Thursday, March 5, 2020

कथा : थवाङ हेर्ने रहर

                                  मातृका पोखरेल


म घर आइपुग्दा बेलुकाको सात बजिसकेको थियो । हिजोआज घर आइपुग्दा प्रायः ढिलै भइसकेको हुन्छ । बरु आज चाँडै घर आएको थिएँ म । घरको वातावरणले हुनुपर्छ, मलाई अचेल चाँडै घर आउन मन लाग्न छाडेको छ ।
कलेजमा पढ्दापढ्दै मेरो सम्बन्ध विद्यार्थी सङ्गठनको माध्यमबाट राजनीतिक पार्टीसम्म पुगेको थियो । मैले त्यहाँ नयाँ चिन्तन र दृष्टिकोण बोकेका मानिसहरू देखेँ । आपूm जुन परिवेशमा हुर्किरहेको थिएँ, त्यहाँको वातावरण अत्यन्त अस्वस्थकर लाग्थ्यो । म हुर्किएको ठाउँमा जीवन भनेकै पैसाका लागि मात्र हो भन्ने विचारले घरजम गरेको थियो । तर, यो संसार त्योभन्दा केही फरक थियो । यहाँ पनि अस्वस्थ मान्छेहरू नभएका भने पटक्कै होइनन् । तर, केही फरक थियो यहाँको वातावरण । यहाँ मानिसको मूल्यलाई पैसामा होइन, अन्य सिर्जनात्मक कुराहरूमा खोजिँदो रहेछ । विस्तारै राजनीतिसँग मेरो सम्बन्ध बढेको कुरा चाल पाएपछि बुबा झनै चिन्तित हुनुहुन्थ्यो ।
कलेजमा साथीहरूसँग कुरा ग¥यो, पुस्तकालयतिर बस्यो, देशको अवस्थाबारे छलफल ग¥यो, केही समयदेखि मलाई यसैमा आनन्द लाग्न थालेको थियो । धेरै काम नहुँदानहुँदै पनि अचेल म घर पुग्दा प्रायः अबेर भइसकेको हुन्थ्यो । म घरमा अबेर गरेर पुगेको बुबालाई मन पर्ने कुरै थिएन । आमा असाक्षर र सोझी हुनुहुन्थ्याृे । त्यसैले उहाँलाई यी सब कुरासँग कुनै मतलव थिएन । बुबा उद्योग मन्त्रालयमा सहसचिव हुनुहुन्थ्यो । बुबाको करिबकरिब ‘रिटायर्ड’ हुने बेला पनि भइसकेको थियो । 
हामीले केही महिनाअघि मात्र मैतिदेवीको पुरानो घर बेचेर नयाँ बानेश्वरमा एउटा घर किनेका थियौं । हामीले किनेको नयाँ घर अत्याधुनिक थियो । प्रशस्त खाली ठाउँ भएको र विभिन्नखाले रूखबिरुवाहरूले भरिएको बगँैचा थियो । कार्यालयबाट फर्कनेवित्तिकै बुबा मलाई पर्खिरहनुहुन्थ्यो । मलाई लिएर टोलतिर परिचय गराउनुहुन्थ्यो । कार्यालयबाट फर्किएपछि परिचितहरूको घरमा जाने र नयाँनयाँ परिचय खोज्ने बुबाको आदतजस्तै भइसकेको थियो ।
“ए, यता सुन् !” म गेटबाट भित्र पस्न मात्र के लागेको थिएँ, बुबाको स्वरले एकाएक झस्किएँ ।
बुबाको स्वर अरु दिनभन्दा अलिक बढी कडा थियो । बुबा बगँैचामा एक्लै टहल्दै हुनुहुँदो रहेछ । गेटभित्र पस्नेवित्तिकै दाहिनेतिर बीचबीचमा चाइनिज दुबो लगाएको, वरिपरि विभिन्न पूmलका बिरुवाहरू र विभिन्न रूखहरूले घेरिएको बगँैचा निकै सुन्दर र फराकिलो थियो । मलाई केही भन्नका लागि उहाँ त्यतिबेला बगैँचामा घुमिरहनुभएको थियो । नत्र उहाँले बगैँचातिर यसरी घुम्ने गरेको मैले योभन्दा पहिले कहिले पनि देखेको थिइनँ । बुबाको कडा स्वर सुन्नेवित्तिकै म टक्क उभिएँ ।
“तेरो जागिरको विषयलाई लिएर आज मैले स्वास्थ्य सचिवसँग कुरा गरेको छु । एक हप्तापछि गएर तैले उहाँलाई भेट्नू !” बुबाले मतिर नहेरीकन उस्तै कडा स्वरले भन्नुभयो ।
मैले कुनै पनि प्रतिक्रिया दिन आवश्यक ठानिनँ । मलाई थाहा थियो, उहाँ मेरो बाटोमा कुनै न कुनै अवरोध खडा गर्न र मलाई अन्यत्र मोड्न चाहनुहुन्थ्यो । मैले भर्खरै मात्र चिकित्साशास्त्रबाट स्नात्तकोत्तर (एम्.डी.)को परीक्षा सिध्याएको थिएँ । जागिरका लागि धेरैतिर सम्भावनाहरू थिए ।
समाजसेवा र राजनीतिसँग मेरो सम्बन्ध बढ्न थालेकोमा बुबा अत्यन्त असन्तुष्ट हुनुहुन्थ्यो । मेरैअगाडि सिधै भन्न सक्नुभएको त थिएन तर विभिन्न कोणहरूबाट उहाँको असन्तुष्टि झल्किन्थ्यो । मलाई भेट्न घरमा आउने साथीहरूलाई उहाँले असहिष्णु आँखाले हेर्न थाल्नुभएको थियो । कलेजका विद्यार्थी साथीहरूमार्फत् म राजनीतिक सङ्गठनको नजिक पुगेँ । समाजका लागि मेरो पनि केही भूमिका हुनुपर्छ भन्ने मलाई पहिलेदेखि नै लागिरहन्थ्यो । त्यसका लागि राजनीतिक पार्टी उपयुक्त र प्रभावकारी ठाउँ हो भन्ने मलाई लाग्यो । म संलग्न भएको पार्टीसँग देश र जनतालाई दिशानिर्देश गर्ने उपयुक्त विचार थियो ।
बुबाले भन्दा फरक ढङ्गले मैले जागिरलाई सोच्न थालेको थिएँ । जागिर खाएर पैसा मात्र कमाउने सोचबाट मुक्त भएको थियो मेरो मानसिकता । मभित्र बुबाको सोचाइअनुसारको जागिरप्रति क्रमशः घृणा हुर्किरहेको थियो ।
“अनावश्यक यस्ता समाचारहरू हेरेर समय नास गर्ने !” आमा र मैले टेलिभिजनको समाचार हेरिरहेको बेला बुबाले ‘मेन स्विच अफ’ गरेर टेलिभिजन बन्द गरिदिनुभयो ।
आमा र म दुवै असमञ्जस्यमा प¥यौँ । किन यस्तो भयो ? बुबाले यसप्रकारको व्यवहार पहिलोपटक देखाइरहनुभएको थियो । मैले आमाको मुखतिर हेरेँ । आमा छक्क परिरहनुभएको थियो । 
“के भयो र !” हामी समाचार हेरिरहेका थियौँ । आमाले बुबाको मुखतिर हेरेर सुस्तरी भन्नुभयो । 
“यस्ता समाचारहरूले गर्दा यहाँ भद्रगोल भइसक्यो”, अत्यन्त क्रोधित हुँदै बुबाले आमालाई जवाफ दिनुभयो ।
बुबाको कुरा त मैले बुझिसकेको थिएँ तर आमालाई त्यो कुरा बुझ्न सहज थिएन । एकदुई वर्षअघि मात्रै त हो, टेलिभिजनबाट प्रसारित टेलिसिरियलहरू हेर्नै पाउँदैनथ्यौं आमा र मैले । बुबा त्यसबेला समाचारका च्यानलहरू ‘सर्च’ गरिरहनुहुन्थ्यो । बुबा हामीसँग यस्ता टेलिसिरियलहरू हेरेर समय बर्बाद गर्नु हुँदैन भन्नुहुन्थ्यो ! र, समाचार हेर्न प्रेरित गर्नुहुन्थ्यो । विस्तारैविस्तारै आमाको पनि बानी पर्दै जान थाल्यो समाचार हेर्ने । मलाई पहिलेदेखि नै दुवै कुराको उत्तिकै चासो थियो । पछिपछि नियमित रुपमा टेलिसिरियलहरू हेर्न नपाएपछि मलाई पनि त्यसप्रतिको रुची कम हुँदै गयो । विस्तारैविस्तारै समाचारप्रति मेरो आकर्षण बढ्दै गयो । चाहेरनचाहेर पनि आमाले समाचारहरू हेर्न थाल्नुभयो । बुबा नभएको मौका पारेर कहिलेकाहीँ टेलिसिरियलहरूमा अनियमित आँखा पु¥याउनुहुन्थ्यो । नियमित हेर्न नपाएपछि टेलिसिरियलहरूप्रतिको चासो आमालाई पनि विस्तारै कम हुन थालेको थियो ।
बुबाले त्यसो भनिरहँदा आमाको आँखा प्रश्नैप्रश्नले भरिएको थियो । म स्थिर भएर बुबाको अनुहार हेरिरहेको थिएँ । मलाई थाहा थियो, बुबा मसँग केही कुरा गर्ने अवसरको प्रतीक्षामा हुनुहुन्थ्यो । मैले जतिसुकै कुरा गरे पनि बुबाले त्यसलाई सकारात्मक रुपले ग्रहण गर्नुहुन्न भन्ने कुरामा म ढुक्क थिएँ ।
बुबा घाइते योद्धाजस्तो अनुहार बनाएर एकोहोरो मतिर हेरिरहनुभएको थियो । मेरो हालत पनि खोरमा थुनिएको पाठोजस्तै भएको थियो । कतै उम्किने ठाउँ थिएन ।
“हिजोआज तेरो सङ्गत फटाहाहरूसँग बढिरहेको छ । ती फटाहाहरूसँगको सङ्गत अब तैंले छाड्नैपर्छ ।” यति भनिसकेपछि बुबा फेरि मलाई घुरेर हेर्न थाल्नुभयो । 
आमाका लागि यो नितान्त नौलो कुरो थियो । उहाँ अप्रत्याशित र नौलो कुरा सुनेझैं गरेर हामी दुवैजनातिर हेर्दै केही कुरा बुझ्ने कोसिस गर्दै हुनुहुन्थ्यो ।
“मैले जोसँग सङ्गत गरेको छु, ती मानिसहरू हाम्रो समाज र देशका अत्यन्त असल मानिसहरू हुन् ।” पहिलोपटक बुबासँग प्रत्युत्तर गरेँ मैले ।
बुबाले भनेको कुरामा विवाद नगर्ने परम्पराजस्तै थियो घरमा । तर, त्यसबेला बुबाको कुरामाथि प्रतिवाद नगरी बस्नै सकिनँ मैले । बुबाको कुरामाथि प्रतिवाद गरेको सुनेर आमा पनि छक्क परिरहनुभएको थियो र मेरो मुखमा क्वाक्र्वार्ती हेरिरहनुभएको थियो । आमाले पनि पहिलोपटक यस्तो घटना देखिरहनुभएको थियो । बुबाले पनि अचम्म मान्नुभएको हुनसक्छ । उहाँले पनि मैले यसरी प्रतिवाद गर्छु भनेर पक्कै सोच्नुभएको थिएन होला ।
“ती फटाहाहरूसँग सङ्गत गरेको देखेँ भने अब राम्रो हुन्न । मलाई त्यो कम्युनिस्ट भन्ने जातै मन पर्दैन ।” बुबाले अन्तिम निर्णय सुनाउनुभयो ।
“तपाईंले जजसलाई फटाहा देख्नुभयो, ती त असल मानिसहरू हुन् । देशको चिन्ता गर्ने मानिसहरू हुन् । बरु, तपाईंका साथीहरू सोच्नुस् त !” मेरा साथीहरूप्रतिको गलत आरोप सहन मलाई उचित लागेन ।
बुबासँग प्रतिवाद गरेको देखेर आमाले अचम्म मान्दै हामी दुवैजनातिर पालैपालो हेरिरहनुभएको थियो । उहाँको अनुहारभरि सन्त्रास दौडिरहेको देखिन्थ्यो । त्यहाँ उहाँले कहिल्यै नदेखेको र कल्पना नगरेको कृुरा भइरहेको थियो ।
“मेरा साथीहरूलाई के देखिस् तंैले ?” बुबा पनि आक्रोशित हुनुभयो ।
“तपाईंका साथीहरू भ्रष्टाचार गर्न पाउनुलाई ठूलो भाग्य सम्झन्छन् । रुपैयाँ पैसालाई इज्जत नाप्ने साधन ठान्छन् । के तपाईंका ती साथीहरू यो समाज र देशका असल मान्छेहरू हुन् ?” बुबाको दृष्टिकोणप्रति प्रतिवाद गर्ने मेरो सुषुप्त इच्छा पूरा भएकोमा म आज रोमाञ्चित पनि भइरहेको थिएँ ।
म बुबाका अघिल्तिर अझै कुरा गर्न चाहन्थें । तर, बुबा मैले प्रतिवाद गरेको सुन्न चाहिरहनुभएको थिएन । मेरो कुरा पूरा हुन नपाउँदै बुबा कोठाबाहिर निस्कनुभयो ।
“बुबा र तेरो कुरा के हो ? मैले त केही बुझिनँ नि !” आमाले वाल्ल परेर मतिर हेरिरहनुभएको थियो । 
“हेर्नुस् न, मेरा साथीहरू खराब छन् रे ! बुबाका साथीहरू असल छन् रे ! मैले मेरा साथीहरूसँगको सङ्गत छाड्नुपर्छ रे !” मैले आमाको उत्सुकता केही मेटाउने प्रयत्न गरेँ । “होइन, तेरा साथीहरू त धेरै असल छन् । बुबाका साथीहरू पैसा कमाउनेबाहेक अरु कुरै गर्दैनन् । सधैंभरि तास खेल्यो, रक्सी खायो । म पनि दिक्क भइसकेँ । बुबाका साथीहरू त मलाई पनि मन पर्दैनन् ।” यति भनिसकेपछि आमाले एकपटक लामो सास फेर्नुभयो । 
अशिक्षित र सोझी आमाले गरेको यो मूल्याङ्कन मेरा लागि ठूलो प्रोत्साहन थियो । 
रोल्पा, रुकुकलगायत पश्चिमी नेपालका केही जिल्लाहरूमा फैलिएको हैजाले महामारीको रुप लिन थालेको थियो । हामी भर्खरै पढाइ सिध्याएका र पढ्दै गरेको चिकित्साशास्त्रका विद्यार्थीहरू त्यस क्षेत्रमा गएर उपचार गर्न हौसियौँ । पार्टीलाई नै हामीले प्रस्ताव पठायौँ । हामीले अनुमति मात्र पाएनौँ, हाम्रो कार्यप्रति पार्टीले विशिष्ट मूल्याङ्कन गरेको खबर पनि पायौँ । त्यस क्षेत्रमा सरकारको कार्य प्रभावकारी हुन सकिरहेको थिएन । 
“यही मौका हो जलजला पहाड हेर्ने ।” डा. अन्जानले खुसी व्यक्त ग¥यो । 
“थवाङ हेर्ने मेरो पुरानो रहर पूरा हुने भयो ।” डा. विराज पनि रोमाञ्चित भयो । 
“के त्यस्तो छ र थवाङमा ?” मैले केही थाहा पाएजस्तो गरेँ । 
‘त्यति दुर्गम गाउँ पनि राजनीतिक रुपले कसरी त्यति सचेत हुन सक्यो ?’ मभित्र धेरै पहिलेदेखि यो प्रश्न उठिरहेको थियो । मैले पनि उसको कुरामा सहमति जनाएँ । 
चिकित्सकहरूसहितको हाम्रो एउटा टोली तुरुन्त पश्चिम नेपालतिर हिँड्ने तयारीमा लाग्यो । हिँड्ने बेलामा मैले आमासँग भनेँ, “म गरिब जनताको सहयोगका लागि पश्चिम नेपालको गाउँतिर जाँदै छु, बुबालाई भनिदिनू ।”
आमाको आँखामा आँसु डबडबाइरहेको देखेँ ।
“मेरा खुसीका आँसुहरू हुन् यी । गरिब जनताको सहयोग गर्ने भनेपछि म भित्रभित्रै खुसी भएँ ।” आमाले तुरुन्त सम्हालिएर स्पष्टीकरण दिनुभयो । 
“बुबाले पनि यसरी सोचिदिएको भए...!” कल्पनाको सुन्दर संसार बनाउँदै एउटा झोला बोकेर बाटो लागेँ । 

                                                         Ο

चन्द्रागिरी साहित्यिक त्रैमासिक, वर्ष– २, अङ्क– १ पूर्णाङ्क– २ साउन–असोज २०६८

No comments: