Saturday, February 29, 2020

कविता : दरबारमार्गमा शहीदका रगत रुँदैछन्

- मातृका पोखरेल

रातको तेस्रो प्रहर छ,
आकाशमा मात्र खुर्पे जून लागेको छ,
सल्लाको रुखमुनि पहेंलो विरुवाको अंकुर टुप्लुक्क उम्रिएको छ ।

केही मान्छेहरु लेख्दैछन्
बिहानी झलमल्ल घाम लागिसक्यो भनेर
भाषण गर्नेहरु पसिना बगाउँदै कुर्लंदै छन्
ढकमक्क फूल फुलिसक्यो भनेर
वर्तमान लेख्ने शहीदका रगतहरु सोध्दैछन्
बाटोको पेटीमा सुतेर माघको ठण्डीमा हुर्कने मान्छेको
हिउँले खाएर सकिएको शरीरमा कहाँ घामको झुल्को परेको छ ?

ढकमक्क फूल त के
विरुवाको अंकुरमाथि भमरो बसेको छ
वरिपरि झुसिले किराका बथानहरु छन्
केही मान्छेहरु
परालको आगो तापेर
गाँजाको मातमा झुल्लिंदै
प्रजातन्त्रको भजन गाउँदैछन्
हत्यारालाई प्रजातन्त्रको प्रमाणपत्र दिंदैछन् ।

फेरि अर्को जमात बढ्दैछ
त्यहाँ खान नपाउनेहरु छन्
घर नभएकाहरु छन्
बेचिनेहरु छन् ।
उनीहरु बहुलठ्ठी प्रजातन्त्रको जुठेल्नोमा
मसाल सल्काउने योजना गर्दैछन्
उनीहरु भन्दैछन्
यहाँ खुर्पे जून अस्ताउँदा उज्यालो सँगसँगै
एउटा चेतनाको हुरी आउँछ
अहिले दरबारमार्गमा शहीदका रगतहरु रुँदैछन्
यहाँ ढकमक्क फूल फुल्न लाग्दा
शहीदका रगतहरु
ताली बजाउँदै विजयका गीत गाउँछन् ।


आलोचना त्रैमासिक, वर्ष १, अंक १, २०४७ पौष

No comments: