Sunday, January 3, 2021

‘म जलेको चिता’ उत्कृष्ट कृति

काठमाडौ । कवि टंकमणि अधिकारीद्धारा लिखित म जलेको चिता (कविता सङ्ग्रह) एक उत्कृष्ट कृति रहेको वरिष्ठ साहित्यकारहरुले बताएका छन् ।

बिहीबार उक्त कविता सङ्ग्रहको समिक्षा कार्यक्रममा यस्तो प्रतिक्रिया दिएका हुन् ।

कविता सङ्ग्रहबारे नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतमान प्रेक्षित उपाध्यायले समाजका विविध पक्षमा पुरै डुबेर यथार्थवाद, प्रगतिवाद एवं मानवतावाद झल्किने र हरेक दृष्टिकोणले उत्कृष्ट कृति आएको विचार राख्नुभयो ।

पुर्व मन्त्री एवं साहित्यकार शंकर कोईरालाले कवि टंकमणि अधिकारीले धेरै पहिले कृति प्रकाशन नगरि गोधुलि साँझमा गोठ आएको जनावरको संज्ञा दिनु भयो ।

धेरै पहिले आउनु पर्ने कृति ढिला आएको विचार राख्नु हुँदै ढिलै आए पनि समाजका हरेक मुद्दालाई केन्द्रमा राखि बेजोड प्रस्तुति र कल्पनासिलताको पराकाष्ठा कृतिमा पाएको बताउनु भयो ।

प्रा.डा.गोविन्दमान सिंह कार्कीले साहित्य क्षेत्रमा तहल्का पिट्नेखालको कृति रहेको बताउनु भयो ।

वरिष्ठ साहित्यकार कलानिधि दाहालले कविताले समाजका हरेक विकृति विसंगतिलाई ठाडो प्रहार गरेको र लेखन शैली समेत बेजोड रहेको उल्लेख गर्नु हुदै सुन्दर कृति ६५ वर्ष उमेर पुग्दा मात्र ल्याएर साहित्य क्षेत्रमा अपराध गरेको विचार राख्नु भयो । पहिले नै कृतिहरु प्रकाशन गर्नु पर्नेमा जोड थियो दाहालको ।

साहित्यकार तुलसी भट्टराईले कविताले ग्रामीण जनजीवनको विषयबस्तुलाई केन्द्रित गरि अत्यन्तै सुन्दर कृति ल्याएको विचार राख्नु भयो ।

‘म जलेको चिता’ कविता सङ्ग्रहका स्रष्टा टंकमणि अधिकारीले जीवनको लामो समय जागिरमा रहेको र जागिरबाट अवकाश हुनु पर्ने भएकोले कहिल्यै अवकास हुन नपर्ने पेशाकालागि साहित्यमा समय दिन लागेको विचार राख्नु भयो ।

कविता सङ्ग्रहका प्रकाशक परशुराम भण्डारीले कवि टंकमणि अधिकारीको कविताहरु पढ्दा प्रकाशन नगरीकन बस्नै सकिएन त्यसैले प्रकाशन गर्न अनुमति मागेको विचार राख्नु भयो ।

कार्यक्रममा श्रमिकका मुद्दाहरुलाई समेत कवितामा समेटेकोमा ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्य, निवर्तमान अध्यक्ष खिलानाथ दाहाल र कार्यवाहक अध्यक्ष महेन्द्रप्रसाद यादवले धन्यवाद एवं मुक्तकाण्ठले प्रसंशा गर्नुभएको थियो । उक्त संग्रहमा ६५ वटा कविताहरु रहेका छन् ।

कार्यक्रमको सभापतित्व वरिष्ठ कवि मातृका पोखरेलले गर्नुभएको थियो । 


www.imagekhabar.com बाट साभार



कवि टंकमणि अधिकारीको कविता सङ्ग्रह विमोचन कार्यक्रम

1 comment:

Unknown said...

यो कृति कसरी किन्ने?कहाँ पाउछ?