Thursday, March 5, 2020

कविता : नरेश शाक्यका आँखा

 - मातृका पोखरेल


अचेल नरेश शाक्यलाई बानी परिसकेको छ
एकान्तमा बसेर हेर्न
सपनाहरूको सामूहिक आत्महत्या ।

किशोर उमेरमै
उनले पहाडको सपना देखे
पहाड चढ्न तम्सिए
सगरमाथाको सपना देखे
सगरमाथा चढ्न तम्सिए
सपनामा चन्द्रमा देखे
चन्द्रमा छुन तम्सिए
महासागर देखे सपनामा
त्यो पनि तर्न तम्सिए ।

यात्राको थालनी
हरियो दुबोमै टेकेर गरेका थिए उनले
हिँड्दैहिँड्दै जाँदा
भेटिदै गयो मरूभूमि
अब पछि  फर्कने ठाउँ पनि छैन
अघि हिँड्ने ठाउँ पनि छैन
उनलाई राम्रैसँग थाहा छ
सत्ता हिँड्ने राजमार्ग
र आफू हिँड्ने गोरेटो
कहिले भेट नहुने विपरित दिशामा छन् ।

बुढो माकुरो र नरेश शाक्य
यो महानगरको एउटा छिँडीमा
अचेल सँगसँगै बस्छन्
उनलाई हिजोआज
माकुराको माउलाई
बच्चाहरूले खाइरहेको दृश्य
खुबै मन पर्न थालेको छ ।

आत्महत्या मानिसहरूले मात्र गर्दैनन्
सपनाहरूले पनि गर्छन्
अचेल नरेश शाक्य अनौठो नमानिकन हेर्छन्
प्रत्येक दिन र प्रत्येक रात
सपनाहरूको लामो लस्करको दृश्य
भीरबाट सामूहिक आत्महत्या गरिरहेको ।

अचेल नरेश शाक्यलाई बानी परिसकेको छ
एकान्तमा बसेर हेर्न
सपनाहरूको सामूहिक आत्महत्या ।


शब्द संयोजन, पूर्णाङ्क –१३८, कार्तिक, २०७२


No comments: