Tuesday, April 6, 2021

कविहरूले सम्झिए पुर्खाको पौरख

 



शनिवार वा सार्वजनिक विदाका छेकोमा साहित्यमय बन्ने गर्छ, राजधानी  । तर ‘गोर्खा सेमेट्रिज ट्रष्ट नेपाल’ले  भने यस्तो साइत कुरिरहेन । सोमबार कोटेश्वरस्थित किराँत राई यायोक्खाको प्राङ्गणमा कवि एवं सर्जकहरुलाई निम्तो गर्याे । किनभने त्यहाँ कविता वाचनको कार्यक्रम तय थियो ।

कविता सुनाउने कार्यक्रमको सन्दर्भ भने ‘पुर्खा दिवस’ थियो । विगत तीन वर्षअगाडि देखि गोर्खा लाहुरेहरूको याेगदान तथा पुर्खाको सम्मानमा ‘पुर्खा दिवस’ मनाइँदै आएको छ ।

बेलायत तथा अन्य देशका सेनामा भर्ति भएका पुर्खाहरूको सम्झना यो दिवस मनाइँदै आएको छ । सोमबार यही पुर्खा दिवसको सन्दर्भमा ‘गोर्खा सेमेट्रिजले प्रथम र द्वितीय विश्वयुद्धमा सहिद भएका पुर्खाको सम्झनामा सभा गर्यो ।

उक्त अवसरमा दोस्रो विश्वयुद्धमा योगदान पुर्याएका जीवित गोर्खा लाहुरेको परिवारलाई सम्मानसमेत गरियो । मृतक गोर्खा सैनिकको सम्झनामा मौनधारण गरियो ।

कविता वाचनतर्फ कविहरू स्वप्निल स्मृति, राबत, लक्ष्मी रूम्बा, मातृका पोखरेल, बच्चु हिमांशु, मदन राई, चन्द्र रानाहँछा, निर्भीकजंग रायमाझी, बलराम तिमल्सिना, विमला तुम्खेवा, सोझो  गाउँले, नवीन प्यासी, रामगोपाल आशुतोष र महेन्द्र थुलुङ राईले कविता सुनाए । कार्यक्रमको सभापतित्व ‘गोर्खा सेमेट्रिज ट्रष्ट नेपाल’का अध्यक्ष महेन्द्रकुमार राईले गरे ।

अधिकांश कविता पुर्खाको सम्झना र गोर्खा सैनिक केन्द्रीत थियो । चर्चित कवि श्रवण मुकारूङले संयोजन गरेको कविता वाचन सेसनपछि सिनेकर्मी नवीन सुब्बाले गोर्खा सैनिकमाथिको भाष्य परिवर्त हुनुपर्ने टिप्पणी गरे ।



सुब्बाले नेपाली साहित्यले समेत गोर्खा सैनिक र समाजलाई हेयको दृष्टीले हेरेको भन्दै फरक दृष्टीले गोर्खा जीवनलाई हेरिनुपर्ने बताए ।

सुब्बाले व्यक्त गरेको विचार यहाँ प्रस्तुत गरिएको छ :

नेपालमा गोर्खा सैनिक र गोर्खामाथि हीनताबोध राखिएको पाइन्छ । तर उनीहरूको सवालमा हीनताबोध पाल्ने कुनै कारण छैन । गोर्खाहरू माथि त गौरव गर्नुपर्छ । हाम्रो कविहरूले के लेखे भने, गोर्खा मुर्ख छन् त्यसैले बहादुर भए । तर म भन्छु, बहादुर हुन मुर्ख हुनै पर्दैन । ज्ञान, सीप चाहिन्छ बहादुर हुन । युद्धकौशल चाहिन्छ तब न बहादुर भइन्छ । मुर्ख भएर बहादुर हुन्छ कोही ?

हाम्रो साहित्यले मुर्ख भएको कारण बहादुर भयो भन्दै आएको छ । गोर्खाले अरूको लागिमात्र लडे भनेर व्याख्या गरिएको छ ।  हाम्रो आज विश्वमा जुन शान छ त्यो गोर्खाले गर्दा भएको हो ।

तर हामीले त एकप्रकार हीनताबोध मात्र पालेका रहेछौं । गोर्खाहरूले अर्काको लागि युद्ध लडे भनिन्छ । तर हामी त मानवीयताको लागि लडेका हौं । संसारमा शान्ति स्थापना गर्न लडेका हौं । हामी कहिल्यै हिंसाको पक्षमा लडेनौं । जर्मन, जापानीहरूले युद्धमा अत्याचार गरे, त्यसविरूद्ध गोर्खा लड्यो । अर्थात् सत्यको पक्षमा लडेको रहेछ नि ! प्रतिरोधको लागि लडेका रहेछ । तब किन हीनताबोध पाल्ने ?

इतिहासमा सबैको पक्षमा, सहीको पक्षमा हामी लडेका रहेछौं । गोर्खा नभएको भए आजसंरचनागत लामांभ भएको समाजमा किरात तथा जनजाति सशक्त उभिने ठाउँ कहाँ हुन्थ्यो !

यहाँ ‘आफ्नो लागि लड्नुपर्छ’ भन्ने कुरामात्र गरिन्छ । दश वर्ष आफ्नो लागि लडेको होइन त ? के भयो उपलब्धी ? जनयुद्धको एउटा सेमेट्री (चिहान–उद्यान) त छैन ।

तर, संसारभरि गोर्खाको चिहान छ, शालिक छ । यही कारणले गर्दा गोर्खा जीवनको भाष्यमाथि पुनर्विचार गर्नुपर्ने आवश्यक छ । त्यो कुरा परिवर्तन गर्ने हामी कवि, लेखकको दायित्व हो । चिन्तकहरूको हो ।

कुनै पनि कोणबाट गोर्खाहरूको अवमूल्यन गरिनु हुँदैन ।   

www.onlinekhabar.com बाट साभार 








महेन्द्र राईको फेसबुक वालबाट

No comments: