Saturday, February 29, 2020

कविता :: ४६ चैत्रको सडक

- मातृका पोखरेल 

ज्योतिषीले लेख्ने चिन्हाको लामो कागजमा
चित्रकारले रातो रङ पोखे जस्तो
सायद सिकारु चित्रकार होला
ठाउँठाउँमा मसीका छिटा लत्पतिए जस्तो
४६ चैत्रको मेरो देशको सडक ।

मुक्तिको खोजीमा त्यही बेला
मेरा शहरका सडकका खोपिल्टाहरुमा
रगतहरु उम्लन्छन्
मेरा जदुकुवाहरु तातेपछि
पाँच छोराछोरीका पैंतीस बर्षे बाबुहरु
स्वतन्त्रताको कठिन यात्रामा हिंड्छन्
हो, त्यतिबेलै
सचेत दाजुहरुलाई
गोली लागेको अन्त्येष्टि सकेर
मुक्तिगीत गाउन सडकमा जान हतारो छ
आमाहरुलाइृ त्यति बेलै
मीत छोराको शोक मनाउन नपाउँदै
झ्यालमा गोली लागेर लडेकी छोरीलाई
अस्पतालमा लान हतारो छ
कति व्यस्त छ,
४६ चैत्रको मेरो देशको सडक ।

सवारीका आतंकित संकेतहरु दिंदै
सडकमा जनता धपाउनेहरु
कतै देखिएनन्
सायद उनीहरु
कुनै नमिठो विपनाको
भविष्यवाणी गर्दै थिए
जीवनको यो खण्डमा
गौरव र स्वतन्त्रताको एक खुट्किलो बनेको
४६ चैत्रको मेरो देशको सडक ।


जनएकता साप्ताहिक, वर्ष १, अंक ३९, २०५२ चैत्र २६

==================================

No comments: