Thursday, March 5, 2020

कविता : भोलि

- मातृका पोखरेल 

भाइहरु लडेको चिनो
रगतले कटकटिएको थोत्रो कमेज सिएर
एउटा नयाँ झन्डा बनाउने,
त्यही झन्डा बोकेर
विजयको जुलुस निकाल्ने,
सन्तान गुमाएका आमाहरुको
च्यातिएको मन
विजयको धागोले सिउने,
गैरीखेत लडेर
मर्न लागेका बिरुवाहरुमा
विश्वासको एक कुलो पानी हाल्ने,
आज मक्किएका बाटाहरु बाल्ने,
नयाँ भोलिका लागि
आज मर्नेहरु भोलिका लागि बाँच्ने,
आज हामी भोलिका लागि बाँच्ने ।

आज योजना कोर्ने
भोलिका लागि,
हामी त्यो दिन पक्कै त्यसै पाउने छैनौँ
ती दिन ल्याउने ताराहरुको
बलिदानको गाथा गाउने,
स्कुलका साना नानीहरुलाई
नयाँ गीत सिकाउने,
बाटामा थुप्रै ढुङ्गाहरु छन्
हामी ठाउँकुठाउँ लडेका छौँ,
तिनीहरुलाई फुटाएर सम्याउने,
आज भोलिका लागि
कष्टको ज्यानमारा उकालो हिँड्ने,
दशकौँदेखि हामीलाई पछ्याइरहेका
नयाँ आवाजहरु लिएर
आज नयाँ योजना बनाउने
हामी भोलि नयाँ दिन बनाउने ।


हामी भोलि,
घरको बेथिति सबै मिलाउने,
वरिपरिका फोहोरहरु जलाउने,
शताब्दीयौँदेखि
हामी सबैको घाँटीमा झुन्डिएको छ
काउछोको माला
बस्तीको चौतारो खोजेर
त्यसको थुप्रोमा डढेलो सल्काउने,
र, हामी नयाँनयाँ चन्द्रमा छुने
हामी भोलि नयाँ नेपाल जन्माउने ।


नौलो बिहानी मासिक वर्ष ९ अङ्क ४, २०६३ असोज

No comments: