Saturday, February 29, 2020

कविता : अँध्यारोका विरूद्धमा

- मातृका पोखरेल

अँध्यारोले मलाई लखेट्दै आयो
म भाग्दै गएँ
अझै दौडँदै गएँ
झनै ठूलो विश्वास बोकेर
ऊ मलार्इ झम्टँदै आयो
मेरो भोगाइकै समदूरीमा
बन्दुक, तरबार र बमगोला
सबै सबै चीज बोकेर
ऊ मलाई लखेट्दै आयो ।

जब म दौडँदै थिएँ अँध्यारोमा
नदेखेर गोरेटो
भीर, पहरा र कन्दरामा
कतैतिर एउटा मैनबत्ती पाएँ
र, मैले त्यो बालें
अँध्यारो मसँग झस्क्यो
ऊ मसँग तर्क्यो
मैले त्यही दिनदेखि थाहा पाएँ
अँध्यारो बत्तीहरूसँग डराउँदोरहेछ
ऊ उज्यालोसँग भाग्दोरहेछ ।

त्यसपछि म अँध्यारोसँग भाग्न छोडें
मैले वरिपरि बत्तीहरू खोजें
थुप्रै–थुप्रै प्रकारका बत्तीहरू
अँध्यारोका विरूद्धमा
जब म ठिङ्ग उभिएँ
उसले मलाई खेद्न सकेन
बत्ती बोकेर जब मैले
लखेटिएको स्वाभिमान खोज्न
एउटा सानो गोरेटो पहिल्याएँ
ऊ मसँग तर्कँदै गयो
यो खबर मैले सबैलाई सुनाएँ
हो । त्यही दिनदेखि
मेरा आफन्तहरूसँग साथ लागेर
बत्ती बोकेर त्यही गोरेटोबाट
म उज्यालोको खोजीमा हिंडें ।


o
अंशु, साहित्यिक त्रैमासिक, वर्ष १, अंक १, २०५७ असोज

No comments: