Saturday, February 29, 2020

कविता : मरुभूमि, शिखर र आस्था

- मातृका पोखरेल 

उसले मलाई
मरुभूमिबाट औंलाले देखाउँदै भन्यो
त्यो ठाउँ पुग्न कठिन छ‘
बाटो बनाउँदै जानुपर्छ
त्यसमा पनि नङ्ग्रा जस्ता ढुंगाहरु छन्
तैले नाङ्गा खुट्टा बोकेर जानुपर्छ
बाघ, भालु, चितुवा र गोमनहरु
वरिपरि लुकेर बस्छन्
उसले अझ भन्यो
आइज, मरुभूमिमै शहर बसाउनु पर्छ ।

हामी उसको आस्थाको मैदान डुल्यौं
उसको बस्ती हे¥यौं
देख्यौं थुप्रै बच्चाहरु
प्यासले छटपटाउँदै थिए
भीडमा ठेलमठेल गर्न नस्कने
थुप्रै अशक्त मान्छेहरु
भोकले जीर्ण र सुकेका थिए
तर,
पत्याउनै नसकिने एउटा कुरा थियो
मरुभूमिमा पनि उसको पोखरी थियो ।

मैले उसलाई भनें
र टाढैबाट देखाएँ
ऊ त्यो शिखरमा पानीको मुहान छ
प्रकृति सुन्दर छ
र मलिलो छ
मात्रै एकपटक बाटो बनाउन कठिन छ
उसले मात्र मसँग डरलाग्दा कुराहरु गर्‍यो
भूतको कुरा गर्‍यो, प्रेतको कुरा गर्‍यो
उसले मसँग यस्तै यस्तै कुरा गर्‍यो ।

उसको अगाडि मैले
भोका मान्छेको सहयोग मागें
प्यासले छटपटाएकाहरुको सहयोग मागें
र हामी विस्तारै शिखर उक्लन थाल्यौं
उसले बिदाइका लागि हात पनि हल्लाएन
मात्र हामीसँग रिसायो
हामी सल्लाह गर्दै शिखर चढ्यौं
हामी बाटो खोस्रदैंशिखर चढ्यौं ।

हामीले एउटा शिविरमा पुगेर हेर्‍यौं
उसको वस्ती उजाड थियो
त्यो साँच्चै मरुभूमि थियो
त्यहाँ फेरि हामीले कसम खायौं
उसको आस्था मरुभूमि हो
ऊ त्यहीं रमाउँछ
हाम्रो आस्था शिखर हो
आफ्नो बाटो रोज्नैपर्छ ।


नयाँमोर्चा साप्ताहिक, वर्ष ६, अंक ४०, २०५६ साउन

==================================

No comments: