Thursday, March 5, 2020

कविता : माटोको गन्ध

 - मातृका पोखरेल


यो माटोमा 
तिमी सँगसँगै मैले पनि भेटेको छु
मेरा पुर्खाहरूको पसिनाको गन्ध ।

तिम्रै जिजुहरूले सुनाएका कथा
हाम्रै हजुरबाले सुनाएको कथा
हामीले सँगसँगै सुनेका थियौँ
तिमीले बिर्सियौ कि के हो ?
तिमीलाई याद हुनुपर्छ 
अगेनाको डिलमा बसेर
तिमै जिजुले सुनाउनुभएको एउटा कथा 
मलाई भरखरै जस्तो लाग्छ  
यही ठाउँको जङ्गल फाँड्दा
तिम्रा जिजुहरूसँगसँगै
मेरा जिजुहरू पनि मरेका थिए
हामै बेसीको जमिन आवाद गर्दा 
गएको सातै दिनमा 
औलोले मरेछन् मेरा हजुरबा
तिम्रै जिजुले फर्काएर लगेको
एक हाँडी भुटेको मकै
र, एक टपरी गुन्द्रुक
अनिकालमा खाएको कथा
हजुर आमाले सुनाउनुभएको
मलाई भरखरै जस्तो लाग्छ 
कसले लगायो हाम्रो बिचमा
तिक्तताको आततायी काँडेतार ?
अचेल तिमी मबाट टाढा हुन थालेछौ ।

बेसीमा गर्मी सुरु भएको बेला
मेरा पुर्खाहरू पनि तिम्रा पुर्खाहरू सँगसँगै
एक हल गोरु लिएर लेक चढेका थिए 
उँभौली गाउँदै ,
लेकमा जोड बढेको बेला
हलो कोदालो बोकेर 
बेसी बास बस्न झरेका थिए
उधौली गाउँदै,
यही पँधेरामा पानी बोक्न आउँदा
तिम्री बहिनी सुम्निमासँगसँगै
मेरी बहिनीले पनि गाएकी थिई सोरठी,
यही जङ्गलमा दाउरा काट्न आउँदा
तिम्रो भाइ पारुहाङसँगसँगै 
मेरो भाइले पनि गाएको थियो सेलो ,
मलाई अझैसम्म याद छ 
कसले लगायो हाम्रो बिचमा
तिक्तताको आततायी काँडेतार ?
अचेल तिमी मबाट टाढा हुन थालेछौ । 
तिम्रो मूलघर बनाउँदा मुछेको माटोमा
अझै आउँछ मेरा हजुरबाको पसिनाको गन्ध
अझै छन् हाम्रा घरका झयालहरूमा 
तिम्रा जिजुले खोपेका राम र सीताका चित्रहरू ,
हाम्रा पुर्खाहरूलाई जलाउने घाट
तिम्रा पुर्खाहरू अन्त्यष्टी गर्ने चिहान
उत्तिकै पुराना हुन् ,
बारीमा मकै गोडेर बसेको एक थकित साँझ
जिजुहरूले आँगनमा बसेर सुनाएका कथाहरू
हामी सबैले सँगसँगै सुनेका छौँ  
यी बस्तीका जगहरूमा
अझै पनि खोतले भेट्न सकिन्छ 
तिम्रा जिजुका पाइतालाहरूसँगसँगैै 
मेरा जिजुका पाइलाका डोबहरू,
कसले लगायो हाम्रो बिचमा
तिक्तताको आततायी काँडेतार ?
अचेल तिमी मबाट टाढा हुन थालेछौ । 

यात्रापछिका प्रत्येक विश्रामहरूमा
सुनाइने सबै इतिहासका घटनाहरू
हामीले सबै सँगसँगै सुनेका छौँ 
भरखरै गर्भाधान भएको नयाँ युगमा
श्वास भर्न बाँकी नै छ 
बाँकी नै छ नयाँ मुटुहरू जोड्न,
मस्तिष्कहरू जोड्न,
नयाँ हात र खुट्टाहरू जोड्न,
आउ, यो हल्लाको जङ्गलबाट टाढा
आऊ, म तिमीलाई
हाम्रा जिन्दगीका सुरुवातका कथाहरू भन्छु ,
तिमीे सँगसँगै मैले पनि भेटेको छु 
मेरा पुर्खाहरूको पसिनाको गन्ध । 


गरिमा मासिक, पूर्णाङ्क –३३३, भदौ २०६७

No comments: