Friday, February 28, 2020

कविता : आफ्नै जस्तो लाग्यो

मातृका पोखरेल 

न्यूरोडको गेटनेर
मारवाडीको घरको
माथिल्लो तलाबाट
खै केको निहुँमा हो
एउटा कलिलो केटालाई
साहुको छोराले सडकमा फाल्यो
एकछिनसम्म सेता आँखा पल्टाउँदै
पानी ! पानी ! भन्दै ऊ बित्यो
उसलाई उठाएर
अस्पताल लाने कुरै चलेन
कसैले चिनेको कुरै गरेन
मलाई भने
कान्छो भाइको अनुहारसँग
ठ्याम्मै मिलेजस्तो लाग्यो
मलाई त आफ्नै जस्तो लाग्यो ।

हिजो रत्नपार्क चोकमा
एउटा अधबैंसेलाई
मर्सिडिज कारले ठक्कर हान्यो,
र उसले ह्वाल्लै रगत छाद्यो ।
हेर्ने मान्छेहरुले भने,
यतैतिर पत्रिका बेचिखाने
बेवारिसे मान्छे हो
बरु सवारीलाई बाधा पुगेकोमा
प्रहरीले मृतकलाई आँखा तर्‍यो
मलाई त, उसको अनुहार देख्दा
ठूलो दाजुको झझल्को आयो
धेरै वर्ष पहिले
म सानै छँदा
लाहुर जान भनेर
गाऊँ छोडेको रे!
ऊ एकछिनसम्म छट्पटाउँदै मर्‍यो
उसलाई आफ्नो भन्ने कोही भएन
तर मलाई त आफ्नै जस्तो लाग्यो ।

रानीपोखरीको पर्खालमा
एक हुल भारतीय नागाहरुसँग
रात बिताउन नमानेको निहुँमा
एउटी महिलालाई
दलालले लछारपछार गरेको देखियो
चुल्ठो तानेको देखियो
छुट्याउन जाने कोही भएन
तर मलाई भने,
कुनै न कुनै दिन
बसरेर एकसाथ
भाइटीका लगाएझैं लाग्यो
परिचित अनुहारको याद आयो
मलाई त आफ्नै जस्तो लाग्यो ।

उनीहरुलाई आप्नो मान्छे भन्नुपर्दा,
इज्जत गुम्ला भन्ने डर मान्नेहरु ।
चिनेर पनि नचिनेझैं गर्नेहरु ।
तिम्रो मानसको म साक्षी बन्न चाहन्न
इतिहासले तिमीलाई गर्ने घृणामा
मेरो पनि सहमति छ
कृपया माफ गर है !
त्यस्तो जिन्दगी बाँच्नेहरुको
मसँग साइनो गाँसिएझैं लाग्यो
मलाई त आफ्नै जस्तो लाग्यो ।


जनएकता साप्ताहिक, वर्ष ५, अंक १८, २०५६ मंसिर ६ गते

========================================


No comments: