Monday, March 11, 2019

पोखरामा ‘प्रगतिवादी सङ्गीत नाटकः आरम्भ र विकास’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न


पारिजात स्मृति केन्द्र, काठमाडौं र गण्डकी साहित्य सङ्गम, पोखराको संयुक्त आयोजनामा २०७५ फागुन २४ गते पोखरामा ‘प्रगतिवादी सङ्गीत नाटकः आरम्भ र विकास’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । वरिष्ठ समालोचक तथा साहित्यिक अनुसन्धाता डि.आर.पोखरेलले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि प्रा.डा.यदुनन्दन उपाध्याय र वरिष्ठ कवि तथा पारिजात स्मृति केन्द्रका सचिव स्नेह सायमीले आफ्ना टिप्पणी राख्नुभएको थियो । नेपाली समाजको प्रगतिशील आन्दोलनमा महत्वपूर्ण  योगदान पु¥याएका यस्ता सङ्गीत नाटकहरुको आवश्यक अध्ययन र छलफल हुन नसकेको स्थितिमा यो अन्तरक्रिया कार्यक्रम आफैंमा महत्वपूर्ण रहेको कुरा टिप्पणीकारहरुले राख्नुभएको थियो । तीसको दशकमा अत्यन्त लोकप्रिय रहेका र समाजमा गहिरो प्रभाव पार्न सफल ‘सिम्मा’, ‘ठूली’, ‘सहिदकी आमा’, ‘युग बोल्छ’ जस्ता गीति नाटकहरु पछिल्लो समयमा भने त्यति प्रकाशन र मञ्चन हुन सकेका छैनन् । कतिपय मञ्चन गरिएका र प्रकाशन गरिएका गीति नाटकहरु हाल अनुपलब्ध भएकाले व्यवस्थित अध्ययनमा कठिनाइ भएकाले तिनको संरक्षण हुनुपर्ने कुरा कार्यपत्र प्रस्तोताको थियो । कार्यपत्रले नेपाली नाटकको सुरुवातदेखि अपेरा, तिनको प्रवृत्ति र विकासक्रमका साथै ‘सिम्मा’, ‘ठूली’, ‘आमा’ ,सहिदकी आमा’, ‘युग बोल्छ’ जस्ता दुई दर्जनजति सङ्गीत नाटको संक्षिप्त चर्चा गरी थप अध्ययनका लागि प्रेरित गरेको भनाई टिप्पणीकारको थियो । 

प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष पोखरेल,वरिष्ठ मानव अधिकारवादी नेता टेकनाथ बराल र प्रगतिशील लेखक संघका केन्द्रीय महासचिव आर.एम. डङ्गोलले समेत कार्यपत्रलाई आधार मान्दै आ–आफ्ना विचार राख्नुभएको थियो । गण्डकी साहित्य सङ्गम, पोखराका अध्यक्ष डा.कृष्णराज अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रममा रामराज रेग्मी, डा.रविलाल अधिकारी, शेषमणि आचार्य, डा. कर्णवीर पौड्याल लगायतले राख्नु भएका जिज्ञासाको उत्तर कार्यपत्र प्रस्तोता डि.आर.पोखरेलले दिनुभएको थियो ।





















































































































No comments: