Thursday, March 5, 2020

कविता : प्रश्नहरूको बाढी

 - मातृका पोखरेल



भूमिगत अक्षरहरू लेखिएको
रोल्पामा भेटिएको डायरी कसको हो ?

कसको हो ?
निबबाट बग्दै गरेको आलो मसीसहितको
रुकुममा भेटिएको रातो कलम ।

कसले छाडेर गएछ राजधानी ?
सपनाहरू थुनिएको पुरानो ट्याङ्का सिन्धुलीको गाउँमा ।

गरिबी पसिनाले धोएको सुट लगाएर
राजनीति गर्नु जोगी हुनलाई होइन भन्दै
जनअदालतको इजलासमा
भर्खरै मात्र कसले गरिरहेछ बहस ?

सगरमाथा चढ्ने कुरा गर्दै
कसले तापिरहेछ चौरमा घाम ?

पहेँलो बस्त्र ओढेर मण्डपमा
कसले कोट्याइरहेछ सिन्काले दाँत ?

प्रश्नहरू बग्रेल्ती छन् सडकमा
प्रश्नहरू बाढी बनेर आउने हल्ला आइरहेको छ,
प्रश्नहरूको बाढी पसेपछि
के होला हाम्रो बस्तीमा ?
हाम्रो सहरमा ?

कौतुहलताका आँखाहरू फालेर
म प्रश्नहरूको बाढी पर्खिरहेको छु ।
मान्छेहरूले भन्न छाडेका छैनन्
प्रश्नहरूको बाढी
पानीको बाढीभन्दा शक्तिशाली हुन्छ ।



फित्कौली  डट कम
------------------------------

फेसबुक वालबाट

No comments: