Saturday, February 29, 2020

कविता : यसपटक दशैंमा

- मातृका पोखरेल

यसपटक दशैंमा घर जाँदा
मैले ढाक्रेहरूको अनुहारमा देश देखें
उनीहरूको जीवनमै देश भेटें,
सत्य हो, नढाँटी भनेको
उनीहरूको सानो ढाकरमैं देश देखें ।

बाटामा ढाक्रे दाइहरूले सोधे
भाइ, देश कस्तो छ ?
मैले उनीहरूकै ढाकरपछि झुण्डेको
केही पकाउँदा कमेरो माटोले टाल्नुपर्ने,
सिलिबरे भाँडो देखाउँदै भनें
दाइ, देश तपाइँकै भाँडोजस्तो छ
उनीहरूले निधार खुम्च्याएर भने
भाइ, देश त टिठलाग्दो पो रहेछ ।

उनीहरूले ढिंडो ओडाल्दै गर्दा
मजुवा बिसौनीमा सोधे
भाइ, देशको रूप कस्तो छ ?
मैले टारी खेततिर देखाउँदै भनें
ऊ त्यही सिमाना सर्दै–सर्दै आएको,
पल्ला गाउँको जिम्वालले मिचेको
सत्ते होला दाइ!
देश तपाइँकै गैह्री खेतजस्तो छ
उनीहरूले निधार खुम्च्याएर भने
भाइ! देश त दुःखलाग्दो पो रहेछ ।

साहुको घरनेर पुगेर
ढाक्रे दाइहरूले भारीलाई टेको दिँदै सोधे
भाइ! देशले पनि ऋण खान्छ ?
मैले व्यथा सुनाएँ
दाइ, देशले खाएको ऋणले
हाम्रो घर–दलान नै बन्दकी छ रे
हाम्रो घर–दलान मात्र होइन
तारेभिर पनि डुब्छ रे ।
ढाक्रे दाइहरू रिसले तातेर भने
भाइ! देश त पोल्दो पो रहेछ ।

मैले उनीहरूको अनुहारमा हेरें
चिउँडोबाट दुखिरहेको देश
तप्प–तप्प बगिरहेको थियो
उनीहरूले मलाई हेरिरहेका थिए
म उनीहरूलाई हेरिरहेको थिएँ
यसपटक दशैंमा घर जाँदा ।


o
मूल्यबोध, वर्ष २, अंक १, २०६१ कार्त्तिक

No comments: