका आआफ्ना गोष्ठीपत्रहरू प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा पूरक प्रस्तोताहरू प्रा.डा. रमेशप्रसाद भट्टराई, प्रा.डा. ज्ञानु पाण्डे र प्रा.डा. गोपीन्द्र पौडेलले कोइराला नेपाली आख्यान क्षेत्रको धरोहर भएको उल्लेख गर्दै गोष्ठीपत्रहरूमाथि आआफ्ना टिप्पणी र सुझाव राख्नुभएको थियो । गोष्ठीमा थप पूरक विचार राख्नेहरूमा वरिष्ठ साहित्यकारहरू डा. विष्णुविभू घिमिरे, प्रा.डा. जीवेन्द्र गिरी, प्रा.हेमचन्द्र नेपाल, प्रा. पुरुषोत्तम दाहाल, प्रा.डा. रामप्रसाद ज्ञवाली, प्रा.डा.जगदीशचन्द्र भण्डारी, साहित्यकार नर्मदेश्वरी सत्याल, भीमानन्द ढुङ्गाना, देविका तिमल्सिना, रमेश खनाल लगायत हुनुहुन्थ्यो । सङ्गोष्ठीमा काठमाडौँ महानगरपालिका वडा नं ६ का वडाध्यक्ष भुवन लामाले कोइरालाको लोकतन्त्रप्रतिको योगदानका बारेमा मन्तव्य राख्दै साहित्य सदनप्रति आफ्नो साथसहयोग सधैँ रहिरहने बताउनुभयो ।

साहित्य सदन नेपालका उपाध्यक्ष मित्रलाल पंज्ञानीले गोष्ठीको अैाचित्य र स्वागत मन्तव्य राख्नुभएको र सदनका सचिव प्रह्लाद पोख्रेलले सञ्चालन गर्नुभएको सो सङ्गोष्ठीमा प्रमुख अतिथि डा. तुलसी भट्टराईले कोइरालाका राजनीतिक र साहित्यिक योगदानमाथि प्रकाश पार्दै साहित्य सदन नेपालले कोइरालाका आख्यानमा केन्द्रित भएर जुन सङ्गोष्ठी आयोजना गरेको छ यो वर्तमान सन्दर्भमा अत्यन्त महत्त्वपूर्ण रहेको छ र सायद आज मुलुकभरिकै सबभन्दा महत्त्वपूर्ण कार्यक्रम यो नै रहेको भन्नुभयो । उहाँले अहिलेको अवस्थामा लोकतान्त्रिक स्रष्टाहरू पुन: एकजुट हुनुपर्ने अवस्था आएको पनि बताउनुभयो । सभापतिका आसनबाट डा.हेमनाथ पौडेलले विश्वेश्वरप्रसाद कोइरालाको नेपाली राजनीतिमा मात्र होइन, साहित्यमा पनि विशिष्ट योगदान रहेको उल्लेख गर्नुभयो र नेपालको राजनीतिक आकाशमा हिजो ठुला दलहरूले मुलुक र जनताका पक्षमा भन्दा पार्टी र व्यक्तिस्वार्थमा काम गर्दा जनता असन्तुष्ट बनेकाले आजको अवस्था आएको उल्लेख गर्दै अहिले मुलुक दोबाटोमा रहेको हुँदा लोकतन्त्रवादी शक्तिले आत्मसमीक्षा गरेर सुध्रने बाटोमा लाग्नुपर्ने र सबै लोकतान्त्रिक शक्तिहरू एकता बद्ध भएर मुलुकलाई सही दिशामा ल्याउन अगाडि बढ्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले यसको सुरुवात यही कार्यक्रबाट साहित्यकारहरुबाट गरिएको बताउँदै अब प्रमुख अतिथिले भन्नुभए जस्तै लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्चको आवश्यकता भएको पनि बताउनुभयो र यी गोष्ठीपत्रहरू परिमार्जन भएर आएपछि छिटै प्रकाशन गरिने पनि बताउनुभयो र उपस्थित सबैलाई धन्यवाद दिएर सभा समापन गर्नुभयो । सङ्गोष्ठीमा साहित्यकारहरू खगेन्द्र सङ्ग्रौला, प्रा.डा. कुलप्रसाद कोइराला, प्रा.डा. जगतप्रसाद उपाध्याय, प्रा.प्रयागराज वाशिष्ठ, कोशराज न्यौपाने, ईश्वरी लामिछाने, गोविन्द घिमिरे वेदमणि, मातृका पोखरेल, विष्णुप्रसाद शर्मा पराजुली, गोकुल अधिकारी, हिरामणि दुखी, प्रा.डा.नन्दीश अधिकारी ,मधुसुदन पाण्डेय, बिसु केसी, शान्ता मानवी, डा.विन्दु शर्मा, रामप्रसाद पन्त, ठाकुर शर्मा भण्डारी, गोपाल बराल, महेन्द्र चालिसे, युवराज मैनाली, डा.गीता त्रिपाठी, सीता शर्मा, डा.रजनी ढकाल डा. विदुला घिमिरे, डा.हरिप्रसाद सिलवाल, गणेश मिश्र लगायतका ९० जनाभन्दा बढी विशिष्ट साहित्यकारहरूको घनीभूत उपस्थिति रहेको थियो ।

000

साहित्य सदनको फेसबुक पेजबाट















Wednesday, September 2, 2026

कविता : रसुवा ! त्यसबेला म तिमीसँगै हुनेछु

  - मातृका पोखरेल


आँखाभरि भोलि बोकेर
जसरी बिहानको पहिलो घाम
हिमालको निधारमा आइपुग्छ
तिमी त्यसरी नै आउनू
अँध्यारोले छोपेका घरहरूको छानोमाथि
एउटा उज्यालो लिएर आउनू
रसुवा ! त्यसबेला म तिमीसँगै हुनेछु ।

भोलि पनि बिर्सनु हुँदैन हामीले
आमाको काखबाट हराएका बच्चाको आवाज
सुनाउनु पर्छ फेरि पनि
सधैँसधैँ छेउमा
उसको हराएको घरको तस्बिर
राख्नु पर्छ साँचेर
बुढो बाबुको खाली आँगनमा
फर्केर आउने पाइतालाको आवाज
सँगसँगै राख्नुपर्छ
एक्लिएको विश्वासको छेउमा
अझै बाँकी रहेको
जीवन र सपनाको स्पर्श
यी सबैसबै राख्नु पर्छ
हामीले सजाउनु नै छ उजाड बगरहरूमा
फेरि अर्को वसन्त
रसुवा ! त्यसबेला म तिमीसँगै हुनेछु ।

जीवनको आकाशमा निराशालाई भगाउनु छ
भोलि सबैरै
फेरि एउटा गाउँ बसाउनु पर्छ
फेरि एउटा भविष्य उठाउनु पर्छ
फेरि एउटा सभ्यता उठाउनु पर्छ
त्यसबेलासम्म हामीले
धैर्यताका बीजहरूले
आफ्नै घर, आँगनमा
विश्वास रोपिसक्नुपर्ने छ
ए चेतनाको वसन्ती मान्छे !
विश्वास नरोपी
बगरमा त्यसै उम्रिँदैन वसन्त
रसुवा ! त्यसबेला म तिमीसँगै हुनेछु ।

ooo

सल्लाघारी, भक्तपुर
२०८३ भाद्र १६ गते

[ २०८३ साल भाद्र १० गते भोटे कोशीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा पारेको व्यापक जनधनको क्षतिपछि लेखिएको कविता ]



==========================================================