Sunday, September 17, 2017

प्रगतिशील लेखक सङ्घको रुम्जाटार घोषणापत्र जारी

१४ फागुन, २०७३ 

ओखलढुङ्गा – प्रगतिशील लेखक सङ्घ, नेपालले मुलुकका राजनीतिदेखि कला, साहित्य र संस्कृतिमा हाबी भएको विदेशी हस्तक्षेपका विरुद्ध अभियान सञ्चालन गर्ने भएको छ ।

सङ्घको आज यहाँ सम्पन्न दोस्रो राष्ट्रिय परिषद् बैठकले सांस्कृतिक आन्दोलनलाई साझा मोर्चाका रुपमा थप गतिशील बनाउन आफ्ना लक्ष्य पूर्तिका लागि सम्पूर्ण प्रगतिशील स्रष्टालाई एकीकृत परिचालन गर्ने निर्णय गरेको छ ।

बैठकले देशीय सामन्तवाद तथा पश्चिमा सांस्कृतिक साम्राज्यवाद र भारतीय एकाधिकार पुँजीवादले राष्ट्रिय राजनीति, इतिहास, कला, साहित्य र संस्कृतिमा छलछाम, षड्यन्त्र र हस्तक्षेप थोपरेकोलगायत दस बुँदे रुम्जाटार घोषणापत्र, २०७३ समेत जारी गरेको छ ।

घोषणापत्र जारी गर्दै प्रलेसका अध्यक्ष प्राज्ञ मातृका पोखरेलले भने, “न्यायपूर्ण, समतामूलक समृद्ध समाज निर्माणका लागि बुर्जुवा र उपभोक्तावादी साहित्यिक चिन्तनधारा तथा आधुनिकतावादको नाममा अराजकताको वकालत गर्ने प्रवृत्तिविरुद्ध वैचारिक एवम् सिर्जनात्मक अभियान सञ्चालन गरिनेछ ।”

उनले आगामी जेठमा प्यूठानमा राष्ट्रियता चेतनासम्बन्धी राष्ट्रिय गोष्ठी, सबै प्रदेशमा भेला, केन्द्रमा नियमित परिसंवाद तथा मैथिली भाषाबारे जनकपुर र महेन्द्रनगरमा कार्यक्रम गर्ने योजना रहेको जानकारी दिए ।

बैठकले करिब दुई दसकदेखि हुन नसकेको स्थानीय तह निर्वाचनको मिति आगामी वैशाख ३१ मा तोकिनुलाई स्थानीय सशक्तिकरण र लोकतान्त्रिक प्रक्रियाको संस्थागत विकासका सन्दर्भमा सकारात्मक रहेको ठहर गरेको छ ।

राष्ट्रिय चाड, पर्व, रीतिरिवाज एवम् संकृतिलाई जनसापेक्ष र त्यसमा प्रगतिशील वैज्ञानिक सांस्कृतिक रुपान्तरणका लागि वैचारिक र प्रशिक्षणमूलक अभियानात्कका कार्यक्रम सञ्चालन तथा साहित्यिक एवम् सांस्कृतिक क्षेत्रमा दिइने पुरस्कार र सम्मानलाई वस्तुवादी मूल्याङ्कनका माध्यमबाट दिइने परम्पराको थालनी गर्ने प्रतिबद्धता पनि बैठकले गरेको छ ।

प्राज्ञ नर्मदेश्वरी सत्यालले स्रष्टाहरुले संस्कृति सुधार र लैङ्गिक संवेदनशीताका क्षेत्रमा पर्याप्त काम गर्न सक्नुपर्ने बताउँदै राष्ट्रियतामा उत्पन्न खतरा चिर्न र राजनीतिक क्षेत्रमा देखिएको विकृति अन्त्यका लागि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

बुद्धिजिवी गोपीरमण उपाध्यायले प्रगतिशील साहित्यिक क्षेत्र आफैमा समृद्ध भए पनि राज्यका निकायबाट सम्मानजनक व्यवहार हुने नसेको बताउँदै प्रलेसको रुम्जाटार घोषणापत्र कार्यान्वयन भएमा संस्कृति रुपान्तरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

बैठकले ओखलढुङ्गा जिल्लाको समग्र विकास र रुम्जाटारको बहुआयामिक विकासका लागि भइरहेको सत्प्रयासको प्रशंसा गर्दै रुम्जाटार विमानस्थलको स्तरोन्नति, पर्यटन र शैक्षिक गन्तव्यस्थलको विकास एवम् जनजीविकाका सवालमा राज्यले प्राथमिकता दिनुपर्ने माग गरेको सङ्घका महासचिव आरएम डङ्गोलले जानकारी दिए ।

http://www.ratopati.com बाट साभार 

No comments: