Sunday, September 17, 2017

लार्क्याल लामालाई सांसद बनाउनुभन्दा हामीले छलफल गर्नु ठूलो गल्ती ? - मातृका पोखरेल

लार्क्याल लामालाई सांसद बनाउनुभन्दा हामीले छलफल गर्नु ठूलो गल्ती ? 
सोल्टीमोड भेलापछि केही साथीहरु अनावश्यक तरंगित हुनुभयो । तरंगित हुनु पनि स्वाभाविकै थियो किनकि कार्यकर्ताको तहबाट कुनै प्रश्न उठाउने र आलोचनात्मक कुरा गर्ने संस्कृति हाम्रो आन्दोलनमा स्थापित हुन सकेकै छैन ।
पार्टी नेतृत्वले अत्यन्त गलत निर्णयहरू गर्दा पनि निधार खुम्च्याउन आवश्यक नठान्ने संस्कृति हाम्रोमा विकास भैरहेको थियो । मानौं, लार्क्याल लामालाई सांसद बनाउनुभन्दा हामीले छलफल गर्नु ठूलो गलत काम थियो ।
कमरेड प्रचण्डको नजिक रहेका भनेर घोषणा गर्दै हिँड्ने र कमरेड प्रचण्डका नाता/परिवारभित्रका मानिसहरू त तल्लो स्तरको गालीगलौजमै उत्रनुभयो । त्यसलाई पनि अन्यथा मान्न जरुरी थिएन र छैन पनि । आखिर हाम्रो जमिन नै त्यस्तो थियो ।
matirka-pokhrel-feature
अतिरञ्जित गर्ने काम मिडियाले पनि गर्‍यो । त्यो भेलामा प्रकाश पोखरेलको नेतृत्वमा कमिटी बनेको भनेर एउटा अमुक संगठन/फोरमको नाम जोडिएर अत्यन्त कपोलकल्पित र भ्रामक समाचार पनि सँगसँगै बाहिर आयो । प्रचण्ड र बाबुरामलाई गाली गरियो भनेर पनि वाहियात कुराहरू बाहिर आए । यसमा कुनै सत्यता थिएन ।
कसैलाई गालीबाट सुरु गरेर यो अभियान अघि बढाउन सकिन्छ भन्ने कुराको हामी कसैलाई विश्वास छैन । त्यो भेलाको मूल उद्देश्य हेटौडा महाधिवेशनमा हामीले नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्दै समाजवादी क्रान्तिको तयारी गर्ने भन्यौं । तर पार्टी र पार्टी नेतृत्व जसरी अघि बढिरह्यो, त्यसले हामी धेरैमा त्यो कार्यदिशाको नेतृत्व यो पार्टी र नेतृत्वले गर्न सक्ला त भनेर प्रश्न उठेकै थियो ।
राजनीतिक, वैचारिक र सांस्कृतिक हिसाबले पार्टीको यो भद्रगोल अवस्थामा हामीले कसरी समाजवादी क्रान्तिको बहसलाई अघि बढाउने भनेर सुरुमा थोरै साथीहरूले छलफलको आरम्भ गरेका थियौं । हिजो नजिक भएका आधारमा त्यो छलफल पूर्व एकताकेन्द्र र बेलाबेलाको भेटमा चिन्ता व्यक्त गरिरहने माले/एमालेबाट आउनुभएका साथीहरूसँगै बढी हुने गरेकै थियो ।
जनयुद्धको पृष्ठभूमिबाट आउनुभएका कयौं चिन्तनशील साथीहरू पनि यो भेलामा समावेश गर्न सकेको भए अनावश्यक प्रश्नहरू पनि पक्कै उठ्दैनथे । यहाँनेर हाम्रो केही कमजोरी भएकै हो । यी केही कमजोरीबाट शिक्षा लिँदै यो छलफल निरन्तर अघि बढाउनु सिवाय अब अर्को विकल्प पनि छैन ।
http://archive.esamata.com बाट साभार 

No comments: