Saturday, February 29, 2020

कविता : भिमान जंगलको यात्रा

(शहीद ऋषि देवकोटालाई हत्या गरिएको ठाउँ हेरेपछि)


- मातृका पोखरेल 

परिवर्तनका बाटाहरु छिचोल्दै
मृत्युभेदी काँडाहरु पन्छाउने जमर्को गर्दा
तिम्रो उद्देश्यमाथि कतिले
दुस्साहसको गीत गाएका थिए
कतिले सुखद भविष्यको सपना साँचेका थिए
आजाद ! कति थिए तिमीसँग साहसहरु ?

झोडाका सुकुम्बासी बस्तीहरु
प्रत्येक अन्नको गाँस सँगसँगै
तिमीलाई सम्झँदा रहेछन्
प्रत्येक मंसिरमा घुर्यानका धानका बालाहरुमा
तिम्रो अनुहार देख्दा रहेछन्
तिम्रो बाटोमा साथै हिंड्ने सहयात्रीहरुको
दरिलो मुस्कान रहेछ ओठमा
शरीरमा नशाहरुको
जीवन्त धड्कन चलिरहेछ
निर्झर जङ्गलमा तिम्रो हत्या गर्ने कायरहरु
अहिले भिमान जङ्गलको नाम सुन्दा
डरले काप्दा रहेछन्
न तिमीलाई मृत्युसँग डर थियो
तिम्रो उद्देश्य जीवन बाँच्नसँग मात्र थिएन
परिवर्तनको बाटोमा ढाल्नु पनि थियो
आजाद ! कति लामा थिए तिम्रा उद्देश्यका यात्राहरु ?

कमलाका फाँटहरुमा मात्र हैन रहेछ
सुनकोशीको गढतिर तिरपनि तिम्रो पसिना पोखिएछ
मरिनका किनारतिर पनि तिम्रो आस्था छरिएछ
तावा स्वरुङ्गका सुसेलीमा पनि
तिमीले मुक्तिका संगीत भरेछौ
भिमानको जङ्गलले बाटो हिंड्ने यात्रीलाई
तिम्रो आस्थाको कथा सुनाउँदो रहेछ
आजाद ! तिम्रो आस्थाको शिखर कति अग्लो थियो ?


वर्तमान साहित्य, अंक ३, २०५२ साल

=====================================












No comments: