Sunday, September 17, 2017

ध्रुवचन्द्रलाई डायमन प्रतिभा पुरस्कार


काठमाडौं । आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई डायमन प्रतिभा पुरस्कार अर्पण गरिएको छ ।
उपन्यासकार डायमनशमशेर राणाको ९९औं जन्मजयन्तीका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा पुरस्कार दिइएको हो ।
पुरस्कृति व्यक्तिबारे टिप्पणी गर्दै नेपाल साहित्यिक पत्रकार सङ्घका नवनिर्वाचित अध्यक्ष नगेन्द्रराज शर्माले गौतम नेपाली आख्यानका विशिष्ट क्षमता भएका प्रतिभा भएको बताए ।
नेपाल प्रज्ञा-प्रतिष्ठान (आख्यान विभाग) तथा डायमनशमशेर राणा प्रतिष्ठानद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा वसन्ती, सेतो बाघ जस्ता ऐतिहासिक विषयमा उपन्यास लेखेका डायमनको  योगदानबारे पनि चर्चा गरियो ।
प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. जीवेन्द्रदेव गिरीले विश्वसाहित्यमा समेत प्रतिष्ठा पाएका प्रतिभाको नाममा स्थापित पुरस्कार अर्का प्रसिद्ध प्रतिभालाई दिइनु उख्लेखनीय भएको बताए ।
कार्यक्रम संयोजक तथा प्रज्ञा-प्रतिष्ठान आख्यान विभागका प्रमुख प्राज्ञ मातृका पोखरेलले विशिष्ट साहित्यकारहरूका जन्मजयन्तीको तालिका बनाएरै योजनाबद्ध रुपमा कार्यक्रम गर्ने प्रतिष्ठानको सोचाइ रहेको बताए ।
पुरस्कृत व्यक्तित्व डा. गौतमका साथै समालोचक कुमारप्रसाद कोइराला, डायमन प्रतिष्ठानका अध्यक्ष ऋषिराम पाण्डे लगायतले पनि मन्तव्य राखेका थिए ।

२०७३ असोज १९ गते  प्रकाशित 

No comments: