Saturday, February 29, 2020

कविता : म देश पढ्दै छु

- मातृका पोखरेल

म एक्काइसौं शताब्दीको विद्यार्थी
देशको इतिहास पढ्दै छु ।
देश गहिरिएर पढ्दै छु ।
देशलाई पढ्दै जाँदा —
अक्षरहरु भित्रका पनि अक्षरहरु पढ्दै छु
सजिएका शान्तिका अक्षरहरु भित्र
किरिङ्ग मिरिङ्ग
अशान्ति र कोलाहलका चित्रहरु पनि हेर्दैछु ।
न्यायका शब्दहरु पढ्दा
जेल, नेल, बन्दुक र पुलिसका
यातनाहरु पनि भोग्दैछु ।
म एक्काइसौं शताब्दीको विद्यार्थी
देशको इतिहास पढ्दै छु ।

देश गहिरिएर पढ्दै छु ।
इतिहासका शब्दहरुभित्र खोज्दै जाँदा
राष्ट्रभक्ति जस्ता शब्दहरुभित्र
कोशी र जङ्गल बेचिएका
सहिछापहरु पनि देख्दैछु
देशलाई बन्धकमा राखेका
सम्झौताका आला अक्षरहरु पनि देख्दैछु
जनभक्तका कानूनभित्र
युवाका रगत बेचिएका
राता टाटाहरुमा एक थोपा आँसु पनि खसाल्दैछु
म एक्काइसौं शताब्दीको विद्यार्थी
देशको इतिहास पढ्दैछु ।
देश गहिरिएर पढ्दैछु ।



समीक्षा, वर्ष, ३१, अंक ३४, २०४६

=================================

No comments: