Saturday, February 29, 2020

कविता : कालो सर्प

- मातृका पोखरेल

हिजोआज कालो सर्प ढसमस्स सुतेको छ
सायद ! उसलाई अजीर्ण भएको छ
उसका पेटका भागहरु नागार्जुन पर्वत झैं
डम्म फुलेका छन्
र ऊ अहिले पचाउन लाग्दैछ
उसको एक बखत बाँच्ने आस हराइसकेको थियो
तर अहिले भर्खरै
शरीर चलाउन थालेको छ
यतिबेला जिब्रो लब्य्रालुब्रुक चलाउँदैछ ।
आँखा वरिपरि घुमाउँदै पल्याकपुलुक हेर्दैछ ।

मेरी आमा विपनामा मात्र होइन
सपनामा पनि झस्किनु हुन्छ
अबुई कालो सर्प !
मरेको छैन फेरि जिब्रो चलाउँदैछ
यसले मेरो कान्छो छोरो डसेको छ
मेरो कान्छी छोरीलाई खेदेको छ
गुहार ! गुहार !! मार्नै पर्छ ।

बेला बेलामा यसले
पल्ला गाउँको रामेलाई पनि खेदेको थियो
पल्लाघरेको छोरालाई पनि डसेको थियो
तर उनीहरु,
अब यसले डस्दैन भन्छन्
मान्छेको रगत लागेको जिब्रोमा—
दूध खुवाउनु पर्छ
रगतको दागको सेतो तरले मेटिन्छ भन्छन्
आफ्ना छोराछोरीलाई नभई नभई
कालो गाईको दूधले नुहाई दिन्छन्
कालो सर्प दूधको पोखरीमा पौडी खेल्दै छ ।

घाँस दाउरा जाने दिदी बहिनीहरु
अझै पनि कालो सर्पको आँखाबाट छलिने गर्छन्
उनीहरुलाई विश्वास छैन
मेरा आफन्तहरुलाई पनि विश्वास छैन
दूध ख्वाएर कालो सर्पको जिब्रोले
रगत खाँदैन भन्ने हल्लामा
मेरा बाउलाई पनि विश्वास छैन
बाउ बेला बेलामा कहालिनु हुन्छ
दूध खाएको सर्पको विष झन कडा हुन्छ
लौ न ! अब यो चटपटाउने बेला भयो
एक छिनपछि हिंड्न थाल्छ
सबैले घरका हतियार झिक,
विषालु कालो सर्प मार्नैपर्छ ।


No comments: