Friday, April 5, 2019

किन विवादमुक्त हुँदैन प्रगतिशील लेखक संघ ? - प्रकाश गुरागाईं

प्रगतिशील लेखक–कलाकार संघको प्रथम राष्ट्रिय सम्मेलनबाट निर्वाचित सचिवालय सदस्यहरू बायाँबाट क्रमशः खगेन्द्र संग्रौला, मोदनाथ प्रश्रित, रमेश विकल, शक्ति लम्साल र निनु चापागाईं । तस्बिर सौजन्य: निनु चापागाईं

चर्चित प्रगतिशील लेखक पारिजातले अर्का लेखक मोदनाथ प्रश्रितलाई ‘साइलक’ उपनाम दिइन् । दुईबीचको विवादले उग्र रूप लियो । साइलक सेक्सपियरको नाटकको त्यस्तो पात्र हो, जो मान्छेको मासु खान्छ । यो झगडामा पारिजात र मोदनाथ प्रश्रितको व्यक्तिगत टकराव त थियो नै, तर आरोप–प्रत्यारोपमै उत्रिने तत्कालीन कारण भने प्रगतिशील लेखक संघको पहिलो राष्ट्रिय सम्मेलन थियो ।
०४४ सालमा भएको पहिलो सम्मेलनले रमेश विकललाई अध्यक्ष र मोदनाथ प्रश्रितलाई महासचिव छान्यो । प्रलेस त्यतिवेलाका वामघटकआबद्ध लेखकको साझा मञ्च थियो । प्रश्रित तत्कालीन नेकपा मालेको जनवर्गीय संगठन राष्ट्रिय जनसांस्कृतिक मञ्चको अध्यक्ष पनि थिए । उनले जनसांस्कृतिक मञ्च लेखक कलाकारहरूको साझा मोर्चा भएको अभिव्यक्ति दिए । यहीँबाट विवाद सतहमा आयो ।
पारिजात प्रलेस पार्टीको भातृसंगठनजस्तो नभई स्वतन्त्र हुनुपर्छ भन्ने विचार राख्थिन् । प्रश्रितले जनसांस्कृतिक मञ्च नै साझा भएको बताएपछि पारिजातले प्रलेसबारे प्रश्न मात्र उठाइनन् कि प्रश्रितमाथि वैचारिक प्रहार गरिन् । त्यतिवेला पारिजातले उठाएको विषयमा आफूले पनि सहमति जनाएको लेखक नारायण ढकाल सम्झन्छन् । भलै, ढकाल तत्कालीन नेकपा माले र पारिजात नेकपा चौममा आबद्ध थिए । तर, ‘साइलक’ भनिएको कुरामा भने आफ्नो असहमति रहेको ढकालले बताए ।
यसकारण प्रलेसको पहिलो सम्मेलन नै विवादमुक्त हुन सकेन र विवाद यतिमा मात्र सीमित रहेन । प्रलेसमा गैरलेखकलाई सदस्यता बनाइने ‘रोग’ ऊवेलै रोपिएको थियो ।
पहिलो राष्ट्रिय सम्मेलनको एजेन्डा तत्कालीन प्रगतिशील लेखक कलाकार संघ (प्रलेक संघ) को पुनर्गठन गरेर सबै वामघटकको साझा मोर्चा बनाउने पनि थियो । ०३६ सालमा प्रलेक संघको नाममा पुनर्गठन गरिएको थियो । संयोजक रघुजी पन्त थिए । त्यसको केन्द्रीय सदस्यमा कवि विमल निभा पनि थिए । तर, आठ वर्षपछि भएको राष्ट्रिय सम्मेलनमा विमल निभालाई हटाएर नेकपा चौमका हुकुमबहादुर सिंहलाई केन्द्रीय सदस्य बनाइयो । ‘मान्छेका रूपमा हुकुमबहादुर सिंह महान् हुनुहुन्छ, तर उहाँ लेखक त होइन, विमल निभा नै लेखक हो,’ नारायण ढकाल भन्छन्, ‘यसरी पार्टीका भक्तहरू प्रलेसमा पठाउन थालिएको हो ।’
यही अवस्था बढ्दै गएपछि ‘पार्टीका हनुमान’विरुद्ध आफूहरूले ०५९ सालको छैटौँ राष्ट्रिय सम्मेलनमा खगेन्द्र संग्रौलालाई अध्यक्षको उम्मेदवार बनाएको ढकालले बताए । त्यतिवेला संग्रौला कुनै पार्टीमा संलग्न थिएनन् । उनको प्रस्तावक ढकाल थिए भने समर्थक स्नेह सायमी । 
केही वर्षअघि पाटनमा भएको लिट्रेचर फेस्टिभलमा नारायण ढकालको अभिव्यक्ति घातलाग्दो थियो । उनले भनेका थिए, ‘प्रगतिशील लेखक संघको पाइपबाट नारायण ढकाल छिर्‍यो भने निस्कँदा प्रदीप नेपाल बन्छ ।’
तर, स्वतन्त्र नेतृत्व कायम गरेर प्रलेसको साख जोगाउने त्यो प्रयास सफल भएन । संग्रौलाले मात्र ६४ मत पाए । आनन्ददेव भट्ट ठूलो मतान्तरले विजयी भए । यसअघि ०५२ सालमा भएको चौथो सम्मेलनमा पनि प्रलेस फुटकै संघारमा पुगेको थियो । तत्कालीन नेकपा एमालेले अध्यक्ष, महासचिव र कोषाध्यक्षजस्ता सबै कार्यकारी पदमा दाबी गरेपछि अन्य सबै वाम पार्टीसम्बद्ध लेखकले सम्मेलन बहिष्कार गरे । हालका प्रलेस अध्यक्ष मातृका पोखरेल पनि त्यतिवेला बहिष्कार गर्नेमध्येका थिए । तर, त्यतिवेला र यतिवेलाको परिस्थिति फरक भएको पोखरेल बताउँछन् ।
निनु चापागाईं प्रलेस महासचिव थिए । उनलाई अध्यक्ष बनाउनुपर्ने वा महासचिवमा नै निरन्तरता दिनुपर्ने अन्य घटकको माग थियो । एमालेसम्बद्ध राष्ट्रिय जनसांस्कृतिक मञ्चले उपाध्यक्ष मात्र दिने भयो । त्यसपछि नेपाल जनसांस्कृतिक संघ, इन्द्रेणी सांस्कृतिक समाज, रक्तिम सांस्कृतिक परिवार, जनकला सिर्जन समाज, प्रतिभा प्रवाहसँग सम्बद्ध निनु चापागाईं, जगदीशचन्द्र भण्डारी, कृष्ण सेन इन्छुकलगायतले सम्मेलन बहिष्कार गरे । सो सम्मेलनबाट अध्यक्षमा गोविन्द भट्ट, उपाध्यक्षमा विमल निभा, महासचिवमा गंगाप्रसाद उप्रेती, सचिवमा विष्णु प्रभात र कोषाध्यक्षमा मोहन दुवालसहितको केन्द्रीय समिति बनायो । त्यसको झन्डै डेढ वर्षपछि प्रलेसको विशेष महाधिवेशनबाट प्रलेसलाई फेरि वाम लेखकहरूको साझा मोर्चा बनाइएको थियो ।
प्रथम राष्ट्रिय सम्मेलनमा मन्तव्य राख्दै पारिजात ।

प्रलेसमा वेलावेला सैद्धान्तिक विवाद पनि हुने गरेको छ । ०५२ सालमा तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरु गरेपछि यसको प्रभाव प्रलेसमा पनि परेको थियो । वाम पार्टीहरूमा ‘माओ विचारधारा’ कि ‘माओवाद’ भन्ने विवाद थियो । खासगरी तत्कालीन माओवादी र एकता केन्द्रबीच यो बहस जोडदार ढंगले उठेको थियो । तर, प्रलेसको विधानमा ‘माओवाद/माओ विचारधारा’ लेखेर दुवै पक्षको चित्त बुझाइएको थियो । त्यसमा बहुदलीय जनवादी धारा पनि राखेर एमालेसम्बद्ध लेखकको पनि चित्त बुझाइयो ।
त्यसभन्दा अघि चीनलाई समाजवादी देश भन्ने वा नभन्ने विवाद पनि आएको थियो । र, यो विवाद पनि मोदनाथ प्रश्रित र पारिजातबीचमा नै भएको मातृका पोखरेल बताउँछन् ।
त्यसो त प्रलेसका संस्थापक श्यामप्रसाद शर्मा आफैँ पनि विवादमुक्त हुन सकेनन् । उनी ०४८ सालमा भएको दोस्रो राष्ट्रिय सम्मेलनबाट पुनः अध्यक्ष भएका थिए । उनले तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट दिइने महेन्द्र प्रज्ञा पुरस्कार लिएपछि विवादित भए । त्यसपछि अध्यक्षबाट राजीनामा गरे । केही समय रामहरि पौडेल कार्यवाहक अध्यक्ष भएका थिए ।
विवादको शृंखला पछ्याउँदै जाँदा यसको स्थापनाकालसम्म पुग्न सकिन्छ । प्रलेसको स्थापना ५ असोज २००९ मा वीरगन्जमा भएको थियो । श्यामप्रसाद शर्मा अध्यक्ष थिए । महासचिव रत्नदास वैद्य र कोषाध्यक्ष देवीप्रसाद किसान थिए । यो समितिमा काठमाडौंका लेखक थिएनन् ।
०१६ सालमा प्रलेस पुनर्गठन भयो । यतिवेला यो संगठन वामपन्थी लेखकहरूको मात्र रहेन । प्रलेसमा समाजमा परिवर्तन चाहने लेखकहरूलाई पनि समेटिएको श्यामप्रसाद आफैँले बताएका थिए । कमलमणि दीक्षित, धर्मराज थापा, ताना शर्मा, कृष्णचन्द्र सिंह प्रधानलगायत सदस्य भए । तर, नेकपा पुष्पलाल समूहद्वारा ०२८ सालमा प्रकाशित ‘नयाँ जनवादी संस्कृति’मा २०१४ तिर नै केही लेखकहरूमार्फत नेपाल कम्युनिस्ट पार्टीमा संशोधनवाद देखा परेको उल्लेख छ । त्यसमा ताना शर्मा, कृष्णचन्द्रसिंह प्रधान, धर्मराज थापालगायतको नामै उल्लेख छ । त्यसो त कृष्णचन्द्रसिंह प्रधानले केदारमान व्यथितलाई ‘समाजवादी’ भनेपछि श्यामप्रसादले प्रतिवाद गरेका थिए । उनलाई प्रगतिशील मात्र मान्न सकिने श्यामप्रसादको भनाइ थियो ।
प्रलेस छाड्नेहरूले प्रकाशित गरेको विज्ञप्तिमा प्रलेस प्रतिरोधी संगठन नभएको, वैचारिक आन्दोलन चलाउन नसकेको र पार्टीका भक्तहरूलाई संगठनमा ल्याइएको आरोप लगाइएको छ । अहिले हुन लागेको ११औँ सम्मेलन पनि सत्ता र पार्टीका भक्तहरूको सम्मेलन भएको ढकालको आरोप छ । तर, अध्यक्ष पोखरेल यसलाई स्विकार्न तयार छैनन् । 
यता, पुष्पलाल समूहले संशोधनवादी करार गर्नुअघि नै ती लेखक प्रलेस नेतृत्वमा पुगेका थिए । वीरगन्जकै प्रलेसको निरन्तरतास्वरूप प्रगतिशील नेपाल लेखक संघ नाम राखी २१ मंसिर २०१६ मा ताना शर्मा सचिव रहेको समिति बनाइयो । तर, ‘पुष्पलालले अनावश्यक निर्देशन दिएर हस्तक्षेप गरेको’ भन्दै उनले चार महिनामा नै राजीनामा गरे । उनको ठाउँमा धर्मराज थापा अध्यक्ष भए । उनले पनि एक वर्ष नपुग्दै राजीनामा दिए । कृष्णचन्द्रसिंह प्रधान अध्यक्ष भए । तर, यो समितिपछि भने प्रलेसको अस्तित्व नै हरायो । 
एकैपटक ०३६ सालमा प्रगतिशील लेखक कलाकार संघको नाममा पुनर्गठन भएको हो । त्यसपछि मात्र यसलाई माक्र्सवादी लेखकहरूको संगठन बनाइएको मातृका पोखरेल बताउँछन् ।
०४४ सालको पहिलो सम्मेलनबाट यसलाई वामपन्थी लेखकहरूको साझा मोर्चा बनाउने सहमति भयो । साझा मोर्चा बनाउने नाममा पार्टी प्रतिनिधिहरू सदस्य भएर आए । पञ्चायतकालमा प्रतिरोधी सांस्कृतिक मोर्चाको छवि बनाएको प्रलेस बिस्तारै पार्टीमुखी हुन थाल्यो । स्वतन्त्र रूपमा लेखिरहेका वामसमर्थक लेखक यसमा अटाउन छाडे ।
प्रलेसको ११औँ सम्मेलनको मुखमा केन्द्रीय समितिका २० जना र ६ सल्लाहकारसहित ३८ जनाले राजीनामा दिए । उनीहरूले विचार–प्रतिबद्ध र संगठन–सम्बद्ध लेखकहरूको साझा मञ्चका रूपमा संघले आफूलाई विकास गर्न नसकेको आरोप लगाएका छन् । त्यस्तै, प्रलेसको बैठक तथा भेलामा खास पार्टीसँग असम्बद्ध सल्लाहकार, पदाधिकारी र सदस्यलाई छलफलमा नै निषेध गरिएको आरोप पनि लगाइएको छ । प्रलेस ‘सत्तारुढ दल र केही अवसरछोपुवा लेखकहरूको भीड’ बनाइएको आरोप पनि लगाइएको छ ।
पछिल्लोपटक नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पनि प्रलेस छाडेको जनाएको छ । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीले ३८ जनामा नै मिसिएर संस्थागत रूपमा छाडेको जनाएको थियो । अब प्रलेसमा नेकपा, नेकपा मसाल, ऋषि कट्टेल नेतृत्वको नेकपा र नेकपा मालेसम्बद्ध लेखक आबद्ध छन् । 
यता, प्रलेस अध्यक्ष मातृका पोखरेलले भने असन्तुष्ट पक्षले उठाएका केही वैचारिक सवाल मात्र ठीक भएको दाबी गरे । ‘साथीहरूले ६ महिनापछि सारौँ भन्नुभयो, त्यो सम्भव भएन, नेकपाको एकता पनि विपथगामी भन्नुभयो, नेकपाको एकताको विरोध गरेर प्रलेस साझा मोर्चा हुँदैन, तर उहाँहरूले वैचारिक ढंगले उठाएका कुरा महŒवपूर्ण छन्,’ उनले भने, ‘तर, आफूलाई दिएको जिम्मेवारी पूरा नगरी विरोध मात्र गर्ने काम भयो ।’
त्यसो त पुराना लेखक लामो समयदेखि प्रलेससँग असन्तुष्ट थिए । प्रलेस पुनर्गठनपछि दुईपटकसम्म अध्यक्ष हुने लेखक निनु चापागाईं मात्र हुन् । उनी प्रलेस नेतृत्वमा पुगेकाहरूमा नै विचलन आएको बताउँछन् । घरमा पूजापाठ गर्ने र घण्ट बजाउनेहरू नेतृत्वमा पुगेको उनको आरोप छ । त्यसो त पहिलो अधिवेशन (२०४४) बाट अध्यक्ष भएका रमेश विकल पनि घरमा दुई घन्टासम्म पूजा गर्ने गरेको लेखक नारायण ढकाल बताउँछन् । तर, उनको साहित्य प्रगतिशील भएका कारण आफूहरूले मानेको उनको भनाइ छ ।
अहिलेसम्म पनि प्रलेसमा ०४४ सालदेखि कै विवादले निरन्तरता पाएको छ । प्रलेस छाड्नेहरूले प्रकाशित गरेको विज्ञप्तिमा प्रलेस प्रतिरोधी संगठन नभएको, वैचारिक आन्दोलन चलाउन नसकेको र पार्टीका भक्तहरूलाई संगठनमा ल्याइएको आरोप लगाइएको छ । अहिले हुन लागेको ११औँ सम्मेलन पनि सत्ता र पार्टीका भक्तहरूको सम्मेलन भएको ढकालको आरोप छ । तर, अध्यक्ष मातृका पोखरेल यसलाई स्विकार्न तयार छैनन् । आफूले सत्तालाई खुसी पार्ने गरी काम नगरेको भन्दै उदाहरणसहित आउन चुनौती दिए ।
प्रलेसबारे लेखिरहँदा केही वर्षअघि पाटनमा भएको लिट्रेचर फेस्टिभलमा नारायण ढकालको अभिव्यक्ति पनि सम्झनुपर्छ, जसले यसको बदलिँदो चरित्रको संकेत गर्छ । उनले भनेका थिए, ‘प्रगतिशील लेखक संघको पाइपबाट नारायण ढकाल छिर्‍यो भने निस्कँदा प्रदीप नेपाल बन्छ ।’
www.nayapatrikadaily.com बाट साभार 

No comments: