Monday, February 24, 2020

सम्झनामा श्यामप्रसाद - मातृका पोखरेल

संस्मरण 

‘चिनियाँहरुसँग भान्से लागेर श्यामप्रसाद  चिनतिर गए र उतै बेपत्ता भए ।’ श्यामप्रसादको पहिलो परिचय मैले यसरी प्राप्त गरेको थिएँ । यो परिचयले मलाई एउटा प्रभाव प¥यो । श्याम प्रसाद प्रति खुल्दुली बढाउने प्रभाव । त्यसबेला मेरो किशोर दिमागमा त्यसले एउटा भिन्न र अनौठो प्रभाव छाडेको थियो ।

मैले कक्षा दस पढ्ने ताका पाठ्यक्रममा एउटा निबन्ध पढ्नुपथ्र्यो । ‘एक घण्टा बिताउन’ शीर्षकको । श्याम प्रसाद शर्माको त्यो निबन्धले खुबै छोएको थियो ।  ‘आइमाई साथी’ निबन्ध पनि मैले त्यतिबेलै पढिसकेको थिएँ । साहित्य प्रति एकदमै चाख थियो । त्यसैले रामायण, महाभारत त छँदै थिए, गौरी र मुनामदन पनि पुरै कण्ठ थिए मलाई । विद्यालयमा श्यामप्रसादको निबन्ध पढाउने क्रममा गुरुले श्यामप्रसाद चिँनियाहरुसँग  चीनतिरै गएको र उतै बेपत्ता भएको कुराले म भित्रको साहित्यिक छटपटीले श्यामप्रसादको बारेमा जान्ने बुझ्ने कौतुहलता झनै बढेर गएको थियो । 

त्यसबेलाको मेरो साहित्यिक रूचि पनि कसैसँग व्यक्त गर्न नसक्ने अवस्था थियो । विराटनगर पढ्न गए पछि श्यामप्रसादको बारेमा पारिजातले लेख्नु भएको एउटा प्रसङ्ग पढ्ने मौका मिल्यो । त्यसबेलाको कुनै पत्रिकामा पारिजात दिदीले लेख्नुभएको थियो ؘ— ‘यदि कसैले श्याम प्रसादलाई भेटाउनु भयो भने जनचौकीमा बुझाईदिनु होला ।’ पत्रिकाको नाम, अहिले मलाई राम्रो सम्झना रहेन । पारिजात दिदीको त्यो लेखबाट के थाहा भयो भने श्यामप्रसाद शर्मा मैले पहिले सुनेको जस्तो चिनियाँहरुको भान्से लागेर चिनतिरै बेपत्ता भएको भन्ने कुरा सत्य थिएन । विराटनगर पढ्न गएपछि ती प्रगतिशील साहित्य र वामपन्थी राजनीतितिरको मेरो सम्पर्क बढ्यो । श्यामप्रसादको वास्तविक अवस्था पनि प्रगतिशील साहित्यमा लागेका  अगुवा साथीहरुबाट बुझ्ने अवसर प्राप्त भयो । श्यामप्रसाद कठोर भूमिगत जीवन व्यतित गरिरहनु भएको छ भन्ने कुरामा हामी पछिल्लो पूस्तामा प्रगतिशील साथीहरु परिचित भयौं । हामी प्रगतिशील साहित्यमा लागेका सहकर्मीहरु त्यसबेला वामपन्थी राजनीतिसँग पनि निकट थियौं । वामपन्थी राजनीतिमा भरखरै पाइला चाल्न खोज्ने हामी सहकर्मीका माझ श्यामप्रसादको ‘अति गोप्यतवादी पार्टी’ पनि त्यसबेला खुबै उत्सुकताको विषय थियो । नेपालका त्यसबेलामा सबैजसो प्रतिबन्धित पार्टीहरुको जानकारीबाट हामी सुुसुचित हुन्थ्यौं । तर, श्यामप्रसादको ‘अति गोप्यतावादी पार्टी’ हाम्रो जानकारीबाट पनि पूर्ण भूमिगत थियो । म सँगसँगै मेरो पुस्ताको श्यामप्रसादसँगको परिचय अत्यन्तै रोमान्चक र रहस्यमय बन्नपुग्यो । 

०००                            ०००                                    ००० 

छयालीस सालको आन्दोलन पछि विजेताजस्तो धङधङींबाट हामी मुक्त भइसकेका थिएनौ । म बागबजारको डेरामा बस्थें त्यसबेला । प्रगतिवादी साहित्यमा अग्रज पुस्ताहरुसँगको मेरो सम्बन्ध राम्रो थियो । म सबैबाट माया पाउने ‘भाग्यमानी’ थिएँ । एकदिन बिहानै निबन्धकार रुद्र खरेल मेरो कोठामा आउनुभयो र भन्नुभयो ‘आज श्यामप्रसाद गुप्तवासबाट बाहिर आउँदै हुनुहुन्छ । त्यो कार्यक्रममा तपाँई पनि आउनुहोला ।’ रुद्र सरको त्यो सूचना मेरा लागि अत्यन्तै महत्वको कुरा थियो । रुद्र सरले बोलाएको ठाउँ चावेलको चारुमति बिहारमा म समयमैं पुगें । मेरा लागि श्यामप्रसाद त्यसबेला दन्त्यकथा जस्तै कथाको एउटा रोचक पात्र हुनुहुन्थ्यो । उहाँलाई हेर्ने किशोरसुलभ छट्पटिले शायद म रुद्र सरले दिनुभएको समयभन्दा अझ अगाडिनै पुगिसकेको थिएँ । मलाई चिनियाँहरुको भान्से लागेर कतै हराएको श्यामप्रसाद हेर्नु थियो । करिब अढाई दशक लामो कठोर भूमिगत जीवन बिताउने प्रगतिशील साहित्यको पाठशाला र ‘अति गोप्यवादी पार्टी’ को नेता हेर्ने हुटहुटी थियो । म रुद्र सरले दिएको समय भन्दा पहिलेनै चारुमति बिहार चाबेल पुगिसकेको थिएँ । म पुग्दा नपुग्दै त्यहाँ मैले चिनेका अग्रजहरु खगेन्द्र संग्रौला गोविन्द वर्तमान शार्दूल भट्टराईहरु त्यहाँ पुगिसक्नु भएको थियो । शायद हाम्रा पुस्ताको लागि दन्त्यकथाको रोचक पात्र झै लाग्ने श्याम प्रसादलाई हेर्ने र देख्ने हुटहुटीबाट हामी धेरै जना मुुक्त थिएनौं ।

त्यो दिन साहित्यिक अग्रजहरुको छेउ एक कुुनामा बसेर म श्याम प्रसादलाई हेर्न खोज्दै थिए । एकजना होचोहोचो मानिस भित्ताको अडेस लगाएर मेरो छेउमा बसेर सबैको गतिविधि रोचकताका साथ नियालि राख्नुभएको थियो । अरुको कुरा सुनेर घरिघरि एक्लै मुस्कुराउनु हुन्थ्यो । कसैले उहाँप्रति ध्यान दिएको थिएन ।

कार्यक्रम सुरु भयो । कथाकार देविका तिमिल्सिनाले माइक हातमा लिनु भयो र नेपाली साहित्यमा श्यामप्रसादको योगदानको चर्चा गर्न थाल्नुभयो । देविका तिमिल्सिनाले श्यामप्रसाद शर्मालाई मञ्चमा बोलाउने भन्ने बितिकै साहित्यकारहरु आनन्ददेव भट्ट र खगेन्द्र संग्रौला मुसुमुसु हाँस्दै मेरो छेउमा बसेर रोचकतापूर्वक वरिपरि नियालिरहेको उही मान्छेलाई दुइतिर हात समातेर मञ्चमा लग्नुभयो । 

‘उहाँ नै हुनुहुन्छ श्याम प्रसाद शर्मा ।’ आनन्ददेव भट्टले देविका तिमिल्सिनाजीको छेउमा आएर भन्नुभयो । जिन्स पाइन्ट लगाएको होचोहोचोे कदको मान्छे र मैले कल्पना गरेको श्यामप्रसादमा आकाश पातालको फरक थियो । हामी सबै तीनछक्क प¥यौं । श्यामप्रसाद भूमिगत जीवनबाट बाहिर आएको त्यो घटना राष्ट्रिय समाचारको विषय बन्यो । कार्यक्रम सकिएपछि रुद्र खरेल सरले ‘वेदना’ सँग जोडेर मेरो परिचय गराइदिनु भयो । मलाई काँधमा हात राखेर उहाँले आफू निकै खुसी भएको प्रतिक्रिया राख्नुभयो । 

श्यामप्रसादको भूमिगत जीवनबाट खुल्ला भएपछि साहित्यिक कार्यक्रमहरुमा उहाँको उपस्थिति बाक्लै देखिन्थ्यो । कार्यक्रमहरुमा नियमित जस्तो भेट हुन्थ्यो । 

‘तपाइँलाई श्यामप्रसादले भेट्न खोज्नु भएको छ ।’ रुद्र सरले एकदिन मलाई आएर खबर दिनुभयो ।

म त्यसबेला उहाँलाई भेट्न सिफलको एउटा घरमा पुगेको थिएँ । उहाँको आफन्तको घर थियो त्यो । पछिसम्म पनि कमलपोखरीमा रहेको छोरीको घरमा मूल रुपमा बसे पनि यदाकदा सिफल गइरहनुहुन्थ्यो । म पुग्ने बित्तिकै उहाँले तीनवटा रेकर्ड फायल लिएर आउनुभयो । सामान्य रेकर्ड फायल । मलाई दिन र सिकाउन भनेर पहिल्यै तयार पारेर राख्नुभएको रहेछ । ‘साहित्यिक पत्रकारिता गर्दा मैले अनुभव गरेको कुरो तपाँईलाई पनि साट्न खोजेको ।’ मायालु पाराले मतिर हेरेर हाँस्दै भन्नुभयो । तीनवटा फायलमा ठूला अक्षरले बाहिर लेख्नु भएको थियो । एउटामा स्वीकृत । अर्कोमा अस्वीकृत र अर्कोमा विचाराधिन । यो बाहेक अरु केही थिएन । मलाई भित्रभित्र हाँसो पनि उठिरहेको थियो । यति सामान्य कुरा कुनै साहित्यिक कार्यक्रममा भेट्दा सल्लाह दिएको भए पनि हुने । यस्तै यस्तै सोचेको थिएँ  मैले त्यसबेला । म ती तीनवटा फायल बोकेर आँए । धेरै पछि मात्र सोचेँ । मैले सामान्य देखेको कुरा धेरै महत्वपूर्ण थियो । श्याम प्रसादको वास्तविक परिचय पनि यसमै थियो । यसरी आफ्ना अनुभव सरल ढ्र्गले सिकाउने अग्रज वास्तवमैं कोही थिएनन् । पछिल्लो पुस्तासँग संवाद गर्ने श्यामप्रसादको यो शैली र विशेषता अत्यन्तै नौलो र विशेष प्रकारकै थियो । 

०००                            ०००                                    ००० 

प्रगतिशील लेखक सङ्घको दोस्रो र तेस्रो राष्ट्रिय सम्मेलन पछि उहाँको नेतृत्वमा म पनि राष्ट्रिय परिषदको सदस्य थिएँ । पुरस्कार प्रकरणमा उहाँ विवादमा मुछिनुभयो । त्यसबेलाका त्यी दुई पुरस्कारहरु ‘महेन्द्र प्रज्ञा पुरस्कार’ र ‘मुक्ति पुरस्कार’ उहाँले लिनुहुँदैन भन्ने व्यापक दबाव आयो । श्यामप्रसादले ती पुरस्कारहरु नलिनुहोओस भन्ने मेरो पनि विशेष चाहना थियो । एकदिन एउटा कार्यक्रममा यो सल्लाह दिएँ पनि । मलाई उनीहरुले सोधेका थिए । लिन्छुु भनिदिएँ । अब लिन्न भन्न उचित लागेन ।’ उहाँको कुरा सपाट थियो । 

श्यामप्रसादलाई योजनाबद्ध फसाइएको थियो । त्यो पुरस्कार दिएर । प्रगतिवादी आन्दोलनमा केही अग्रजहरु विचलनको शिकार बन्ने अभियान अघि बढ्दै थिए । श्यामप्रसाद उहाँहरुसँगको  उठबसमा हुनुहुन्थ्यो । उहाँहरु श्यामप्रसादलाई आफ्नो कित्तामा पार्न चाहनुहुन्थ्यो । प्रगतिशील लेखक सङ्घभित्र पुरस्कार विवाद दुई दृष्ट्रिकोणको सङ्घर्ष थियो । अन्तर्यमा पुरस्कारहरु वर्गीय हुन्छ् कि हुँदैनन् भन्ने लडाईंनै थियो त्यो बहस । अन्तत ः श्यामप्रसादले ती दुई पुरस्कारहरु लिनुभयो र  प्रगतिशील लेखक सङ्घको अध्यक्षबाट राजीनामा दिन पुग्नुभयो । ‘महेन्द्र प्रज्ञा पुरस्कार’ र मुक्ति पुरस्कार’ले श्यामप्रसादको क्रान्तिकारी व्यक्तित्व माथि आउँदो समयले नकारात्मक मूल्याङ्कन गर्ने एउटा बलियो ठाउँ छाडेर गयो । श्यामप्रसादले सामन्तवादी सांस्कृतिलाई मलजल गर्न राखिएका पुरस्कारहरु लिनुहुँदैनथ्यो । तर यति पुरस्कारका कारण श्याम प्रसादले नेपाली समाज रुपान्तरण र प्रगतिवादी साहित्यको क्षेत्रमा पु¥याएको योगदानलाई पुरै खाडलमा पुरिदिने खतरनाक प्रवृति पनि छ हाम्रो आन्दोलनमा । हाम्रो आन्दोलनमा विचार र क्रान्तिकारिताका नाममा त्यो अर्को खतरनाक प्रवृतिले हामीले अपनाउनुपर्ने इतिहास सम्बन्धि सन्तुलित दृष्ट्रिकोणलाई ध्वस्त बनाउने सम्भावना पनि उत्तिकै छ । श्यामप्रसादका कमजोर पक्षलाई फालेर राम्रा पक्षलाक्षर्् ग्रहण गर्न सकेका खण्डमा हाम्रो आन्दोलन अत्यन्तै सम्पन्न हुनेछ । नेपाली कम्युनिष्ट आन्दोलनको यी पछिल्ला दिनहरुलाई हेर्ने हो भने श्यामप्रसाद शर्मा झनै सम्झिनुपर्ने र चर्चा गरिरहनुपर्ने व्यक्तित्व बन्नुभएको छ । 

पछिल्लो समय श्यामप्रसाद शर्मासँग उहाँका आचार, विचारबाट प्रभावित बन्नुका पछिल्तिर मेरो आफ्नै मान्यता र सन्दर्भहरु छन् । माक्र्सवादी शास्त्रमा लेखिएका उद्धरणहरुलाई घोेकेर प्रस्तुत गर्नेहरुलाई हामीले क्रान्तिकारी माक्र्सवादी हुन् भन्ने भ्रम पालिरहेका छौं । माक्र्सवाद विचार सँगसँगैको व्यवहार हो । व्यवहारबिनाको विचारको समाज रुपान्तरणमा कुनै साइनो गासिँन सक्दैन भन्ने एउटा आग्रह छ म भित्र  । मेरो त्यही आग्रहले म श्यामप्रसादको प्रशंसक हुन पुगे । श्यामप्रसादसँग माक्संवाद र माक्र्सवादी साहित्यको प्रचुर ज्ञान थियो । तर संगसंगै त्यो ज्ञानलाई व्यवहारमा उतार्नुपर्छ भन्ने हुटहुटी पनि थियो  । श्यामपसाद यस अर्थमा नेपालको कम्युनिष्ट आन्दोलनका थोरै नेताहरुमध्ये परैबाट प्रष्ट देख्न सकिने नेता हुनुहुन्थ्यो । श्यामप्रसादसँग म प्रभावित भएको अर्को महत्वपूर्ण प्रसङ्ग छ । श्यामप्रसाद आफ्नो गुप्तवासको समयमा धेरै साथीहरुको आश्रयमा बस्नु भयो । पटकपटक गरेर विसाँै वर्षसम्म एउटै घरमा पनि बस्नुभयो । यिनै घरहरु मध्येका एउटै घरमा पनि बस्नुभयो । यिनै घरहरु मध्येका केही साथिहरुसँग मेरा नजिकको सम्बन्ध भयो । धेरै नेताहरु आश्रम लिएर बसेका घरहरुमा नेताहरुप्रति वितृष्णा पलाएको मैले देखेको र सुनेको छु । तर श्यामप्रसादको पारिवारिक घुलमिल र व्यवहारका कारण उहाँ गुप्तवास बसेका घरपरिवारले आफ्नै सदस्य र अझ मायालु सदस्यको रुपमा व्यवहार गरेको पाएको छु । कमरेड निर्मल लामाको पनि जनतासँग घुलमिल भएर काम गर्ने यस्तो विशेषता थियो । श्यामप्रसाद यस अर्थमा भिन्न मानिस हुनुहुन्थ्यो । 

श्यामप्रसादले सत्ता र स्वार्थका लागि केही पाईँन भनेर कहिल्यै पनि गुनासो गर्नुभएन । सत्ता र स्वार्थका लागि आफू हिँडिरहेको बाटो पनि परिवर्तन गर्नेहरुको बजारमा उहाँ नितान्त भिन्न देखिइरहनुभयो । अबको नयाँ पुस्तालाई हामीले श्यामप्रसाद पढाउन सक्यौं भने पनि हाम्रो खिया लाग्दै गरेको आन्दोलनले पक्कै नयाँ चमक पाउँथ्यो । यस तर्फ हामीले ध्यान पु¥याउन सक्नुपर्छ ।

श्यामप्रसादले हामीले देख्ने र बुझ्ने गरी कहिल्यै पनि बडप्पन देखाउनुु भएन र घमण्ड गर्नु भएन । सादा जीवन साँच्चिनै उहाँको प्रर्याय जस्तै बन्यो । हामी पछिल्लो पुस्ताका मानिसहरुसँग व्यवहार गर्दा उहाँ समान भाव र मित्रतासहित प्रस्तुत हुनुहुन्थ्यो ।

श्यामप्रसाद शर्मा स्वस्थ हुनुभएको उत्तरार्ध समय सम्झन्छु म । प्रायः हामी पछिल्लो पुस्ताका मानिसहरुसँग निरन्तर सम्पर्क राख्ने बानी थियो उहाँको । मैले उहाँलाई जति पटक टेलिफोन बाट सम्पर्क गरेँ, त्यो भन्दा कैयौँ गुषा बढी उहाँले नै सम्पर्क गर्नुभयो । मलाई जसरी मेरा पुस्ताका अरु साथीहरुलाई पनि उहाँले त्यसैगरी सम्पर्क गर्नु हुन्थ्यो होला भन्ने अन्दाज गर्छु म । टेलिफोन उठाउने बित्तिकै ‘श्यामदाईको नमस्कार’ भन्ने स्वर सुनिन्थ्यो । आफूले टेलिफोन नगर्दा कहिल्यै उहाँलाई अवसरै नपाइने । उहाँलाई सम्झँदै गर्दा वर्तमान परिदृश्यका बामपन्थी नेताहरु हेर्छु — नमस्कार खान एकछिन आफ्नो परिचय सुनाउँछन् । नमस्कार भन्न ढिला गर्ने हो भने फेरि आफ्नो परिचय दोहो¥याउँछन् । यो भीडमा श्यामप्रसाद साँच्चै भिन्न मान्छे हुनुहुन्थ्यो । श्यामप्रसादै श्यामप्रसाद जस्ता मान्छे भएको समाजलाई शायद हामीले कल्पना गरेको ‘साम्यवाद’ भनिंदो हो । मैले जीवनमा एकजना असल मान्छेसँग केही समय संगत गर्ने अवसर पाएँ । श्यामप्रसादसँगको छोटो संगत मेरो जीवनको महत्वपूर्ण स्मृति सम्पदाको रुपमा मैले सँगालेको छु । श्यामप्रसाद मेरो मानसपटलमा सधैं बाँचिरहने मानिस भएर विदा हुनुभयो । 

000











No comments: