Sunday, September 17, 2017

पोखरामा लिटरेचर फेस्टिभल : साहित्यमा सिन्डिकेट लागू गरिएको प्रगतिशील लेखकहरूको आरोप

काठमाडौं, १५ माघ २०७३ — यतिबेला पोखरामा ‘नेपाल लिटरेचर फेस्टिभल’ चलिरहेको छ । फेस्टिभलको व्यापक प्रचार पनि भइरहेको छ ।


पोखराको पार्दी, लेकसाइडको छेउमा भएको फेस्टिभलमा नेपालका थुप्रै लेखक तथा अन्य व्यक्तित्वलाई समेत समेटिएको बताइएको छ । तर यसरी भइरहेको फेस्टिभलले राम्रो भ्रम फैलाएको र उस्तैखालका लेखक तथा समूहलाई मात्र मौका दिइरहेको प्रगतिशील समूहका लेखकहरूले आरोप लगाएका छन् ।

नेपाल लिटरेचर फेस्टिभलले केही प्रकाशनगृहमा आबद्ध लेखकहरूलाई मात्र मौका दिएको र केही समकालीन लेखकलाई मात्र ‘लेखक’ का रूपमा चिनाउँदा अरू साहित्यकारको अपमान गरिएको प्रगतिशील साहित्यकारहरूको आरोप छ । 

प्राध्यापक तथा समालोचक नेत्र एटम लिटरेचर फेस्टिभलले सीमित साहित्यकारको सिण्डिकेट स्थापित गर्न खोजेको बताउँछन् । ‘लिटरेचर फेस्टिभलको उद्देश्य नै आफ्नो व्यापार बढाउनका लागि हो । केही लेखकहरूको महत्वाकांक्षालाई पूरा गरेपनि यसले नेपाली सम्पूर्ण नेपाली साहित्यकारलाई समेट्दैन,’ उनको टिप्पणी छ । 
‘उनीहरूले आफूले कुन लेखकको पुस्तक प्रकाशन गरेका छन्, उनीहरूलाई नै हरेक कार्यक्रममा खोजीखोजी सहभागी बनाएको पाइन्छ,’ एटम थप्छन् । चर्चामा आएका केही लेखकलाई दोहो–याउँदैमा नेपालको साहित्य जगतलाई राहत मिलेको छ भन्नु गलत रहेको प्रखर समालोचक एटमको भनाइ छ ।

आफ्नै प्रकाशन संस्थाले पुस्तक निकालेका तथा उनीहरूको नजरमा ‘सिद्धहस्त लेखक’लाई मात्र स्थान दिँदा त्यसले आम पाठकमा समेत नकारात्मक असर पर्ने तथा साहित्यमा एक प्रकारको ‘सिण्डिकेट’ स्थापना गरेको लेखकहरू बताउँछन् ।

‘साहित्यमा जो चलेको छ, उसलाई ब्रान्डका रूपमा प्रयोग गर्न खोज्नुले अरू लेखकलाई ओझेलमा पार्न भूमिका खेल्छ । मिडियाले हाइलाइट नगरेका लेखकहरू लेखक नै होइनन् भन्ने भावनाको विकास गर्न यसले भूमिका खेल्छ,’ एटम थप्छन् ।

अर्का लेखक अमर गिरी फेस्टिभलबारेमा हल्ला सुनेपनि यसबारेमा आफूलाई केही थाहा नभएको बताउँछन् । ‘जुनसुकै कार्यक्रम भएपनि यो राम्रो काम हो । विविधताका आधारमा अरू लेखकलाई समेत समेट्न सकियो भने यो अझ प्रभावकारी हुन्छ,’ लेखक अमर गिरीको धारणा छ ।

यता अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलिया भने विभिन्न नाममा साहित्यिक कार्यक्रम नभएर कसैको रुचिमा यस्ता खालका कार्यक्रम भइरहेको बताउँछन् ।

‘विदेशी डलरमा यहाँ केही साहित्यकारलाई किन्ने गरिन्छ । यसले जनतामाझ आफ्ना पक्षका साहित्यकारलाई माथि उकास्न सहयोग गरेको छ,’ थपलियाको टिप्पणी छ । यसरी एकलौटी हुने कार्यक्रमले समग्र साहित्यलाई फाइदाभन्दा धेरै घाटा पु–याउने थपलियाको तर्क छ ।

यता प्रगतिशील लेखक संघका अध्यक्ष मातृका पोखरेल अहिले लेखकहरू दुई कित्तामा बाँडिएको जिकिर गर्छन् । नेपालमा यस्ताखालका फेस्टिभल आफनो मनलाग्दो तरिकाले आयोजना हुनुलाई त्यसैको उपज भएको बताउँछन् ।
देशमा अहिले सामन्तवाद र साम्राज्यवादविरुद्ध लेख्ने र यही धारलाई आत्मसात गरेर लेख्ने साहित्यकारको सृजना भएको पोखरेलको बुझाइ छ । ‘यस्ता कार्यक्रम भइरहेका छन् । यो महत्वको विषय नै होइन ।’ 

यस्ताखालका फेस्टिभलले साहित्यलाई भन्दा पनि व्यक्तिगत व्यवसायलाई टेवा पु–याएको पोखरेलको भनाइ छ ।
‘बरू कार्यक्रमलाई ‘नेपाल लिटरेचर फेस्टिभल’ भन्नुभन्दा व्यापार प्रवर्द्धन लिटरेचर फेस्टिभल भन्दा राम्रो होला । शीर्षकले पाठकमा भ्रम छरेको छ,’ पोखरेल थप्छन् । आफूलाई मन परेका मान्छेलाई स्थान दिने प्रवृत्तिले अरूलाई ओझेलमा परेको उनको धारणा छ ।

लिटरेचर फेस्टिभल एक पक्षिय भएको आरोपलाई आयोजक भने स्विकार गर्दैनन् । फेस्टिभलका निर्देशक समेत रहेका अजित बराल बैचारिक हिसावमा कसैलाई भेदभाव नगरिएको दाबी गर्छन् । ‘हामीले कसैलाई भेदभाव गरेका छैनौं । तपाइँले हाम्रो कार्यक्रमको ‘सेड्युल’ हेर्नुभए पनि हुन्छ ।’ बरालले भने,‘वैचारिक हिसावमा कसैलाई कित्ताकाट गरिएको छैन् । सबै विचार र मतलाई समेटिएको छ ।’


http://lokaantar.com बाट साभार 

No comments: