Sunday, September 17, 2017

साहित्यानुराग – एक टिपोट

अनुज श्रेष्ठ “प्रवास” (काठमाण्डौ नेपाल )

नेपाली साहित्याकाशमा धेरैका र मेरा प्रिय लेखक हुन् निबन्ध शिरोमणि शङ्कर लामिछाने । उहाँको निबन्ध सङ्ग्रह ‘एब्स्ट्रयाक्ट :चिन्तन प्याज’ पढिसके पछि मैले उहाँलाई मेरो प्रिय लेखकको पहिलो सूचीमा राखें।उहाँका कृतिहरु पाएसम्म पढेको छु ।गोधूलि संसार,विम्ब प्रतिविम्ब, गौथलीको गुँड त्यस्तै उहाँको समृतिमा लेखिएको प्रकाश सायमी द्धारा सम्पादित कृति ‘शङ्कर – स्मृति’पनि पढेको छु ।उहाँका रचनाहरुको ब्लग shankarsmritighar पनि बेलाबेलामा पढ्ने गर्छु ।नेपाली साहित्यमा मेरा अर्का प्रिय लेखक हुन् लैनसिह वाङ्देल।चित्रकार भन्दा मेरा लागि साहित्यकार वाङ्देल बढि प्रिय छन्।उहाँका कृतिहरु’रोमको एउटा फूल र प्यारीसको एउटा काँडा’बाट उहाँको पाठक बन्नुको गर्वमा झुण्डिएको मैले उहाँका कृतिहरु यूरोपको चिठी,मुलुक बाहिर पढ्न पाएको छु।यति थोरै कृतिहरुमा पनि उहाँको कलात्मक लेखनशिल्पले मलाई धेरै प्रभावित बनाएको छ ।नेपाली उपन्यास विधामा डायमन शम्शेरको वसन्ती र सेतोबाघले मलाई उपन्यास पढ्नमा रमाउने बानी गरायो।उहाँका यी दुवै कृति मलाई अत्यन्तै राम्रो लागे।काल्पनिकता र ऐतिहासिक अंशहरु दुवैको मिश्रण कला उहाँको उपन्यासमा देख्न पाइन्छ ।नेपाली उपन्यासको कुरा गर्दा नारायण ढकालको लेखनशिल्पबाट पनि धेरै प्रभावित भएको छु।उहाँको ‘प्रेतकल्प’मैले रुचाएको अर्को उपन्यास हो।’दुर्भिक्ष’पनि उहाँको राम्रो उपन्यास हो । नेपाली साहित्यमा उहाँको लेखन प्रशंसनीय छ ।

मैले माथि यसरी निबन्ध र उपन्यास विधा र त्यसका स्रष्टाहरुको प्रसङ्ग उठाइरहँदा मेरो सर्वप्रिय विधा कवितालाई केही हदसम्म ओझेल पारेको आफैलाई भान भैरहयो ।विशेषत कविता विधा मेरो रुचीको विषय हो ।र, कहिले काही कविता कोर्ने आँट पनि गर्छु ।त्यो म आफैले आफुलाई गरेको न्याय हो भन्ने ठान्छु।नेपाली कविहरुमा क्षेत्रप्रताप अधिकारी र रमेश क्षितिजको प्रभाव भावनात्मकरुपमा आफुमा परेको पाउँछु ।दिनेश अधिकारी,चंकी श्रेष्ठ,मनुमञ्जिल,प्रकाश सायमी ,राजेन्द्र भण्डारी (सिक्किमका कवि),आदि मलाई मनपर्ने कविहरु हुनुहुन्छ ।

नेपाली साहित्यमा मनपरेका केही कृतिहरु :
शङ्कर लामिछाने र लैनसिह वाङ्देलको अध्ययन गरेका सम्पूर्ण कृतिहरु , अतिरिक्त अभिलेख(दिनेश अधिकारी ),अर्को साँझ पर्खेर साँझमा(रमेश क्षितिज),कायाकल्प(चंकी श्रेष्ठ),प्वाँखहरु र आकाश (राजेन्द्र भण्डारी),जूनकीरीको संगीत,सम्झनाका कुइनेटाहरु (खगेन्द्र सङ्ग्रौला),उर्गेनको घोडा ( युग पाठक),हिमालपारि पुगेपछि(प्रतीक ढकाल),वर्षादी दिनहरु ( प्रकाश सायमी ),नफूलेका फूलहरु (क्षेत्रप्रताप अधिकारी ),तान्या ,इन्द्रकमल र अन्धकार (अविनाश श्रेष्ठ),पल्पसा क्याफे (नारायण वाग्ले),अनुहारहरु(मातृका पोखरेल),अन्तर्मनको यात्रा( जगदीश घिमीरे) कर्णाली ब्लुज(बुद्धिसागर) आदि (यी मैले पढेका नेपाली साहित्यका १४० पुस्तकहरु मध्य केही उल्लेख गरेको हुँ “

No comments: