Monday, November 23, 2020

समकालीन नेपाली कथामा वर्गीयता : डा.बिन्दु शर्मा

 






१.  विषयप्रवेश

समकालीन नेपाली कथा भनेको नेपाली राजनीति एवम् समाजिक सन्दर्भहरूको सन्निकट रही विशिष्ट घटनाक्रमहरूबाट प्रभावित, प्रेरित र अभिव्यञ्ति कथा हो । तात्क्षणिक र चलायमान समयमा आधारित यस्ता कथामा व्यक्ति, समाज, संस्कृति र व्यवस्थाका बिचको अन्तर्संवाद, परिवर्तित कलासञ्चेतना र तत्कालीन युगबोधको प्रबलता हुने भएकाले कुनै एउटा प्रवृत्तिको मात्र प्रधानता नरही विविध चेतनाको प्रतिनिधित्व रहेको हुन्छ । समकालीनताले वर्तमानसँग जोडिएका परिघटनाहरूसँग रचनागत सम्बन्धको केन्द्रीयता स्वीकार गर्ने र अतीतको क्रमिक विकासबाट वर्तमानले जेजस्तो स्वरूप प्राप्त गरेको हुन्छ, त्यसैसँग सम्बद्ध गतिशीलतालाई अँगाल्छ । साहित्यको विषय र शिल्पमा नवीनता ल्याउने प्रारम्भिक चिन्तन र वर्तमानका आकांक्षाहरूको अन्तक्र्रिया नै समकालीनताको प्रमुख आधार हो । समसामयिक विषयप्रतिको स्पष्ट चिन्तन, सम्प्रेषणशीलताको आधिक्य रहेको कथ्य भाषाको प्रयोग, स्वरहरूको बहुलता, विवरण र वर्णनभन्दा संक्षिप्तता र सघन प्रस्तुतितर्फ अभिमुख, प्रतीक र मिथकभन्दा बिम्बको प्रधानता, लेखकीय निष्कर्षभन्दा पाठकलाई अर्थ खोज्न लगाउने खुल्ला अन्त्य आदि समकालीन कथाका अभिलक्षण हुन् । 

नेपाली साहित्यमा जनमन सङ्ग्रहको घोषणा (२०३६) ले सिर्जना गरेको स्वतन्त्र राजनीतिक परिवेशलाई विशिष्ट घटनाक्रमका रूपमा लिई त्यसपछिका साहित्यिक रचनाहरूमा चिन्तनको रूपान्तरण प्रारम्भ भयो र त्यसलाई २०४६ सालको जनआन्दोलन तथा बहुदलीय प्रजातन्त्रको पुनस्र्थापनाले अघि बढायो । त्यसैले राजनीतिक परिवर्तन, खुल्ला अर्थव्यवस्था, सामयिक विषयको प्रस्थापना र शैलीगत सरलताको समष्टिलाई समकालीन नेपाली कथाका रूपमा लिनु उपयुक्त हुन्छ । त्यसपछि २०५२–६२ को जनयुद्ध, २०६२–६३ को लोकतान्त्रिक आन्दोलन, राजतन्त्रको उन्मूलन (२०६५), र संविधानसभाका माध्यमबाट गणतान्त्रिक नेपालको संविधान (२०७२) को घोषणा आदि विभिन्न परिघटनाहरूले समकालीन नेपाली कथालाई विषय र तदनुरूप शिल्प दिएका छन् । हरेक क्षेत्रमा रहेका रुढ मान्यताप्रति प्रश्नचिन्ह लगाउने चिन्तन, ऐतिहासिक स्वतन्त्रताको उपलब्धि, पुँजीवादबाट निःसृत पृथक् सामाजिक मुद्दाहरूको प्रभाव र तिनको अभिव्यञ्जनका युुक्तिहरूको उपयोगका कारण २०४६ पछिको नेपाली कथामा राजनीतिक सांस्कृतिक विषय, प्रगतिशील विचारधाराको वर्चस्व तथा लेखनढाँचाको परिवर्तन भएको हुनाले यस लेखमा २०४७–२०७६ का कथालाई सामग्रीका रूपमा लिई तिनमा वर्गीयताको खोजी गरिएको छ । त्यसका निम्ति यहाँ प्रथमतः समकालीन नेपाली कथामा वर्गीयताको अवधारणा पहिल्याएर वर्गीयता विश्लोषणको एउटा ढाँचा तयार पारी त्यसै अनुरूप वर्गीयता अभिव्यञ्जना भएका समकालीन नेपाली कथाहरूको निरूपण भएको छ । 

२.  समकालीन नेपाली कथामा वर्गीयताको अवधारणा

कथा आधुनिक कालमा विकसित लोकप्रिय विधा हो । कथालाई सामान्यतया केही घटनावली र दृश्यमा फैलिएको तर एकल प्रभावमा केन्द्रित गद्याख्यानका रूपमा लिइन्छ । कथालाई रचना गर्न कथानकका घटना शृङ्खला, पात्रहरूको क्रियाकलाप, परिवेशको आधार, दृष्टिविन्दुको रणनीति, भाषाको कलात्मक बुनोट, बिम्ब र प्रतीकको समुचित व्यवस्थापन, विचारधारा प्रस्तुतिको सही स्वरबिच सम्मिलन हुनु आवश्यक पर्छ । त्यसैले कथा कलात्मकताको आधिक्य रहेको साहित्यिक रचना हो । पात्र र परिवेशको पूर्ण विकास नभए पनि नाटकीय क्रियाहरूले रहस्य र रोचकता सिर्जना गरेर कथालाई अघि बढाएका हुन्छन् । इतिहास, मिथक, स्वैरकल्पना र सामाजिक यथार्थको जुनसुकै विषय लिइएको भए पनि पात्रहरूको चरित्र, चिन्तन र चेतनाले जीवनकै यथार्थको प्रतिनिधित्व गरेको हुन्छ । यथार्थ पनि यथास्थितिलाई स्वीकार गर्ने र यथास्थितिलाई अस्वीकार गरेर जीवनलाई नवीन तरिकाले रूपान्तरण गर्न चाहने गरी दुई प्रकारका हुन्छन् । कथामा जगत्को जीवन्त, स्पष्ट र यथार्थ प्रतिबिम्बन हुने भएकाले यसमा सामाजिक एवम् आर्थिक वर्गको अभिव्यक्ति प्रत्यक्ष रूपमा प्रकट हुन सक्छ । कथाकारले आफ्नो राजनीतिक पक्षधरता र विपरीत चिन्तनसँगको द्वन्द्वलाई घटना, पात्र, परिवेश, दृष्टिबिन्दु, भाषा, बिम्बप्रतीक तथा स्वरमा सामञ्जस्य गरेको हुन्छ । उपन्यासभन्दा सानो आयामको हुँदाहुँदै पनि बोलीचालीको गद्यभाषामा वर्णनात्मक तरिकाले अन्तर र बाह्य दुवै सन्दर्भलाई उद्घाटन गर्न सामथ्र्य हुने भएकाले कथामा वर्गीयताको विश्लेषण गर्दा त्यसले सही गति र स्पष्ट दिशा लिन पाउँछ । समकालीन नेपाली कथामा जनआन्दोलनदेखि नै एक प्रकारको तनाव, पुँजीवादी व्यवस्थामा सङ्क्रमण, अर्धऔपनिवेशिकताको प्रक्रिया तथा साम्राज्यवादका विरुद्धको विद्रोह निहित छ, जसलाई तत्कालीन नेकपा (माओवादी)को दसबर्से जनयुद्ध, सक्रिय राजतन्त्रको पुनस्र्थापना, गणतन्त्रको आगमन आदिका बाह्य पक्षहरूले प्रत्यक्ष प्रभाव पारेका छन् । तिनको जलन, छटपटी र आस्थाका अनेकौँ तरेलीहरूलाई आत्मसात् गरेको अनि नेपालमा वर्गीय आन्दोलनको दस्ताबेजका रूपमा रहेको जनयुद्ध, लोकतान्त्रिक आन्दोलन तथा तिनका उपलब्धिहरू समेटिएका वैचारिक अभिव्यञ्जनाहरू पनि ती कथामा पाइन्छन् । त्यसैले समकालीन नेपाली कथामा वर्गीयताको पहिचान, विश्लेषण र मूल्याङ्कन कथाविश्लेषणको एउटा महत्त्वपूर्ण आधार बनेको हो । 

३. वर्गीयता विश्लेषणको सैद्धान्तिक ढाँचा 

वर्गीयता भनेको उत्पादनका साधनहरूसँगको सम्बन्धका आधारमा समाजमा देखा परेको खास वर्गप्रतिको पक्षधरता हो । समाजमा उत्पादनका साधनमाथिको निजी स्वामित्वका कारण हुने र नहुने दुई भिन्न वर्गहरू अस्तित्वमा आउँछन् । उत्पादनका साधनमा पहुँच हुने मालिकहरू अर्थात् शोषक वर्ग उत्पादनका साधनहरूबाट वञ्चित शोषित वर्गलाई शोषण गर्छन् । पुँजीवादमा वर्गको अवधारणा आर्थिक आधारमा व्यक्ति, परिवार र अन्य समुदायमा निर्धारित सामाजिक श्रेणीलाई बुझाउन उपयोग गरिन्छ । त्यसैले निश्चित समुदायभित्रको आर्थिक आय र सामाजिक स्तर हेरी त्यसका आधारमा चार वर्गमा गरी स्तर विभाजन गर्ने प्रचलन छ (बोट्टोमोर,सन् १९९१,पृ.८६—८७) : (१) निम्नवर्ग (अन्डर क्लास), (२) मजदुरवर्ग (वर्किङ क्लास), (३) मध्यमवर्ग (मिडल क्लास) र (४) उच्चवर्ग (अपर क्लास) । माक्र्स र एङ्गेल्सले बुर्जुवाहरूले नै सामाजिक वर्गको विभाजन प्रारम्भ गरेको मान्यता राखेका छन् । मार्क्सले निम्नस्तरको जीवन बाँच्ने करोडौँ मान्छेहरूको जीवनपद्धति, अभिरुचि र संस्कृति अन्य शक्तिशाली मान्छेको भन्दा भिन्न भएको हुँदा देश, जाति र सांस्कृतिक रूपमा भिन्न भए पनि ती निम्नस्तरका मान्छेमा आएको एकीकृत चेतना, चिन्तन र सहकार्यको भावनाले वर्गको प्रतिपादन हुने सैद्धान्तिक अवधारणा राखेका छन् (बोट्टोमोर,सन् १९९१,पृ.८५) । त्यसैले माक्र्सवादले वर्गलाई सामाजिक उत्पादनको इतिहाससँग जोडेर हेरेको हुन्छ । समाजिक उत्पादनको विकासको विशिष्ट ऐतिहासिक चरणमा वर्गहरू अस्तित्वमा आएका थिए भन्ने अवधारणा माक्र्सवादले राखेको छ (गिरी, २०७५, पृ.८) । यसबाट वर्गहरू उत्पादन पद्धतिका परिणाम रहेको कुरा स्पष्ट हुन्छ । वर्गीय समाजमा देखा पर्ने वर्गका निम्नलिखित दुई प्रकारहरूको निर्धारण गर्न सकिन्छ : (१) आधारभूत वर्ग, (२) गौण वर्ग । प्रमुख वर्ग भनिने आधारभूत वर्ग समाजमा सत्तारुढ उत्पादनका साधनहरूमा स्वामित्व रहेका राजारजौटा, सामन्त, पुँजीपति वर्ग र उत्पादनका साधनहरूबाट वञ्चित रहेको उत्पीडित वर्ग नै आधारभूत वर्ग हो । उत्पादन पद्धतिसँग प्रत्यक्ष रूपमा सम्बन्धित नहुने गौण वर्गहरूअन्तर्गत समाजका स्वतन्त्र शिल्पकारहरू, पुँजीवादी समाजका किसान, बुद्धिजीवी, पुरोहित आदि वर्ग पर्दछन् । पुँजीवादी समाजमा सर्वहारा वर्गलाई सबैभन्दा क्रान्तिकारी वर्गका रूपमा लिइन्छ भने गौण वर्गमा चाहिँ ढुलमुले प्रकृति रहने र तिनको चरित्रमा पनि अवसरवादीपना नै अधिक पाइन्छ । वर्गीय समाजमा अस्तित्वमा रहेका यिनै वर्गहरूप्रतिको पक्षधरता नै वर्गीयता हो र त्यसमा पनि सर्वहारा वर्गप्रतिको प्रतिबद्धता नै वर्गीयताको सही स्वरूप हो (चैतन्य,२०६४,पृ.३२) । त्यसैले चेतनाका सम्पूर्ण रूपहरू वर्गहितमा आश्रित हुन्छन् र वर्गीय समाजमा कुनै पनि विचारधारा वर्गभन्दा बाहिर रहँदैन । 

माक्र्सवादले पनि गैरवर्गीय दृष्टिकोणसँग प्रतिकार गर्ने अभीष्टले नै वर्गीय दृष्टिकोणप्रति जोड दिएको हो । आर्थिक अभाव भएका, निमुखा, पात्रको जीवनभोगाइ, राज्यसत्तासम्म उनीहरूको पहुँचको अवस्था, शोषण र उत्पीडनका स्वरूपहरू चित्रण गर्दा वर्गीयता बढी मुखरित भएको हुन्छ । सामन्त, पुँजीपति, नोकरशाह र तिनका पक्षपोषकहरूले टेलिभिजन, सिनेमा, पुस्तक, पत्रिका, सामाजिक सञ्जाल आदिका माध्यमबाट विभेदका विरुद्धको सङ्घर्षबाट सर्वहारा वर्गलाई विमुख बनाउने र वास्तविकताको ज्ञानबाट वञ्चित गराउन सञ्चालन गरेका गतिविधिका विरुद्ध आम पाठकलाई सचेत र सङ्गठित गराउने प्रगतिवादी सांस्कृतिक आन्दोलनको दिशाबोध पनि साहित्यले गराएको हुन्छ । हरेक युगका महान् रचनाकार आफ्नो रचनामा पतनशील वर्गको निर्मम आलोचना गर्छन् र प्रतिशील वर्गप्रति सहानुभूति व्यक्त गर्छन् भन्ने कुरा संसारभरि कलासाहित्यको इतिहासबाट सिद्ध भइसकेको छ (पाण्डे,२०६७,पृ.१५०) । आफ्नो वर्गीय अवस्थाअनुसार नै लेखकहरू एउटा वर्गीय दृष्टिकोण आत्मसात गर्दै सोही अनुरूपका आफ्ना अनुभव र अनुभूतिलाई साहित्यमा प्रस्तुत गर्छन् । अतः लेखकले आफना रचनामा अभिव्यक्त गरेको दृष्टिकोणमा वर्गीय आग्रह र पतनको पक्ष पनि रहिरहन्छ । यसैअनुसार पाण्डे (२०६७,पृ.१५४) ले वर्गीय साहित्यका उद्देश्यका रूपमा दिएका बुँदाहरूलाई आधार बनाएर समकालीन नेपाली कथामा अभिव्यञ्जित वर्गीयताको विश्लेषण र मूल्याङ्कनका निम्ति यस प्रकारको एउटा प्रतिमान बनाउन सकिन्छ : (१) पतनशील बुर्जुवा जीवनपद्धति र मरणोन्मुख बुर्जुवा संस्कृतिको वास्तविकता र तिनमा रहेका कमजोरीको चित्रण, (२) बुर्जुवा जीवनपद्धतिको असङ्गति र समाजको विकासमा बाधक बनेको त्यसको स्वरूपको उद्घाटन, (३) बुर्जवा वर्गको सांस्कृतिक राजनीतिक प्रभुत्वको विघटन हुने प्रक्रिया र ध्वंस गर्ने तरिका, (४) सामाजिक सम्बन्धहरूको समग्रतामा सर्वहाराको जीवनसङ्घर्षको चित्रण, (५) सर्वहाराको दृष्टिकोणअनुसार एउटा अधिक मानवीय संसार रचनाको प्रयास, (६) सर्वहाराको सामाजिक सङ्घर्षको चित्रण गर्दै सर्वहारा वर्गको एकतालाई दरिलो बनाउन उसलाई अघि बढाउन गरिने प्रयत्न, र (७) सर्वहारालाई इतिहासप्रक्रियाको दिशा र गतिको जानकारी गराउँदै उसको ऐतिहासिक दायित्वबोध । प्रस्तुत लेखमा यिनै बुँदाका आधारमा समकालीन नेपाली कथामा अभिव्यञ्जित वर्गीयताको पहिचान, विश्लेषण र मूल्याङ्कन गरिएको छ । 

४. समकालीन नेपाली कथामा अभिव्यञ्जित वर्गीयताको स्वरूप

समकालीन नेपाली कथामा अभिव्यञ्जित वर्गीयताको स्वरूपलाई यस खण्डमा विभिन्न सात उपशीर्षकमा विभाजन गरी निम्नानुसार पहिचान, विश्लेषण र मूल्याङ्कन गरिएको छ । यसका साथै कथामा प्रकटित विविध प्रकारका वर्गीयतालाई कलात्मक अङ्गहरूसँग जोड्ने प्रयास पनि यसमा भएको छ ।

४.१  पतनशील बुर्जुवा जीवनपद्धति र मरणोन्मुख बुर्जुवा संस्कृतिको वास्तविकता र कमजोरीको चित्रण

शोषण, दमन र भ्रष्टाचारका माध्यमबाट विनाश्रम जीविकोपार्जन गर्ने र छलकपटपूर्ण जीवन जिउने सामन्तवादी तरिका नै वास्तवमा पतनशील बुर्जुवा जीवन पद्धति हो । यही जीवन पद्धतिलाई टिकाइराख्न वर्गीय असमानतालाई भाग्य र पूर्वजन्मको कर्मका रूपमा हेर्ने र तल्लो वर्गप्रति अन्याय र दुव्र्यवहार गर्नुृलाई आफ्नो जन्मसिद्ध अधिकार ठान्ने चिन्तनले बुर्जुवा संस्कृतिको प्रतिनिधित्व गर्छ । खगेन्द्र सङ्ग्रौलाको ‘कुराउनीको रित्तो पेरुङ्गो’ कथामा निमुखो निम्नवर्गीय श्रमजीवी पात्रमाथि भएको शोषण र अत्याचारको चित्रण गर्दा प्रकट भएको पतनशील बुर्जुवा जीवनपद्धतिको एउटा उदाहरण यस्तो छ :

हल्दारले झम्टा मारेर हावाको वेगमा पोको खोल्यो । शकुन्तला पक्क मुख बाएर मूर्तिसमान भई हेर्दै छे— हल्दार पोको खोल्न थाल्यो । थाङ्ना र फेरफार गर्ने लुगा डन्डाले अधिन्दै उसले यता र उता हुत्यायो । ल ! हलदारका लोभी आँखा पेरुङ्गामा परे ! 

“हँ, के हो यो ? बम ? बारुद ? जिलेटिन ? हँ ?”

हल्दार गोविन्दकृष्णले हत्तपत्त पेरुङ्गाको मुख च्यात्यो । पेरुङ्गाको मुखसँगै शकुन्तलाको हृदय चर्चरी चिरियो । हल्दारले कुराउनी यसो सुँघिहे¥यो । उसका आँखामा आनन्दी चमक छायो । यता शकुन्तलाका आँखा पिरोलोको बादलले डम्मै ढाकिए । लामिछाने मुखिनीको कत्रो चाकडी गरेर जोरेको, बरा चिचिला केटाकेटीलाई सुँघ्नै नदिईकन रुहाउँदै पेरुङ्गामा हालेको, थोती आमाका हातमा  राखिदिउँला भनेर त्यसरी ल्याएको कोसेली— पेरुङ्गाको दुई गाँस प्राणसरी प्यारो त्यो कुराउनी ।

“पुलिस दाइ !” थर्थरी काम्दो स्वरमा शकुन्तलाले पुकारा गरी, “बिन्ती छ पुलिस दाइ, बुढी आमालाई भनेर ल्याको यो मेरो कोसेली.....”

“ठिक छ,” हल्दारले भन्यो र कुराउनी झिकेर उसले एक मुख क्वाप्प खाइहाल्यो । “हुँ ! मिठो !” मुख मिठ्याउँदै उसले भन्यो ।....

जम्मै खायो र हल्दार सन्तुष्ट भयो । छियाछिया भएको शकुन्तलाको हृदयबाट रगतको बलिन्द्र धारो बग्यो । (सङ्ग्रौला,२०५६,पृ.११५—११६)

जनयुद्धकालीन घटनालाई आख्यानीकरण गरिएको उपर्युक्त कथाको अंशमा निम्नवर्गीय पात्र शकुन्तलाले दुःख गरेर आफ्ना नानीहरूलाई समेत चाख्न नदिई आमालाई कोसेली लगिदिने भनेर घोटेको कुराउनी सामन्ती वर्गको उत्पीडक पात्र हल्दारले निर्दयी ढङ्गले खाइदिएको छ । यस प्रसङ्गले कथामा श्रमिकको कमाइमाथि बुर्जुवा वर्गको रजाइँ हुने गरेको अवस्थालाई सङ्केत गरी युद्धकालीन अवधिमा पुलिसप्रशासनबाट सर्वसाधारण जनतामाथि भएको ज्यादति र अत्याचारलाई उद्घाटन गरेको छ । यसबाट शक्तिमा हुनेहरूले जहिले पनि निर्बल र निमुखामाथि शोषण गर्ने बुर्जुवा जीवनपद्धतिको वास्तविकता प्रकट भएको छ ।

‘कुराउनीको रित्तो पेरुङ्गो’ कथाकै अर्को सन्दर्भमा चाहिँ उच्च तहका प्रशासकहरूले तल्लो तहका कर्मचारीहरूलाई जबर्जस्ती अपराधी करार गर्ने र त्यसको इमानको दाउका रूपमा आफ्नो पदलाई सुरक्षित गर्ने बुर्जुवा वर्गको कुत्सित संस्कृतिको कमजोरीलाई यसरी प्रस्तुत गरिएको छ ः 

सिडिओले उसलाई डाक्न आज पनि पाले पठायो । आनन्दरामको आङ जिरिङ्ग सिरिङ्ग भयो । उसले टेकेको धर्तीमा फेरि कम्प छुट्यो । र, फेरि उसको सर्वाङ्ग काम्यो । 

“हुँ ! डाँका दलको नामनामेसी खै ल्या’को ?”

“सर, था’ भए न ल्याउनु ।”

“साला, अझ था’ छैन भन्छस् ?” सिडिओ सनक्क सन्क्यो । “डाँका लुक्ने तेरा घराँ । नकाब भिर्ने तेरा घराँ । दलबलसहित निक्लने तेरा घराणी । अझ था’ छैन भन्छस्, साला ?”

आनन्दराम अवाक् अवाक् भयो । आतङ्क र क्रोधले उसको सर्वाङ्ग काम्यो । 

“सुन्, तँलाई मैले सात दिनको म्याद दिएँ । डाँका दलको नाम मलाई चाहिन्छ ।”

“सर, मलाई केही था’ छैन । काँआटी ल्याऊँ म नाउँ ?”

“माटामुनि खोजेर भए पनि तैँले ल्याउनुपर्छ । नत्र याद राख्नू.....”

आनन्दरामले स्वास्नीलाई सिडिओको ध्वाँसबारे सुनाइसक्यो । र, दुई हत्केलाले अनुहार छोपेर लामो सुस्केरा हाल्यो ।....

आनन्दरामले सशङ्कित आँखा फारेर चारैतिर हे¥यो । र, देख्यो— चारै दिशाबाट मान्छे खान पल्केका भोका चितुवाले आफूलाई गाँजिरहेछन् । कुन बेला हो थाहा छैन ।.... र, अब खोर भत्काएर ज्यान जोगाउन भित्तामा टाउको ठोक्नुबाहेक अर्को उपाय केही रहेन । र, ऊ कडरिया जेठानको पार्टीका पाइला पछ्याउँदै वनतिर लाग्यो । (सङ्ग्रौला,२०५६,पृ.११८—१२०)

उपर्युृृक्त सन्दर्भमा कार्यालमा खरिदार पदमा कार्यरत आनन्दरामलाई उसको घरमा टाढाको जेठान नाता पर्ने कडरिया थरको माओवादी कार्यकर्ता एकपटक आएको सूचनाका आधारमा सिडिओले उसलाई विद्रोही पार्टीको सुराकीका रूपमा हेरेको छ । त्यसैले ऊ निर्दोष आनन्दरामलाई अपराधी करार गर्ने कार्यमा जुटेको देखिन्छ । यसरी निर्दोष व्यक्तिलाई शक्तिका आडमा अपराधी साबित गर्ने सिडिओका क्रियाकलाप, बोलीका शब्द र भङ्गिमा तथा तल्लो तहको भएकै कारण आफ्नो मातहतको राष्ट्रसेवक कर्मचारीलाई ‘साला, तँ’ भनेर गरेको दुव्र्यवहारबाट बुर्जुवा संस्कृतिको वास्तविकता प्रकट भएको छ । यही मरणोन्मुख सांस्कृतिक चिन्तनका कारण एकातिर आनन्दरामलाई विद्रोही भएर जङ्गलतिर हिँड्न बाध्य बनाएको छ भने अर्कातिर सिडिओलाई आफ्नो पदीय दायित्व उचित तरिकाले निर्वाह गरेको भ्रम सँगाल्न मद्दत पनि गरेको छ । प्रशासनका पक्षबाट भएका यस्ता हल्का क्रियाकलापका जानकार जनताले गरेको निम्नलिखित टिप्पणीले चाहिँ बुर्जुवा संस्कृतिको कमजोरीलाई सङ्केत गरेको पाइन्छ ः “सदरमुकामका कतिपय मानिसहरूले चनाखो हुँदै सासले साउती गरे— हेर है, सिडिओ सापको पराक्रमले अर्को एउटा माओवादी जन्मायो” (सङ्ग्रौला,२०५६,पृ.१२०) ।

जनयुद्धकालीन परिवेशमा रचिएको उपर्युक्त कथा उत्पीडित पात्रप्रतिको कथयिताको सहानुभूतिपूर्ण पक्षधरता र वातावरण चित्रणको संवेदनशीलताले पतनशील बुर्जुवा जीवनपद्धति र संस्कृतिको वास्तविकता र कमजोरीलाई सुन्दर ढङ्गले उद्घाटन गर्न सफल भएको छ । 

शोषण र उत्पीडन चरम अवस्थामा पुगेको सामन्ती सत्ताको विरोध गरी सर्वहारा वर्गको मुक्तिको पक्षपोषण गरिएको मातृका पोखरेलको ‘उज्यालोतिर’ कथामा महिलाहरूलाई यौनतृप्तिको साधन मात्र बनाउने बुर्जुवा संस्कृतिको चित्रण यसरी भएको छ ः 

‘यो पसलमा चिया पाइन्छ ?’ एउटा कुनै सैनिकले सोधेको थियो । ‘चिया मात्र होइन, धेरै कुरा पाइन्छ जस्तो छ !’ माइलीसँग जिस्कने आशयले अर्को सैनिक पछिल्तिरबाट सानो स्वरमा बोलेको सुनियो ।

‘पाइँदैन !’ यी दुष्टहरूको जमातलाई ख्वाउनुभन्दा छैन भनेरै टारिदिन्छु । उसले मनमनै सोचेर यस्तो उत्तर दिई । ‘यहाँ दुध छ त ! किन चिया छैन भनिस् ?’ अर्को एउटा चटपटे सैनिक कुल्र्यो ।

‘यति धेरै मानिसलाई त्यति दुधले कसरी पुग्छ ?’ ओठमा झुन्डिएझैँ उसले जबाफ फर्काई ।

‘त्यही दूधमा पानी थपेर बनाए भइहाल्छ नि !’ अगाडि उभिएको सैनिकले आदेशको शैलीमा बोल्यो । 

(पोखरेल,२०७४,पृ.२१७) 

उपर्युक्त कथामा तत्कालीन नेकपा (माओवादी) र सरकारको द्वन्द्वका बेलामा एकाबिहानै माओवादी भएको अभियोगमा एकजना सर्वसाधारण नागरिकलाई गिरफ्तार गरेर चिया पसलमा आइपुगेका सैनिकसँग भएको माइलीको संवाद प्रस्तुत छ, जसमा सैनिकहरूको महिलालाई हेर्ने कमजोर दृष्टिकोण र उनीहरूको आदेशात्मक सामन्ती चिन्तन प्रकट भएको छ । ‘यहाँ धेरै कुरा पाइन्छ जस्तो छ’ भन्ने अभिव्यक्तिले सैनिकको चियापसल्नी माइलीलाई भोग्ने चाहना र उसलाई यौनकर्मीका रूपमा हेरेको प्रस्ट देखिन्छ । पसल थापेर पनि उसले उनीहरूलाई चिया ख्वाउन नचाहेकी माइली कटारी–ओखलढुङ्गा सडकखण्डको निर्माणमा संलग्न सिपाहीको छोराकी आमा भएर समाजबाट अपहेलित भई एक्लै जीवननिर्वाह गरिरहेकी पात्र हो । सडकनिर्माण सम्पन्न भएपछि सरुवा भएर गएको उसको लोग्नेले त्यसपछिका दस वर्षसम्म उसको कुनै खोजी गरेको देखिँदैन । यसबाट पनि बुर्जुवा सत्ताका पहरेदार ठानिएका सिपाहीहरू महिलालाई मनोरञ्जनको साधन मात्र मान्ने पतनशील सांस्कृतिक चिन्तनबाट रुग्ण बनेको प्रस्ट हुन्छ । यसरी हेर्दा प्रस्तुत कथा यौन उत्पीडन खपेकी पात्र माइलीप्रतिको कथयिताको सहानुभूतिपूर्ण पक्षधरता र सैनिकहरूको यौनशोषण एवम् नागरिकप्रतिको अमानवीय प्रताडनायुक्त चरित्र चित्रण गरेर बुर्जुवा संस्कृतिको वास्तविकताप्रति आलोचनात्मक दृष्टि दिन सफल भएको छ ।

समकालीन नेपाली कथाले समाजमा प्रभुत्वमा रहेको वर्गको हितलाई टेवा पु¥याउने बुर्जुवा जीवनपद्धति र संस्कृतिको वस्तुगत आलोचना गरेर वर्गीयतालाई प्रभावकारी रूपमा प्रस्तुत गरेका छन् । तिनमा उत्पीडित वर्गका पात्रहरूले गरेको पीडाबोध र त्यसले सिर्जना गरिरहेको प्रतिरोधी चेतनाका कारण त्यस्तो बुर्जुवा पद्धति पतनोन्मुख भएको पनि सङ्केत भएको छ । दिल साहनी, हरिहर खनाल, देविका तिमल्सिना, पुण्य कार्की, हरिमाया भेटवाल, कमला पराजुली, गायत्री बिष्ट आदि कथाकारका कथामा यस्तो प्रवृत्ति प्रबल रहेको छ ।

४.२  बुर्जुवा जीवनपद्धतिको असङ्गति र समाजको विकासमा बाधक बनेको त्यसको स्वरूपको उद्घाटन

समाजको वर्गीय स्वरूपअनुसार नै कलासाहित्यले निश्चित विचारधारामार्फत बुर्जुवा जीवनपद्धतिको असङ्गतिको चित्रण गरेको हुन्छ । यसले समाजको समग्र विकासमा सिर्जना गरेको अवरोधको प्रतिवाद र सर्वहारा वर्गको हितलाई केन्द्रमा राखेर समाजलाई अघि बढाउने उद्देश्य राखेको हुन्छ । बुर्जुवा जीवनपद्धतिको असङ्गतिको चित्रण गरिएका समकालीन नेपाली कथाहरूमध्ये नारायण ढकालको ‘जगन्नाथ माड्साबको पर्खाल’ कथामा चाहिँ गाउँभरिका ठुला घर बनाउने बालुवा बोकेर जीवन बिताएको श्रमिक कान्छो नेपाली आफू भने पाटीमा बस्नुपरेको अवस्था  चित्रण गरेर त्यस्तो असमान र अन्यायपूर्ण जीवनपद्धतिप्रति व्यङ्ग्य गरिएको छ । कान्छो र भट्टी पसल्नी सन्तिनीका बिचको संवादबाट यस्तो असङ्गति प्रबल रूपमा उद्घाटन भएको छ ः

“के साँच्चै सबै बराबर हुन्छन् त कान्छा ? हाम्रो दुःख हट्छ त ? पुलिस र गुन्डा आएर पैसा नतिरी खाँदैनन् त अब ? के रेडियो टिबीले नयाँ नेपाल ल्याउने भन्या यै हो त ?”

“हो, बल्ल बुझिछौ । संविधानसभाको चुनाउपछि सबै कुरा ठिक ठाउँमा आउँछन् ।” (ढकाल,२०७१,पृ.४)

यसमा २०६२–६३ सालको लोकतान्त्रिक आन्दालेनपछि सर्वहारा वर्गको मुक्तिका पक्षमा लडेको क्रान्तिकारी पार्टी चुनावी प्रक्रियामा आइसकेपछिका जनअपेक्षाको वास्तविकता प्रकट भएको छ । यसले एकातिर शक्तिका आडमा पुलिस र गुन्डाबाट शोषणको ज्यादती सहनुपरेको तत्कालीन सामाजिक असङ्गति चित्रण गरेको छ भने अर्कातिर जनताले त्यस्तो विकृत जीवनपद्धतिको अन्त्य चाहेको कुरालाई पनि सङ्केत गरको छ । यसका साथै प्रस्तुत कथाको अन्त्यमा जगन्नाथ माड्साबले आफ्नो घर र जग्गालाई पर्खालले घेरेर आफूलाई अरुको पहुँचभन्दा बाहिर राखेर विशिष्ट पहिचान बनाउन खोजेको सन्दर्भ यस कथामा यसरी प्रकट भएको छ ः 

“तैँले भन्या हैनस् ? बेक्तिको सम्पत्ति मास्ने रे भनेर ? मलाई त कत्ति पनि विश्वास छैन यस्मा,” सन्तिनीले भनी ।

“यो त जगन्नाथ माड्साबले भनेका हुन् । उनी झुटो बोल्दैनन् । म यस्मा ज्यानको बाजी थाप्न सक्छु ।”

“तेसो भए किन उनले आफ्नो  घर घेर्न पर्खाल लगाएका त ? उनलाई सच्चा कम्युनिस्ट व्यवस्था आउँछ भन्ने विश्वास भए किन यस्तो गर्थे ?” मानबहादुरले थप्यो । सन्तिनीसँगै बाँकी सबैले टाउको हल्लाए । कान्छो नेपाली एक्लियो । 

“म आजै सोध्छु माड्साबलाई यो कुरा, यो कुरोतिर त मेरो ध्यानै गएको थिएन । बालुवा बोक्ने म मुर्दारलाई यस्तो गहिरो कुरा के थाहा †” (ढकाल,२०७१,पृ.९) । 

यस प्रकार आफैँ वर्गीय समानताका निम्ति युद्ध लडेको पात्र जगन्नाथप्रतिको जनविश्वास चित्रण गरिएको उपर्युक्त कथांशमा व्यक्तिको बोली र व्यवहारमा टड्कारो भिन्नता रहेको बुर्जुवा जीवनपद्धतिको असङ्गति पात्रका स्वाभाविक जिज्ञासाका माध्यमबाट प्रकट भएको छ । जगन्नाथ माड्साबसँग त्यही कुरा सोध्न भनेर राति भट्टीमा मातेर गएको कान्छो नेपाली फलामे ढोका हालेको पर्खालभित्र आफ्नो आवाजसमेत पु¥याउन नसकी पुसको ठिहीमा कठ्याङ्ग्रिएर मरेको छ । उपर्युक्त सन्दर्भबाट यहाँका आमनागरिकका आवाजहरू सत्तासम्म सजिलै पुग्ने परिस्थिति अन्त्य हुँदै गएको समकालीन अवस्थालाई ‘जगन्नाथ माडसाबको पर्खाल’ कथाले प्रतीकात्मकता प्रदान गरेर बुर्जुवा जीवनपद्धतिको कुरूपता प्रभावकारी रूपले उद्घाटन भएको छ ।

त्यसै गरी खगेन्द्र सङ्ग्रौलाको ‘हृदयरामको डायरी’ कथामा चाहिँ धार्मिक क्षेत्रमा परेको बहाना बनाएर ऐलानी जग्गामा रहेको सुकुम्वासी बस्तीलाई त्यहाँबाट हटाएको नेताले नै उक्त जग्गामा आफूले महल ठड्याएको प्रसङ्ग चित्रण गरेर नेता र हुनेखानेहरूले राज्यशक्तिको आडमा गरिबहरूको बास उठाउने गरेको समकालीन बुर्जुवा जीवनपद्धतिको असङ्गतिलाई सुन्दर तरिकाले देखाएको छ । त्यस्तै, गाउँमा नापी आएको बेला नेताको जग्गा कमाएको मोहीलाई खाली हात पन्छाउने आदेश पाएका पार्टीका कार्यकर्ताले सो जिम्मेवारी पूरा गर्न नसक्दा कोर्रा खानुपरेको यस कथाको सन्दर्भले पनि बुर्जुवा जीवनपद्धति अवलम्बन गरेका कम्युनिस्ट नामधारी नेता र कार्यकर्ताको धज्जी उडाएको छ । क्रान्तिका बेला आफूलाई आश्रय दिएको मगर कान्छालाई नेताले नै बेघर बनाएको तथा श्रमजीवी पात्र मगन्ते भएर हिँड्नुपरेको र शोषकचाहिँ पजेरोमा चढेर हिँड्ने गरेको सन्दर्भबाट पनि यस कथामा बुर्जुवा जीवनपद्धतिको असङ्गतिको प्रकटीकरण झन् सघन बनेको छ ।

असमानता र विभेदमा आधारित नेपालको सामाजिक जीवनपद्धतिबाट प्रत्यक्ष रूपले मारमा परेका कर्नालीवासीका पीडालाई आख्यानीकरण गरिएको नवीन विभासको ‘औल्याल ! हाम्रो फोटो नखिच’ कथामा बुर्जुवा जीवन पद्धतिको असङ्गतिलाई यसरी चित्रण गरिएको छ ः

कर्मचारीले रक्सी खाने होटलवालासहित सांसद, सिडिओ, एलडिओ, कार्यालयका हाकिम, दलका नेता, हुनेखानेका सिफारिसवालालाई चामल दिइसकेपछि आज पनि खाद्य गोदाम बन्द भएको थियो । खार्पू, श्रीनगर, दार्म, मेलछाम, राहदेउबाट चारपाँच दिन पैदल हिँडेर सिमकोट पुगेका सर्वसाधारण आज पनि दिनभर लाइन लागे । अन्तमा, खाद्य कर्मचारीलाई धारेहात लाए । नारा लाए । र, रित्तै फर्के ।

‘खाली लइनै । खाद्या चावल लिन्या लइनै । नुन लिन्या लइनै ।... हामी झनाझुल्टालइ नदिन्या । हेप्नेचेप्ने । पुलिस लाउन्या र हान्याँ । अलानो गन्र्या । ठुलालाई दिन्या । हामीकन नदिन्या’ भन्दै धारेहात लाउँदै रित्ता थैलासित गाउँले सिकोटमा अलप भएका थिए ।

 (विभास,२०७३,पृ.३१७—३१८)

यसमा सरकारी नियमअनुसार सर्वसाधारणले महिनामा तिस किलो चामल किन्न पाउने भए पनि खाद्य संस्थानका कर्मचारीले पहुँचवालालाई पहिले बाँडेपछि दिनभर लाइन बसेका सर्वसाधारणलाई रित्तै फर्काएको वास्तविकताप्रतिको आक्रोश अभिव्यक्त भएको छ । सरकारी पक्षबाटै हुने गरेको विभेदपूर्ण व्यवहारबाट यहाँ बुर्जुवा जीवनपद्धतिको असङ्गति मौलाउँदै रहेको र त्यसबाट जनता झन् प्रताडित बन्दै गएको तथ्य उद्घाटन भएको छ । 

सामाजिक चेतनाको एउटा रूप मानिएको साहित्यको आप्mनै विशिष्ट स्वरूप र भूमिका भए पनि यसको नेतृत्वचाहिँ वर्गीय राजनीतिले नै गरेको हुन्छ । त्यसैले समाजको वर्गीय स्वरूपका कारण सिर्जना हुने असङ्गत जीवनपद्धति र समाजको विकासमा त्यसले सिर्जना गरेको अवरोधको चित्रणलाई साहित्यले केन्द्रमा राखेको हुन्छ । समाजमा समानता र न्याय स्थापना गर्ने प्रगतिशीलतातर्फको विकासमा बाधक बनेको बुर्जुवा जीवनपद्धतिको सार देखाउने क्रममा ‘जगन्नाथ माडसाबको पर्खाल’ कथामा  सर्वहारा पार्टीको सरकारले वर्गीय असमानता अन्त्य गर्छ भन्ने विश्वासमा बाँचेको श्रमिक कान्छो नेपाली वास्तविकता बुझ्न खोज्दाखोज्दै कठ्याङ्ग्रिएर मरेको देखिन्छ । यसबाट सत्ताले भ्रममा राखेको निम्नवर्गका आवाज सधैँ पर्खालबाहिरै रहेको र उच्चवर्ग निसङ्कोच निदाएको अभिनय गरिरहेको समकालीन यथार्थ प्रस्तुत गरेर नेपाली समाजलाई अग्रगमनतर्फ बढ्न नदिने विकासको प्रमुख अवरोध बुर्जुवा जीवनपद्धति नै रहेको कुरालाई यस कथाले कलात्मकतासहित प्रकट गर्न सकेको छ । त्यसै गरी ‘हृदयरामको डायरी’ कथाले पनि क्रान्तिकारी श्रमिकवर्गको प्रतिनिधि पात्रले वृद्धावस्थामा मगन्ते भएर जीवननिर्वाह गर्नुपरेको र उनीहरूको उठिवास लगाउने सर्वहारा पार्टीकै नेताचाहिँ पजेरो चढ्ने हैसियतामा पुगेको प्रसङ्गबाट चुलिँदै गएको वर्गीय विभेदका कारण नेपाली समाज विकास र समृद्धितर्फ अघि बढ्न नसकेको तथ्य उद्घाटन गरेको छ । ‘औल्याल ! हाम्रो फोटो नखिच’ कथामा चाहिँ विकासको वाधक बनेको कर्मचारीवर्ग बुर्जुवा जीवनपद्धतिको सोचलाई कसरी निरन्तरता दिइरहेका छन् भन्ने तथ्यलाई यसरी पुष्टि गरिएको छ ः 

बिजुलीका खम्बा उनको घरको गारोसित टाँसिएर उभिए पनि तार भने घरभित्र पसेको थिएन । बिजुलीका तार पसेका घरमध्ये एउटा थियो, सिडिओ कार्यालय । अरु थिए, ब्यारेक र पुलिस थाना । बाँकी घर थिए— राजनीतिक दल नेताका, विकासे संस्थाका कार्यालय र तिनका हामिकका र स्थानीय राजाका ।.... 

‘यसपालि पाँचमा जाने हो तर गन । मास्टर भन्दा छन्, तिम्मो घर बत्ती नाइ । यो घोक्दैन भनी फइल गरायाछन् । दलित र दाल्दलई उँभो लाग्न्या ठाउँ नाइ । फइल बनाइदिया ।’ (विभास,२०७३,पृ.३१६—३२०)

यसमा विकासका प्रतिफलहरू तलसम्म पुग्नै नदिने बुर्जुवा पद्धतिकै कारण गरिब सीमान्तकृत वर्ग सेवा, शिक्षा, स्वास्थ्य, सुरक्षा आदि आधारभूत अधिकारबाट समेत वञ्चित रहेकाले समाज विकासको गति अवरुद्ध हुँदै गएको वास्तविकता चित्रित छ । यसरी वञ्चितीकरणको पीडा प्रस्तुतिको माध्यम बनेको पात्रअनुकूलको आञ्चलिक भाषा र तृतीय पुरुष कथयिताको चयन कथाको सार प्रस्तुतिमा प्रभावकारी बनेको छ ।

 बुर्जुवा जीवनपद्धतिको असङ्गत चरित्रका कारण श्रमिक वर्ग आप्mनो श्रम, परिवार र मानवीय स्वभावबाट समेत पलायन हुँदै एक्लो र निरर्थक जीवन जिउन विवश हुँदै गएको अवस्थालाई समकालीन नेपाली कथाले केन्द्रमा राखेका छन् भने विशेष गरी वर्गीय मुक्तिका लागि समाज र जीवनप्रतिका सर्वहारा वर्गीय दृष्टिकोणलाई आत्मसात् गरिएका कथाहरू बुर्जुवा जीवनपद्धतिको स्वरूप उद्घाटन गर्न सक्षम रहेका छन् । ऋषिराज बराल, प्रदीप नेपाल, राजव, भास्कर, अभय श्रेष्ठ, इन्द्रकुमार श्रेष्ठ सरित् आदिका कथामा यस्तो प्रवृत्ति प्रबल रूपमा प्रकट भएको छ ।

४.३  बुर्जवावर्गको सांस्कृतिक र राजनीतिक प्रभुत्वको विघटन हुने प्रक्रिया र ध्वंस गर्ने तरिका

साहित्य सामाजिक जीवनका क्रियाकलापहरूबाट पृथक् रहँदैन  बरु त्यसमै सक्रिय रहेर गम्भीरताका साथ न्यायपूर्ण र भौतिक आदर्शहरूको स्थापनामा क्रियाशील हुन्छ । यसमा व्यक्तिका अनुभवका साथै समाजप्रतिको विचारको केन्द्रीय पक्ष पनि व्यक्त हुने भएकाले लेखकले आफ्ना रचनामा अभिव्यक्त गर्ने दृष्टिकोणमा वर्गीय आग्रह रहन्छ नै । त्यसैले सचेत लेखक आफ्नो समकालीन समाजमा विद्यमान बुर्जवावर्गको सांस्कृतिक र राजनीतिक प्रभुत्वको अवस्था, त्यसको विघटनको सम्भावना र त्यसलाई ध्वंस गर्ने तरिकाहरूको वर्णन र सङ्केततर्फ केन्द्रित हुन्छ । बुर्जुवावर्गको चरम शोषणमा पिल्सिएका सर्वहारावर्गमा त्यसबाट मुक्त हुने उपायका लागि जोड दिइएका समकालीन नेपाली कथामा यस्तो प्रवृत्ति बढी पाइन्छ । सर्वहाराहरूले सामन्ती शोषणबाट मुक्त हुनका लागि विद्रोह रोज्न थालेको सङ्केत गरिएको ऋषिराज बरालको ‘खत्रीबालाई आजभोलि निद्रा लाग्दैन’ कथामा अठार वर्ष प्रधानपञ्च भएर आफ्नो रबाफ कायम राखेको खत्रीबाको सामाजिक र राजनीतिक प्रभुत्व सर्वहाराहरू वर्गीय रूपले सङ्गठित हुँदै गएपछि कमजोर हुन थालेको परिवेश चित्रण गरिएको छ । खत्रीबालाई विद्रोहीको चिठी प्राप्त हुनु, ऊ आफैँले गाउँको स्कुलमा ल्याएर राखेका प्रहरीले उसको हराएको नोकर रामे र कुकुरको पत्तो लगाउन नसक्नु आदि घटनाक्रमसँगै अगाडि बढेको प्रस्तुत कथामा नोकरहरू एकएक गर्दै विद्रोही शक्तिसँग सामेल भएसँग आफ्नो प्रभुत्व समाप्त हुन थालेपछि खत्रीबाले निद्रा हराएको अवस्थाको वर्णनबाट मानसिक र भौतिक रूपबाट उसको सामाजिक र राजनीतिक प्रभुत्व कमजोर बन्दै गएको सङ्केत भएको छ । बरालकै ‘पैयुँ फुल्न थालेपछि’ कथामा चाहिँ बुर्जुवा राज्यसत्ताको राजनीतिक प्रभुत्वको विघटन हुने प्रक्रियाका साथै त्यसलाई ध्वंस गर्ने तरिकाको वर्णन यसरी गरिएको छ :

दुश्मनलाई चकित पार्न जनमुक्ति सेनाले अनाहकमा हमलाको योजना तयार पारी आफूलाई पूर्वतिर मार्च गराइसकेको थियो । गाउँलाई पनि नयाँ किसिमले तयार पारिसकेको थियो । 

“दुश्मनलाई खाली हात फर्काएर गाउँ खाली गर्ने निर्णय गरियो काकु ।” एरिया सेक्रेटरीको कुरा सुनेर बुढाले मुन्टो बटारे ।....

“चुपो लाग कामरेड । भन्नचाहिँ गाउँलेलाई सशस्त्र पार्ने भन्ने फेरि सरक्क हिँड्ने, के कुरा हो यो ?”....

“दुश्मनविरुद्ध लड्न  जनताले हतियारको माग गरे । पार्टीले दुश्मनविरुद्ध नयाँ किसिमले प्रतिरोध गर्न जनतालाई सशस्त्र पार्ने अभियान चलायो । यसै क्रममा निश्चित क्षेत्र, समय, उमेर र नाम सङ्कलन गरियो । यसैका आधारमा जनतालाई हातहतियारको सामान्य जानकारीका साथै एम्बुस, माइनिङलगायत शारीरिक प्रशिक्षण पनि दिइएको थियो ।” (बराल,२०६३,पृ.३५) 

बुर्जुवा सत्ताका पहरेदार मानिएका प्रहरी र सैनिकलाई दुश्मनको संज्ञा दिएको उपर्युक्त कथांशमा सर्वहाराको मुक्तिका लागि जनताद्वारा छेडिएको सशस्त्र युद्धकालीन परिवेश चित्रित छ । यस कथामा युद्धकै क्रममा दुश्मनद्वारा विद्रोहीको आरोपमा गाउँमा आगजनी गर्दै सुत्केरी, नवजात शिशु र अपाङ्गता भएको युवकलगायत झन्डै एक दर्जन सर्वसाधारण नागरिकको हत्या गरेपछि विद्रोही पक्षबाट दुश्मनविरुद्ध प्रतिरोध गर्न जनतालाई सशस्त्र पार्ने अभियान चलाइएको बताइएको छ । यसबाट कथामा एकातिर मानसिक रूपले नै राज्यसत्ताको राजनीतिक प्रभुत्व कमजोर हुँदै गएको सङ्केत गरिएको छ भने अर्कातिर त्यसलाई ध्वंस गर्नका लागि सर्वसाधारण जनताले पनि हतियार उठाउनै पर्ने सशस्त्र सङ्घर्षको तरिका बताइएको छ । यही तरिकाअनुसार नै युद्धमा आफ्ना तीन सन्तान गुमाएको र सरकारी सेनाको ज्यादती खपेको कथाको पात्र शहीद बाले गाउँ सर्च गर्दै हिँडेको सरकारी सेनामाथि ग्रिनेट प्रहार गरेको हो (पृ.३६) । त्यसै गरी जनक्रान्तिको समयलाई किसानको असारका रूपमा लिइएको नवीन विभासको ‘असार’ कथामा चाहिँ वर्गीय एकता सहितको सङ्घर्षलाई बुर्जुवावर्गको रााजनीतिक प्रभुत्व समाप्त पार्ने तरिकाका रूपमा लिइएको छ, जस्तै ः 

खेतमै बैठक छ आज । सबैले दिल खोलेर आआफ्ना तर्क राखिरहेका छन् । कहिल्यै नबोल्ने ओठहरू नि आज फरर खुलेका छन् । सधैँ बाँझा बोटहरू नि आज सिरुरु फलेका छन् । कार्यक्रमको माझमाझमा पुगेका बेला घारीघरे मैते जुरुक्क उठेर बोल्न सुरु ग¥यो— 

“एउटै पीडामा दुख्नेहरू आब मिल्नुपर्छ,.... आआफैँ हानामारा गरेर हुँदैन ।”....

“... शतुर बैरीहरू एक गठ भैसके, तमीहरू कोइ पूर्व फर्क कोइ पच्छिउ ! गोपिरामेको नि गल्ती ता होला ! ऊ भग्वान ता होइन नि ! गल्तीहरू सच्याउँदै जान पर्छ । यिसमा उसको पनि भूल होला तर सप्पै बेठिक छैन । मै मात्तै सच्चा भनेर हुँदैन, आब । आब ता व्यवहार चाइयो । भोट र भाषणले हुने भए यत्रो दस कम तीन बिसको उम्मिरतक खे के भयो ?” 

(विभास,२०५७,पृ.४—५)

अभिधार्थमा गरिबहरूबिचमा एकता हुनुपर्ने कुरा बताइएको उपर्युक्त कथांशमा एउटै राजनीतिक उद्देश्य लिएर हिँडेको हुँदाहुँदै पनि आपसी फुटका कारण टुक्राटुक्रा भएका कम्युनिस्ट पार्टीका बिचको एकताको आवश्यकतालाई पनि सङ्केत गरेर चुनावी प्रक्रियाबाट सर्वहारावर्गका समस्या समाधान नहुने र अधिकार स्थापित गर्न नसकिने तर्क प्रस्तुत गरिएको छ । यसबाट सर्वहाराको हितका लागि बुर्जुवावर्गको राजनीतिक प्रभुत्वलाई विघटन गर्न वर्गीय एकतासहितको सशस्त्र सङ्घर्षलाई नै निर्विकल्प ठहर्‍याइएको छ । 

उपर्युक्त उद्धृत कथामध्ये ऋषिराज बरालको ‘पैयुँ  फुल्न थालेपछि’ कथा तृतीय पुरुष कथयिताको वर्णन र पात्रका संवादका माध्यमबाट घटना र परिवेशको उचित संयोजन गर्दै कथाभित्रै कथा भन्ने अधिआख्यानको शिल्पमार्फत यथार्थको अनुभूति गराउँदै कलात्मक प्रभावसहित सर्वहारावर्गीय दृष्टिकोण प्रस्तुत गर्न सफल भएको छ । नवीन विभासको ‘असार’ कथाचाहिँ परिस्थितिअनुकूल पात्रका चरित्रको स्वाभाविक विकासलाई तृतीय पुरुष कथयिताको वर्णनले पाठकमा सर्वदर्शी प्रभाव छाडेको छ भने स्थानीय रङको सुन्दर प्रयोगबाट कथाले सामाजिक एवम् सांस्कृतिक परिवेशको जीवन्तता सिर्जना गरेको छ तर रोल्पाली भाषिकाले गर्दा पठनबोधमा भने जटिलता पनि थपेको छ ।

यसप्रकार वर्गीय समाजमा सर्वहारावर्ग चेतनशील हुँदै जाँदा बुर्जुवावर्गको सांस्कृतिक  र राजनीतिक प्रभुत्व विघटन हुने प्रक्रिया सुरु भएको सङ्केत गरिएका समकालीन नेपाली कथाहरूले वर्गसङ्घर्षबाट मात्रै बुर्जुवावर्गको प्रभुत्वलाई ध्वस्त पार्न सकिने चिन्तन प्रस्तुत गरेका छन् । यस दृष्टिकोणबाट खगेन्द्र सङ्ग्रौला, इस्माली, हरिहर खनाल, घनश्याम ढकाल आदिका कथा प्रभावकारी रहेका छन् ।

४.४  सामाजिक सम्बन्धहरूको समग्रतामा सर्वहारको जीवनसङ्घर्षको चित्रण 

सामाजिक सम्बन्धलाई उत्पादनको पुुँजीवादी सम्बन्धका रूपमा हेर्नुपर्ने हुन्छ । उत्पादनअन्तर्गत वस्तु, सेवा र सूचना पनि पर्दछन् । यसलाई पछौटे सामाजिक सम्बन्ध र सामन्ती समाजको पुँजीवादी समाजतर्फको सङ्क्रमण गरी दुबै पक्षबाट हेर्न सकिन्छ । यसका साथै वर्गीय समाजका व्यक्तिहरूका बिचको सम्बन्धका आधारबाट पनि सर्वहाराको जीवनसङ्घर्षको विश्लेषण गर्न सकिन्छ । समकालीन नेपाली कथामा मूलतः सामाजिक सम्बन्धहरूका कारण उत्पीडित सर्वहारावर्गको सङ्घर्षपूर्ण र सङ्कटग्रस्त जीवनयापनमा केन्द्रित हुनुपरेको अवस्था चित्रण गरिएको छ । समकालीन नेपाली समाजमा सर्वहारा श्रमिक र सामन्तका बिचको सम्बन्ध देखाइएको आन्विका गिरीको ‘दाइ त पार्टीको मान्छे हुनुभएछ’ कथामा रूपवती पत्नी भित्र्याएका कारण सामाजिक र प्रशासनिक दुव्र्यवहार खपेको साइकल मर्मत गर्ने दलित पात्र बच्चुप्रतिको वर्गीय दृष्टिकोण यसरी प्रस्तुत भएको छ ः

म चुप लागेको देखेर होला, नाकमा आएको पानी सारीको छेउले पुछ्दै भनिन्, ‘गाविस अध्यक्षले जथाभावी भने । तेरो स्वास्नीसँग म सुत्छु भनेपछि कुनचाहिँ लोग्नेले सुनेर बस्छ ? हामीले कति सहने ? के हामी गरिब छौँ भन्दैमा जहिले पनि सहने ? हाम्रो लागि परिवर्तन भनेको के हो ?’

म स्तब्ध भएँ । अघिसम्मको भाउजूको पीडाको पानी एकैछिनमा रिसको पानीमा बदलिएको थियो । तिनको नाक रिसले फुलेको थियो । तिनका आँखाहरू पनि एकछिनमा यसरी चौडा भएका थिए मानौँ केही जादु भएको छ । तिनले सबिस्तारमा कुरा सुनाइन् । 

(गिरी,२०६६,पृ.८—९)

यसमा सामाजिक र राजनीतिक शक्तिका आडमा गाविस अध्यक्षले आफूलाई रखौटी बनाउन चाहेको अवस्थाप्रति बच्चुकी पत्नी मञ्जुका अभिव्यक्तिहरूले सामन्त र सर्वहारबिचको असङ्गत सामाजिक सम्बन्धको वास्तविकता प्रकट गरेका छन् । त्यसै गरी गाउँलेले बच्चुले मञ्जुलाई अध्यक्षसँग बेच्न थालेको आरोप लगाउनु, बच्चुले अध्यक्षलाई पिट्नु, प्रहरीले बच्चुलाई यातना दिनु, बच्चुको पक्षबाट बोलेकी म पात्रलाई अध्यक्षले हप्काउनु, सिडिओले बच्चु कुनै पार्टीको नभएकाले उक्त केसलाई पार्टीगत गरेर छोड्न नमिल्ने बताउँदै “यी साना जातहरू दुईचार दिन खोरमा जाकिँदैमा केही हुँदैन । दुईचार लाठीले त यिनको बाल पनि बाङ्गो हुँदैन” (गिरी,२०६६,पृ.११) भन्नु, पुलिसको पनि निकै पिटाइ खाएर तीन महिनापछि जेलबाट छुटेको बच्चु गाविस अध्यक्षको हत्या गरेर सशस्त्र विद्रोही पार्टीमा संलग्न भएको पाइनुले पनि यस कथामा सामाजिक सम्बन्धकै कारण सर्वहाराको जीवन सङ्कटमय बन्दै गएको अवस्थालाई प्रस्ट पारेको छ । त्यस्तो सङ्कट र असङ्गत सामाजिक सम्बन्धको अन्त्य वर्गीय स्वरूपमा रहेको सशस्त्र सङ्घर्षबाट मात्र हुन सक्ने तथ्य पनि यस कथाले मार्मिक बनाएर प्रस्तुत गरेको छ । यसका लागि यस कथामा प्रयुक्त वर्गीय दृष्टिकोणसहितको प्रथम पुरुष कथयिताले पात्रप्रति देखाएको अहस्तक्षेपकारी भूमिक झन् प्रभावकारी बनेको देखिन्छ ।

आन्विका गिरीकै ‘राजनीति’ शीर्षकको कथामा चाहिँ सामाजिक सम्बन्धलाई उत्पादनको पुँजीवादी सम्बन्धसँग जोडेर वर्गीयता प्रस्तुत गरिएको छ । नेपाली पत्रकारितामा देखिने राजनीतिक असङ्गति र त्यसबाट सिर्जित संवेदनाहीन परिस्थितिको चित्रण भएको यस कथामा एउटा दैनिक पत्रिकाकी पत्रकारले भारतीय राजदूतलाई आँैला उठाएर प्रश्न सोधेको हुँदा सम्पादकले आपत्ति जनाएको सन्दर्भमा वैयक्तिक मुनाफामा आधारित पुँजीवादी सम्बन्धका कारण नेपालले अप्रत्यक्ष रूपमा भारतको दासत्व स्विकारिरहेको वास्तविकता सङ्केतित छ । त्यसै गरी महिलाहरूको आत्मविश्वास र दृढतालाई मत्थर बनाउनका निम्ति उसको रूप, बोली र व्यवहारको प्रशंसा गर्ने आफ्नै छोरी वा बहिनीजस्तो भन्दै भावनात्मक रूपले कमजोर बनाउने पुँजीवादी समाजको चरित्र यस कथामा यसरी आएको छ ः

‘म खाजा खान जाँदै छु अनि कृपया समाचार म आफैँ आएर लेख्छु ।’ आस्थाका आँखामा पसिनाको होइन, रिसको पानी थियो, जुन सम्पादकले पढ्न सक्थे । 

‘तिमी मेरी बहिनीजस्ती हौ ।’

‘सर, मलाई बहिनीजस्तो होइन, पत्रकारजस्तो व्यवहार गर्नुस् ।’ आस्थाले सम्पादकको आँखामा आँखा राखेपछि सम्पादकले बिस्तारै ‘ओके’ भने । (गिरी,२०६६,पृ.५९)

सम्पादकसँग भएका आस्थाका सबै कुरा सुनेपछि उसकी साथी विद्याले भनेका तलका भनाइले चाहिँ महिलालाई ‘सोपिस’का रूपमा हेर्ने र महिलालाई महिलाकहरूकै समस्यामा मात्र केन्द्रित गर्न चाहने पुँजीवादी सामाजिक सम्बन्धलाई प्रस्टसँग उठाएको छ ः 

‘तँ पत्रकारिता छोड्दे यार ।’

‘किन ?’

‘तँ जहिले पनि कसैकी बहिनी, दिदी, छोरीबाहेक केही हुन्नस् या त ‘सोपिस’ । तेरो सम्पादकले भन्दो होला मैले महिलालाई पनि ठाउँ दे’को छु ।’.... केही हुनेवाला छैन । धेरै गरिस् भने महिलाको बारेमा रिपोर्टिङ गरेको भनेर पुरस्कार पाउलिस् अरु के पाउँछेस् ? महिलाका बारेमा महिलाले धेरै रिपोर्टिङ नगरे कसले गर्छ ? विद्या आइस टी पिएर यत्ति उत्तेजित भई कि मानौँ उसले रक्सी पिएकी होस् । 

‘अहिले नहोला तर एक दिन केही हुन्छ बुझिस् । मेरो पनि दिन आउँछ । म पत्रकार भएर छोड्छु ।’ आस्थाले जोशमा भनी । (गिरी,२०६६,पृ.६३—६४)

उपर्युक्त कथांशको अन्त्यमा आएको आस्थाको जबाफले यस्तो सम्बन्ध सेवा र सूचनाको उत्पादनसँग जोडिने कुराको सङ्केत गरेको छ । यसका साथै उत्पादनकेन्द्री पुँजीवादी समाजको पत्रकारितासँगको सम्बन्धलाई चाहिँ उक्त कथामा यसरी देखाइएको छ ः 

एउटा एक्सक्लुसिभ छ, नेपाली युवाको अफिसमा युवामोर्चाले कुटेकी एउटी केटी छ रे । आस्थाको मोबाइलमा सन्देश प्राप्त भयो । 

नेपाली युवाको अफिसमा पत्रकारको घुइँचो लागेको छ । ठाउँ सानो छ, कुनै व्यवस्थित पात्रकार सम्मेलन थिएन । नेपाली युवा सङ्गठनका कोही देखिँदैनथे । केटी आफ्नो दाजुसँग बसेकी छे । एकएक पत्रकारलाई आफ्नो घाउ देखाउँदै छे, कटीलाई गारो भएको छ, जुन उसको अनुहारबाट देखिन्छ । ढाड खोलेर ब्रासहित उसले घाउ देखाई । एकएक फोटो पत्रकार, क्यामरा पत्रकारले समय लिईलिई फोटो लिए । 

‘तपाईंहरू उसलाई अस्पताल लानुस् न ।’ आस्था पल्लो कोठामा छिरी र सङ्गठनका अध्यक्षलाई भनी । त्यहाँ अर्कै माहोल थियो । पत्रकारका लागि चिसो बाँडिँदै थियो । ओल्लो कोठामा केटीका लागि पानीसमेत थिएन । 

‘पहिला पत्रकारहरूको कुरा त सकियोस् ।’ अध्यक्षले आस्थालाई ध्यान नदिई भन्यो, ‘हामी यो मुद्दालाई चर्काउँछाँै बुझ्नुभो ? त्यसरी पिट्न पाइन्छ त ?’ (गिरी,२०६६,पृ.६३—६४)

युवा सङ्ठनको राजनीतिक स्वार्थ र पत्रकारहरूको पेसागत स्वार्थका कारण युवतीको समयमै उपचार हुन नसकी मृत्युसमेत भएको देखिने उक्त कथामा एकातिर समकालीन नेपाली समाज सेवाकेन्द्री नभई पार्टीगत मुनाफाकेन्द्री राजनीति र पत्रकारितालाई ठाउँ दिइरहेको वास्तविकता उद्घटन भएको छ भने अर्कातिर मान्छेको जीवन र संवेदनामाथि मजाक गरेर मृत्युमा राजनीति गर्ने प्रवृत्तिप्रति व्यङ्ग्य रहेको छ । यसका निम्ति कथामा गरिएको आत्मविश्वासी पात्रचयन, परिवेशअनुरूप चरित्र विकास एवम् कथानकलाई दृश्यात्मक रूपमा विस्तारपूर्वक अगाडि बढाउन प्रयुक्त छोटा वाक्य तार्किक संवादको संयोजन प्रभावकारी बनेको छ ।

पुँजीवादी समाजको वैयक्तिक लाभकेन्द्री चरित्र एवम् अधिक र बजारमा बिकाउ उत्पादनका निम्ति हुने अस्वस्थ प्रतिस्पर्धाको मारमा श्रमिकलगायत सर्वसाधारणहरू पर्ने गरेको यथार्थ चित्रण गर्ने क्रममा समकालीन नेपाली कथाले सामाजिक सम्बन्धहरूको समग्रतालाई अभिव्यञ्जित गरेका छन् । तिनमा पनि सामाजिक सम्बन्धको असमानताका कारण सर्वहारावर्गको जीवन झन् सङ्कटपूर्ण बन्दै गएको अवस्थाप्रतिको व्यङ्ग्य, आक्रोश एवम् सहानुभूतिको प्रस्तुतिबाट वर्गीय चेतना प्रबल बनेको छ भने त्यसैको फलस्वरूप थप सङ्घर्षको आवश्यकताबोध पनि भएको छ । हरिहर खनाल, प्रदीप ज्ञवाली, अनिल श्रेष्ठ, दीपशिखा, कमल निओल आदि कथाकारहरूले आफ्ना कथामा यस्ता समस्याहरूका माध्यमबाट वर्गीयताको अभिव्यक्ति दिएका छन् ।

४.५  सर्वहाराको दृष्टिकोणअनुसार एउटा अधिक मानवीय संसार रचनाको प्रयास

श्रमजीवी वर्गमाथिको आर्थिक, सामाजिक र सांस्कृतिक शोषणरहित एवम् स्वतन्त्रता, समानता र न्यायमा आधारित सुन्दर समाज नै सर्वहाराको दृष्टिकोणअनुसारको बढी मानवीय संसार हो । यस्तो संसार रचनाको सम्बन्ध खासमा शोषक र उत्पीडक वर्गको अधिनायकत्व समाप्त पार्नुसँग गाँसिएको छ । उत्पीडनरहित समाज स्थापनाका निम्ति गरिने वर्गीय सङ्घर्षले केही त्यस्ता आदर्शहरूको पनि निर्माण गरेको हुन्छ, जुन तत्कालीन परिस्थितिका उत्पादन मात्र नभएर त्यो परिस्थितिमा आवश्यक सुधार ल्याउने दिशातर्फ पनि केन्द्रित हुन्छन् । सर्वहारा वर्गविशेषको हितअनुकूल व्यवस्थित रूपले स्थापित गरिएको संसार नै सर्वहारा दृष्टिकोणअनुसारको बढी मानवीय संसार हो । 

श्रमजीवी जनताको सङ्घर्षबाट सामन्ती सत्ता विघटनको प्रक्रिया सुरु भएको परिवेश सिर्जना गरिएका समकालीन नेपाली कथामा यस्तो मानवीय संसार रचनाको प्रयास भएको सन्दर्भ उल्लेख भएको पाइन्छ । सशस्त्र सङ्घर्षबाट समन्ती सत्ता ढलेपछि सर्वहाराका सुखका दिनहरू आएको परिवेश चित्रण गर्ने नवीन विभासको ‘एउटा बुढो रुख’ कथाका निम्नलिखित पङ्क्तिले पनि यसको पुष्टि गरेका छन्, जस्तै :

“कत्ति पिर गर्छौ , ए पुर्नेकी जेई ? हामी रोइकराई बाँचे पनि हाम्रा छोरानातिले यस्तो दुःख नपाऊन् । म ता यी लखे लखिनीहर्लाई देख्दा, यिन्का काम हेर्दा , यिन्का लगन देख्दा क्यै ता पक्का गर्छन्, मानिछु । तम्रो आँखैले देख्या, हाम्रो आँखैले देख्या ता हो नि ! धारपानी पर्धान, बाबै ! तो बलसिङ्ङे । ऊको नाउ सुन्नाकासाठैमा सबै घलघल हुन्थे । तर ऐल हेर तो– रुझ्या बिरालु । केराटीले समेत टेरपुच्छर लाए प ! बरु, कुकुरको पुछाइ होला, तो पर्धानको ता... ।” 

(विभास,२०५७,पृ.८)

उपर्युक्त कथांशमा नौमतीकी आमाले पुर्नेकी आमालाई सशस्त्र सङ्घर्षमा हिँडेका आफ्ना छोराछोरीले आफूहरूको जस्तो उत्पीडन र दु:ख झेल्नुनपर्ने कुरामा विश्वास दिलाउँदै पहिले धार्पानीका पर्धान र बलसिङजस्ता सामन्तको नाम सुन्दा पनि डरले काँप्ने गरिबहरू अहिले शक्तिशाली भएकाले ती सामन्तहरुको सामाजिक र राजनीतिक प्रभुत्व समाप्त भएको बताएकी छ । यसका साथै उसले यही सङ्घर्षबाटै सामन्तीको शासनसत्ता समाप्त भई सर्वहाराका सुखका दिन आउने कुरा उही कथामा यसरी बताएकी छ :

“हेर सुकमालीकी जेई ! ऊ तो बड्डा ऐयार छ नि ! पुर्सा ऐयारको रुख, हो तो रुख सुको भने आन्छ— गरिपको राज । हाम्रा छाप्राँ नि घाम लाग्ने रे । देशका ज्वानहरू, हट्टाकट्टा मान्छेहरू, तो रुख ढाल्न बन्चरो बोकेर, खुर्पा उधाएर, खुक्री बोकेर गैये । मेरो जेई नि ! अस्ति मेरै आँखाले देखेँ । भोकै, नाङ्गै, पानीले निथ्रुक्क भिजेका तर कुरा जात्तिबित्ति नभिज्यिा कुरा ! नहार्‍याकुरा गर्थे । राति आएर राति गैगे.... ।” (विभास,२०५७,पृ.८)

उपर्युृक्त सन्दर्भमा नौमतीकी आमाले सुकमालीकी आमालाई देखाएको पुर्सा ऐयारको बुढो रुख तत्कालीन नेपाली समाजको बुढो र मक्किँदै गएको सामन्ती सत्ता (दरबार)को प्रतीक हो । देशका युवाहरू बन्चरो, खुर्पा, खुकुरी बोकेर त्यो रुख ढाल्न हिँडेको सन्दर्भले यहाँ सशस्त्र सङ्घर्षको आरम्भलाई सङ्केत गरेको छ भने उसले बताएको त्यो रुख ढलेपछि आउने ‘गरिबको राज’ नै यसमा आएको सर्वहाराको दृष्टिकोणअनुसारको बढी मानवीय संसार हो । प्रस्तुत कथामा युवाहरूको सशस्त्र क्रान्तिबाटै यस्तो मानवीय संसार रचना सम्भव भएको सन्दर्भ यसरी आएको छ ः

झन्डै पाँचकम एकबीस वर्षपछि एक बिहान, भाले बास्यो । दिन झुल्केझैँ लाग्यो । उनले हेरिन्— त्यो रुख भुईंमा ढलेको थियो ।.... सल्लाको छेपमा कहिल्यै टाउको उठाउन नपाएका धाइराका बोटहरूझँै वरपर रहेका छाप्राहरू अँध्यारो कोठाबाट निस्केर बाहिर सूर्यलाई हेरेझैँ झललल..., खुल्ला आकाशमा चारैतिर उडिरहेका परेवाहरू... ! कहिल्यै नदेखेको खुल्ला आकाश ! र, त्यै खुल्ला आकाशमा फर्फराइरहेको गरीवहरूको झन्डा ! अनि क्षितिजमा हाँसिरहेका विपनामा अनूदित शहीदका ती सुन्दर सपनाहरू.... !

मानौँ, ठगिखानेहरूको सबैसबै चिज भत्काएर गरिखानेहरूको सुन्दर बिहान आएको छ । 

(विभास,२०५७,पृ.११) 

उपर्युक्त कथांशमा पुर्सा ऐयारको बुढो रुख ढलेपछि त्यसको छायाको ओसमा मक्किँदै गएका छाप्राहरू अँध्यारोबाट बाहिर निस्किएर सूर्यलाई हेरेको भन्ने सन्दर्भबाट सामन्ती शोषणले थिचिएका सर्वहाराहरू मुक्त भएको र श्रम गर्ने वर्गका मानिसको सुखका दिनहरू आएको सङ्केत गरिएको छ । श्रमिक वर्गले स्वतन्त्रतापूर्वक आफ्नो श्रमको उपयोग गर्न पाउने यही संसार नै सर्वहाराको दृष्टिकोणअनुसारको सबैभन्दा बढी मानवीय संसार हो । 

नेपालमा चलेको दसबर्से जनयुद्ध (वि.सं. २०५२—२०६२) को परिवेश र घटनालाई तृतीय पुरुष कथयिताका मूलतः वर्णनात्मक र अंशतः संवादात्मक अभिव्यक्तिबाट आख्यानात्मकता प्रदान गरिएको ‘एउटा बुढो रुख’ कथा स्थानीय भाषिकाको अधिक प्रयोगबाट सम्प्रेषणीयतामा केही अवरोध सिर्जना भए पनि स्थानीय परिवेशको जीवन्त प्रस्तुति, पात्रका चरित्रको स्वाभाविक विकास र सङ्घर्षप्रति विश्वस्त श्रमिक पात्रहरूको मुखरताबाट वर्गीय चेतना प्रस्तुतिमा प्रभावकारी बनेको छ ।

४.६  सर्वहाराको सामाजिक सङ्घर्षको चित्रण गर्दै वर्गीय एकतालाई दरिलो बनाउन र सर्वहारालाई अघि बढाउन गरिने प्रयत्न

वर्गीय समाजका सर्वहारा वर्ग सधँै बुर्जुवावर्गको उत्पीडनबाट मुक्त हुने प्रयत्नमा रहन्छ । शोषणबाट मुक्तिका निम्ति सर्वहारावर्गको एकताबद्ध सङ्घर्ष अत्यावश्यक हुन्छ । ऐतिहासिक विकासका हरेक युगमा यी दुई वर्गका बिचमा सङ्घर्ष चलिरहन्छ । त्यसैले वर्गीय समाजमा प्रत्येक व्यक्ति कुनै न कुनै वर्गसँग आबद्ध हुन्छ र उसको सचिन्तन कि त आफ्नो वर्गीय दृष्टिकोणबाट नियन्त्रित हुन्छ कि त उत्पादन प्रणालीमा प्रमुख स्थान पाएको हुनाले निम्नवर्गमाथि आफ्नो प्रभुत्व स्थापित गरिसकेको वर्गको दृष्टिकोणबाट नियन्त्रित हुन्छ (ग्रेवाल,२०६७,पृ.२४१) । यसरी व्यक्तिको सामाजिक वर्गप्रतिको निश्चित पक्षधरताप्रतिको भूमिकाले नै उसको चेतनाका सीमाहरू निर्धारण गर्छ । यही वर्गीय भूमिकाका आधारमा व्यक्तिले तत्कालीन परिस्थितिमा परिवर्तन ल्याउनका निम्ति गर्नुपर्ने कुराहरूको निक्र्यौल गर्छ । वर्गीय एकताबाट मात्र सामाजिक सङ्घर्षमा विजय प्राप्तिको सम्भावना रहन्छ । समाजप्रति सचेत साहित्यकारले समाजमा रहेका दुई वर्ग मध्ये सबैभन्दा प्रगतिशील दृष्टिकोणलाई आत्मसात् गर्छ ।

सामाजिक राजनीतिक विभेद र उत्पीडनको अन्त्यका निम्ति वर्गीय एकताको आवश्यकताबोध गरेर लेखिएका समकालीन नेपाली कथामा सर्वहाराको सामाजिक सङ्घर्षको जीवन्तता पाइन्छ । उत्पीडित वर्गमा क्रान्तिको चेतना फैलाउनुलाई सर्वहारावर्गको मुक्तिको पहिलो खुड्किलो मानिएको श्याम साहको ‘मुक्तिको आगमन’ कथामा राज्यसत्तामा रहेका नेपाली मातृभाषीहरूबाट तराईका सर्वसाधारण नागरिकमाथि भएको शोषणको चित्रण गरेर सर्वहारावर्गीय सङ्घर्षका पक्षमा अभिव्यक्ति दिइएको छ । यसमा जग्गा किनाइदिने बहाना बनाई आफूले दुःख गरेर कमाएको पैसा प्रधान बाजेले उसको नाममा जग्गा दर्ता गर्नका लागि नागरिकता नभएको बताएर खाइदिएपछि गरिब राम खेलावन निकै मर्कामा परेको देखिन्छ । नेपाली भाषा बोल्न नजानेकै कारण उसको बाबु नेपाली नागरिकताबाट वञ्चित भएको अनि बाबु र बाजेको नागरिकता नभएको तथा कर्मचारीलाई घुस दिन पनि नसकेका कारण राम खेलावनको नागरिकता नबनेको  कुरा कथामा यसरी आएको छ :

प्रधानबाजेले धेरै जोड गरपछि राम खेलावनले त्यो जमिन किन्ने भयो । उसले पैसा सबै भेला पारेर पचास हजार पु¥यायो । त्यो पैसा प्रधानबाजेको सालोलाई बुझाएपछि राम खेलावन ढुक्क भयो । नागरिकता बन्नेबित्तिकै लालपुर्जा लिने कुरा थियो । नागरिकता बन्छ भन्ने कुरामा राम खेलावन ढुक्क थियो किनकि प्रधानबाजेले भनेको थियो । त्यस दिन बिहानै ऊ सदरमुकाम पुगेको थियो । त्यहाँको सचिवले दस हजार मागेपछि राम खेलावन अक्क न बक्क भयो । कहाँबाट ल्याउँथ्यो त्यति पैसा ? ऊसँग भएको सबै पैसा त जग्गामा हालिसकेको थियो । ऊ चुपचाप बाहिर निस्कियो । अनि सचिवले कराएको सुन्यो ।

‘हैन कस्ताकस्ता मान्छे ल्याउनुहुन्छ प्रधानजी तपाईं ? न त बुबाको नागरिकता छ न पैसा दिने औकात !’

‘हैन, बिचराले रहर गरेको थियो हुन्छ कि भनेर । त्यही पूरा गरिदिएको ।’

त्यसपछि दुबै जोडले हाँसेको उसले सुन्यो । उसलाई बल्ल अनुभव भयो । उसलाई षड्यन्त्रमा पारिँदै थियो भनेर । उसले बल्ल बुझ्यो, ऊ ठगिँदै थियो । (साह,२०७१,पृ.७६) 

उपर्युक्त कथामा राम खेलावनले पछि मात्रै आफू ठगिएको थाहा पाएर आफूजस्ता निमुखामाथि भइरहेको अत्याचारको बोध गरेको छ तर पैसा फिर्ता गराउनका लागि चाहिँ बिन्तीबाहेक उसले केही गर्न सकेको देखिँदैन । पञ्चायतमा पनि पैसा दिएको कागज देखाउन भनेपछि ऊ विवश भएर चुप लागेको छ तर पनि ती सबै कुरा थाहा पाएको उसको भाइ मुक्ति भने चुप लागेको छैन । राम खेलावनजस्ता निमुखा सर्वहाराको पक्ष लिएर उसले प्रधानबाजे र उसको मतियार सालोलाई यसरी चुनौती दिएको छ :

राम खेलावनको रुन्चे अनुहार देखेर मुक्ति जुरुक्क उठ्यो र प्रधानबाजेको सालोतिर औँला ठड्याउँदै कराउन थाल्यो, ‘खबरदार, त्यो पैसा सजिलै पचाउन सक्छु भन्ने सम्झनुभएको छ भने त्यो तपाईंको भ्रम हो । त्यो पैसा पचाउन आगोमा बल्नुपर्छ तपाईंले... ।’ 

ऊ आगोझैँ बोलिरहेको थियो । जुँगाको रेखी पनि नबसेको त्यो कलिलो केटो देखेर सारा गाउँलेहरू अवाक् हुन पुगे । (साह,२०७१,पृ.७७)

उपर्युक्त कथांशले सर्वहारा वर्गले नेपाली समाजमा गर्नुपरेको सङ्घर्षको चित्रण गर्दै शोषणले सीमा नाघ्दै गएको परिवेशमा नयाँ पुस्ताचाहिँ आफ्नो हक र अधिकारप्रति सचेत हुँदै पुँजीपतिसँग जुध्न तयार रहेको तथ्य सङ्केत गरेको छ । यस्तो शोषणको अन्त्य र सर्वहारावर्गको मुक्तिका लागि भने वर्गीय एकतासहितको सशस्त्र सङ्घर्ष नै निर्विकल्प रहेको कुरा यस कथामा स्विकारिएको छ । प्रधानबाजेबाट आफ्नौ पैसा फिर्ता नपाएको सन्दर्भमा मुक्ति र राम खेलावनका तलका संवादले यसलाई स्पष्ट पारेको छ ः

‘चिन्ता गरेर केही फाइदा हुँदैन । मागेर त भिख मात्र पाइन्छ, कमाइ होइन । अब खोस्न सिक्नुपर्छ ।.... 

‘छोड्दे भाइ, उसको लाठी उसको भैँस । हामी केही गर्न सक्दैनौ ।’....

‘होइन दाइ, उनीहरूलाई त्यसै छोड्नुहुँदैन ।’

‘के गर्छस् त ?’

‘म माओवादीमा जाँदै छु ।’.... मेरो नाम पुलिस लिस्टमा परिसकेको छ ।.... हामी आजै राति हिँड्नुपर्छ ।.... मेरो चिन्ता नलिनू । सके फर्किनेछु । सकिनँ भने पनि मजस्ता धेरै मुक्तिहरू फर्किनेछन् ।’ 

(साह,२०७१,पृ.७८—७९)

गाउँमा शोषकबाट उन्मुक्तिका निम्ति तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको युद्धमा जाने मुक्तिको यस्तो निर्णयले वर्गीय एकतालाई दह्रिलो बनाएर सर्वहारालाई अगाडि ल्याउन एउटा स्पष्ट विकल्प दिएको र त्यस्तो प्रयत्न नेपाली समाजअनुकूल रहेको तथ्य यस कथाले उद्घाटन गरेको छ । सशस्त्र द्वन्द्वका क्रममा मुक्ति मारिएपछि उक्त कथाको अन्तिममा राम खेलावन र ऊजस्ता सर्वहारावर्गका नागरिकलाई नागरिकता दिलाउनका लागि सहयोग गर्ने र त्यस क्रममा हुन सक्ने प्रशासनिक चलखेलप्रति सचेत गराउने मुक्तिजस्तै जोसिला युवाहरू देखा परेका छन् । त्यसैले हुलदङ्गा भएको कारण देखाई नागरिकता वितरण नगरीकनै सरकारी टोली फर्किए पनि राम खेलावनचाहिँ एउटा मुक्तिका सट्टामा हजारौँ मुक्तिहरू आफ्नो साथमा हुने भविष्यको कल्पना गरी उत्साहित भएको देखिन्छ । यसबाट पनि प्रस्तुत कथाले पाठकलाई सर्वहारावर्गको सामाजिक सङ्घर्ष र वर्गीय एकताको महत्त्वबोध गराउन सकेको प्रस्ट हुन्छ । यस कथामा घटना र परिवेशको उचित संयोजन गर्दै तृतीय पुरुष कथयिताले वर्णनात्मक शिल्पका माध्यमबाट कथानकलाई बिस्तारै उत्कर्षतर्फ लगेको छ । यसका प्रमुख घटनासँग सम्बन्धित पात्रका प्रतिक्रियाको तार्किक संवादका माध्यमबाट गरिएको अभिव्यक्तिको स्पष्टता, परिस्थितिअनुकूल पात्रका चरित्रविकासको अवस्था र पात्रअनुरूपको स्थानीय भाषाको समुचित उपयोगबाट विशिष्ट कथात्मक प्रभावसहित वैचारिक सन्देश दिन सफल भएको छ ।

गाउँको शोषक दुर्गासिंहको अत्याचारका कारण उसका विरुद्धमा उभिएका सर्वहाराहरूको सङ्गठनका गतिविधि चित्रण गरिएको घनश्याम ढकालको ‘आजको महाभारत’ कथामा वर्गीय एकतासहितको सशस्त्र सङ्घर्षबाट मात्र सर्वहाराको मुक्ति सम्भव हुने विचार व्यक्त भएको छ । यस कथामा प्रस्तुत भएका उत्पीडित पात्रका तलका अभिव्यक्तिबाट पनि सर्वहाराको सामाजिक सङ्घर्ष र वर्गीय एकतालाई दरिलो बनाउने दिशातर्फ कथाकार अग्रसर भएको पाइन्छ, जस्तै ः

“हामी हाम्रो जमिन फिर्ता लिन लड्छौँ ।”

“दासत्वको बन्धन चुँडाउन हामी लड्छौँ ।”

“हामी न्याय र समानताका लागि लड्छौँ ।”

“मान्छेले मान्छेको रगत पसिना पिउने चलनविरुद्ध हामी लड्छौँ ।”

“हामी स्वराज्यका लागि लड्छौँ ।”...

“नजितेसम्म लडिरहने एउटा अनन्त युद्ध लड्छौँ ।” (ढकाल,२०६०,पृ.२६४)

उपर्युक्त कथांशमा परिवेशगत पृष्ठभूमिको भन्दा घटनावर्णनको आतुरता, पात्रको चरित्रविकासभन्दा विचारप्रस्तुतिको शीघ्रता र पाठकीय अभिरुचिको बेवास्ताका कारण कथाको विधासौन्दर्य अवलम्बनका दृष्टिले यो रचना केही कसरयुक्त देखिए पनि वर्गीयताको चिन्तनका सन्दर्भमा भने कमजोर देखिँदैन ।

वर्गीय समाजको उत्पीडक चरित्रका कारण सवहाराले समाजमा गर्नुपरेको सङ्घर्षपूर्ण अवस्था चित्रण गरिएका समकालीन नेपाली कथाले त्यही सङ्घर्षबाट खारिँदै गएका चरित्रहरूको सर्वहारावर्गीय चिन्तनलाई दह्रोसँग प्रस्तुत गरेका छन् र वर्गीय एकताबाटै सर्वहाराको मुक्ति एवम् समाजवादी समाजको स्थापना सम्भव हुने कुराको सङ्केत पनि दिएका छन् । यस दृष्टिले भास्कर, अनिल श्रेष्ठ, रामणि ढुङ्गेल, सरल सहयात्री, रणेन्द्र बराली आदिका कथा उल्लेखनीय छन् ।

४.७  सर्वहारालाई इतिासप्रक्रियाको दिशा र गतिको बोध गराउ“दै उसको ऐतिहासिक दायित्वबोध 

प्रस्तुत सन्दर्भमा इतिहासप्रक्रियाले राज्यको राजनीतिक र आर्थिक प्रणालीमाथि सर्वहारावर्गको पहुँच र प्रभुत्वको अवस्थालाई जनाउँछ । सामन्ती, अर्धसामन्ती हुँदै पुँजीवादी समाजव्यवस्थासम्म आइपुग्दा आर्थिक, राजनीतिक क्रियाकलापमा सर्वहाराको प्रत्यक्ष संलग्नता र अधिकार कस्तो रह्यो, उनीहरू कसरी वञ्चितीकरणमा पारिए र अबको बाटो के हुनुपर्छ भन्ने कुराको फेहरिस्त बताएर उनीहरूलाई ऐतिहासिक दायित्वबोध गराउने कार्य यसअन्तर्गत पर्छ । समकालीन नेपाली कथाले सामाजिक र राजनीतिक क्षेत्रमा भएका सर्वहारावर्गमाथिको विभेदको चित्रण गर्ने क्रममा तत्कालीन वस्तुस्थितिको जानकारी गराउँदै उनीहरूलाई ऐतिहासिक दायित्वबोध पनि गराएका छन् । चुनावका बेलामा हुने भोटको खरिदबिक्री तथा अन्य आचरणगत भ्रष्टाचारका क्रियाकलापको चित्रण गरिएको इस्मालीको ‘माछो, माछो, भ्यागुतो’ कथामा चुनावमा उम्मेदवार भएकाहरूको अवाञ्छित क्रियाकलाप अनि पञ्चायत र बहुदलीय प्रजातन्त्रको प्रणालीमा जनप्रतिनिधिहरूको चरित्र उस्तै रहेको वास्तविकता चित्रण गरेर तत्कालीन सामाजिक र राजनीतिक प्रक्रियाको ढोँगी प्रतिस्पर्धा एवम् खराबीबारे जानकारी गराइएको छ । यसमा हुनेखाने व्यक्तिहरू मात्र चुनावमा उम्मेदवार हुने, चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारहरूले बाइजीहरूका भड्किला गीत र नृत्यहरूका साथै रक्सीमासुको बलमा पारेर आमजनताको मत आफ्नो पक्षमा पार्ने, पहिले आस्वासन बाँड्ने तर जितेपछि जनहितका कुनै काम नगर्ने, गरिबहरूमाथि आर्थिक, शारीरिक शोषण गर्ने आदि क्रियाकलापलाई प्रस्ट पारेका छन् । यस्तै चुनावी सन्दर्भको इतिहासप्रक्रियाको बोध गराइएको एउटा उदाहरण यस्तो छ :

पहिलेपहिले पनि नन्दन रायले गाउँलेहरूसँग धेरै कबोलहरू गरे— गाउँमा बस चलाउने, नहर ल्याउने, रातुमा पक्की बाँच बाँध्ने आदिआदि । अनि चुनाव पनि धेरैपटक जिते, कहिले प्रधानपञ्च बनेर, कहिले जिल्ला पञ्चायतको सभापति बनेर र गएका वर्षहरूमा माननीय भएर (स्मरण रहोस्, त्यसपटक गाउँफर्कको पनि ठुलो योगदान थियो) मोज गरे । बस चल्ने बाटो गाउँलेहरूले खने, बस त आएन तर उनी भने मोटर चढेर आए । रातु खोलामा पक्की बाँध त बनेन तर बाढीले सारा चौरी बगर बनाएको सबैको आँखाअगाडि नै छ । खैर, उसलाई बस र बाँधको के फिकिर । खेत न पथार भएको मान्छे जो ठहरियो । रह्यो कुरा चपरासीवाला । बौका मुसहर साझा संस्थाको चपरासी बनाइएदेखि उसको घरमा लवघरियाको रासलीला सुरु भएर टोलै घिनाइसक्यो । गोली मारो— चपरासीउपरासी । (इस्माली, २०६०,पृ.२३७) 

उपर्युक्त कथांशमा पञ्चायत हुँदै बहुदलीय व्यवस्थासम्म आइपुग्दा पनि जनप्रतिनिधि बनेको नन्दन रायले चुनावका बेला गरेका प्रतिबद्धताहरू पूरा हुन नसकेको र लोग्नेलाई चपरासीमा जागिर लगाइदिएर उसकी पत्नीसित अनैतिक सम्बन्ध कायम गरेको सामाजिक र राजनीतिक वस्तुस्थितिको बोध गराइएको छ । त्यसै गरी प्रगतिशील पार्टीको उम्मेदवार माधोबाबूको चरित्रको वास्तविकताबोध गराइएको उदाहरणचाहिँ यस्तो छ :

“रुसमा धनीगरिब छैनन्— सब एक छत्त ! सब हृष्टपुष्ट, हट्टाकट्टा । सब मोटर चढ्छन् । खानलाउन दुःख छैन । कसैले कसैलाई ठग्न पाउँदैन, अन्याय अत्याचार गर्न पाउँदैन । मजदुरहरूको शासन छ— कम्युनिस्ट राज छ ।” माधोबाबू भन्छन्, “यहाँ पनि त्यस्तै ल्याउनुपर्छ ।” रुसमा केकस्तो छ, त्यो त उसलाई थाहा छैन, तर माधोबाबूलाई उसले राम्रोसँग चिनेको छ । वर्ष दिन भयो— उसको दस दिनको बनी झुलाइराख्या छन् । आफू बासमतीकिो भात खान्छन्, हरूवाचरुवालाई कोदोको रोटी र ढिँडो ख्वाउँछन् । आफू पोलिस्टर र टेरिकटन लाउँछन्, हरूवाचरुवाले दुई वर्षसम्ममा मुस्किलले आम छापको दर्शन पाउँछन् । उसकी स्वास्नी चेपकटवालीलाई समेत झन्डै लबघरिया बनाएका थिए । त्यस दिनदेखि आवतजावत बन्द छ । (इस्माली,२०६०,पृ.२३८)

सिद्धान्तमा समानता र स्वतन्त्रताका कुरा गर्ने तर व्यवहारमा चरम बुर्जुवा चरित्र देखाउने कम्युनिस्टहरूको समकालीन प्रवृत्तिको चित्रण भएको उपर्युक्त कथांश सर्वहारावर्गलाई मान्छेको बोली र व्यवहारमा पाइने विपर्यासको बोध गराउन सक्षम भएको छ । यसरी चुनावी प्रतिस्पर्धामा रहेका नन्दन राय र माधोबाबूको चरित्रको यथार्थको प्रस्तुतिले यसमा सर्वहारालाई थोरै मात्र भए पनि चुनावी राजनीतिक इतिहासप्रक्रियाको बोध गराइएको छ । यसबाट ‘ऊ’पात्रले चुनावी प्रक्रियामा रहेका दुबै उम्मेदवाहरू भोट दिन योग्य नभएको विश्लेषण गरी तिनलाई भोट नहाल्ने निष्कर्षमा पुगेर आफू र आफूझैँ सर्वहाराहरूको ऐतिहासिक दायित्वबोध यसरी गरेको छ, जस्तै :

... उसले किसन भैया सम्झ्यो जो अक्सर भन्थे, “रोजीरोटीको समस्या हल गर्न असङ्ख्य ‘ऊहरू’— चाहे ती मुसहर होऊन्, चाहे बाहुन, क्षेत्री, कुर्मी, धानुक एक हुनुपर्छ र सरकारसँग लडाइँ गर्नुपर्छ । योबाहेक अर्को उपाय छँदै छैन, यो भोटसोट सब वाहियात हो ।”... हाम्रो यै टोलको कुरो गरौँ न । टोलमा इनार थिएन । त्यै नन्दन रायलाई हजारचोटि भन्यौँ— हामीलाई इनार चहियो । उसले हुन्छहुन्छ भन्यो तर इनार खनिएन । जब सब मुसहर एक भएर उठ्यौँ र गाउँमा आएको बेला अञ्चलाधीशलाई घे¥यौँ, तब बल्ल आएर रकम निकासा भयो र इनार खनियो ।... गरिबगरिब एक भए मात्रै रोजीरोटीको समस्या हल हुन्छ र गरिबदुःखीको कल्याण हुन्छ ।

त्यसो भए हामी पनि भोट नहालौँ... “माने— दारूपानी सबको, तर भोट कसैलाई पनि हैन अर्थात् माछो, माछो, भ्यागुतो !” (इस्माली,२०६०,पृ.२४०)

यसमा चुनावी प्रक्रियाबाट सर्वहाराका समस्याहरू हल हुन नसक्ने ठोकुवा गरेर बहुदलीय व्यवस्थामा जनप्रतिनिधिको छनोटको ऐतिहासिक प्रक्रियाले गलत दिशा लिँदै गरेको र यस प्रणालीको गति धर्मराउँदो रहेको बोध गराउँदै वर्गीय सङ्घर्षको विकल्प नभएकाले त्यसका निम्ति सर्वहारावर्गको दायित्व रहेको अभिव्यक्ति पाइन्छ । 

राजनीतिलाई घृणा गर्ने ‘म’पात्र मुक्तिबन्धु र गार्मेन्टकी श्रमिक पात्र कविताका बिचमा युवाहरूको दायित्वका बारेमा भएका बहसहरू प्रस्तुत गरिएको फूलमान बलको ‘कम्युनिस्ट केटी’ कथामा आम युवाहरूहलाई सर्वहारा पक्षीय राजनीतितर्फ आकर्षित गर्न खोजिएको छ । यसमा कम्युनिस्ट पार्टीको  मजदुर फाँटकी महिला कार्यकर्तासमेत रहेकी कविताले राजनीति नगरेर आफू अध्ययन र साहित्यिक कर्मबाटै देश बनाउने दिशामा अग्रसर भएको बताउने मुक्तिबन्धुलाई चिनियाँ राजनीतिक प्रसङ्गद्वारा यसरी ऐतिहासिक प्रक्रियाको जानकारी दिई उसलाई सर्वहाराको दायित्वबोध पनि गराएकी छ :

‘चीन जब जापानी साम्राज्यवादीहरूको चरम शोषणले थिलथिलो भइरहेको थियो, विदेशी दलालहरूको चाकडी गरेर आफ्नो कोमिन्ताङ सत्ता बचाउन चाहने च्याङकाइ सेकको आशीर्वाद प्राप्त कथित विद्वान् डा.हु सीले अध्ययनबाट देश बचाउने आदर्श सिद्धान्त प्रचारमा ल्याएका थिए र धेरै युवाहरूलाई परिवर्तनकामी भावनाबाट च्यूत पारेर जापानी साम्राज्यवादी सेनाको पिछलग्गु बनाइएको थियो ।.... यदि त्यति बेला क्रान्तिकारी चिनियाँ युवाहरूले सङ्घर्ष नछेडेको भए, चिनियाँ कम्युनिस्ट पार्टीले क्रान्तिकारी अगुवाइ नगरेको भए, के चिनियाँ जनताले अहिलेको समुन्नत र आधुनिक चीन पाउँथे ? के अब तपाईं पनि त्यही अध्ययनबाट देश बनाउने डा.हु सीकै पङ्क्तिमा हुनुहुन्छ ?’ (बल,२०७४,पृ.१८७) 

त्यसै गरी अर्को प्रसङ्गमा चाहिँ कविताले माओवादी जनयुद्धको सन्दर्भ उठाएर संसदीय व्यवस्थाको औचित्य पुष्टि गर्न यसरी इतिहासबोध गराएको छ ः

‘बन्दुकले केवल बदलाको भाषा मात्र बोल्छ । बन्दुकको आवाजमा बहुसङ्ख्यक जनताको आवाज मिसिनुपर्छ । मेरो ठम्याइमा यो बेमौसमी कदम हो । ‘राज्यसत्ता बन्दुकको नालबाट मात्र जन्मिन्छ’ भन्ने जड चिन्तनबाट उनीहरू ग्रसित छन् । क्रान्तिको तयारीको निम्ति गरिने यथासम्भव शान्तिपूर्ण प्रयासहरू जुन यति बेला आम जनताको निम्ति राहतयोग्य छ, उनीहरू यसको विरोध गरिरहेका छन् । के लेनिनले क्रान्तिपूर्व डुमामा भाग लिनुभएको थिएन ? के स्वयम् माओले चीनमा ‘बुर्जुवा संसद भएको भए उपयोग गर्थौँ ’ भन्नुभएको थिएन ?’ (बल,२०७४,पृ.१९१–९२)

उपर्युक्त कथांशमा सशस्त्र क्रान्तिमा हुने मानवीय क्षतिलाई न्यून गर्न बुर्जुवा संसदीय व्यवस्थालाई सर्वहारा जनताको अधिकतम हितमा उपयोग गर्न सकिने नीतिका पक्षमा तर्कहरू प्रस्तुत गरिएको छ । यसरी हेर्दा यस कथाले राजनीतिप्रति पूर्वाग्रही भएर घृणाको दृष्टि मात्र राख्ने युवापुस्ताका माध्यमबाट सर्वहारालाई इतिहासप्रक्रियाको जानकारी दिँदै उनीहरूलाई ऐतिहासिक दायित्वबोध पनि गराएको प्रस्ट हुन्छ । 

सर्वहारालाई इतिहास प्रक्रियाको दिशा र गतिको बोध गराइएका उपर्युक्त कथाहरूमध्ये ‘माछो, माछो, भ्यागुतो’मा बुर्जुवा संसदीय व्यवस्थाका विरुद्ध वर्गीय सङ्घर्षलाई अपरिहार्य मानिएको छ भने यसमा गरिएको समकालीन परिस्थितिको दृश्यात्मक प्रस्तुति, कथानकलाई विस्तारै उत्कर्षमा पुर्याउनका लागि गरिएको पात्रका जिज्ञासु संवादको संयोजन, तृतीय पुरुष कथयिताको अहस्तक्षेपकारी भूमिका र स्थानीय भाषिक प्रयोग कलात्मक ढङ्गले विचार प्रस्तुत गर्न प्रभावकारी रहेको छ । बुर्जवा संसद्लाई नै सर्वहाराको हितमा प्रयोग गर्न सकिने पक्षमा जोड दिइएको ‘कम्युनिस्ट केटी’ कथाचाहिँ बुर्जुवा परिवेशको वर्णनात्मक प्रस्तुति स्वतन्त्र निर्णय गर्न सक्षम राजनीतिक चेतनायुक्त पात्रहरूका तार्किक संवादको प्रयोग, प्रथम पुरुष कथयिताको विकासलगायतका विधागत पक्ष र विचारको कलात्मक संयोजनका दृष्टिले प्रभावकारी बनेको छ । 

यसरी सर्वहारा वर्गलाई समकालीन वस्तुस्थितिबारे जानकारी दिँदै उनीहरूलाई प्रायोगिक रूपले नै नेपाली समाजप्रति सचेत बनाउने उद्देश्य राखिएका समकालीन नेपाली कथाहरू यस्तो इतिहास प्रक्रियाको दिशाबोध गराउन सफल रहेका छन् । शोषणमूलक र भविष्यको स्पष्ट मार्गदर्शन भएको इतिहासको ज्ञानबाट स्वतःस्फूर्त रूपले समाजप्रतिको आफ्नो ऐतिहासिक दायित्वबोध गरेका पात्रका अभिव्यक्तिमार्फत यस्ता कथा सर्वहारा वर्गीय चेतना प्रस्तुतिमा प्रभावकारी बनेका छन् । विजय चालिसे, अमर शाह, मातृका पोखरेल, पुण्यप्रसाद खरेल, सीताराम नेपाल, रोहित दाहाल आदिका कथा यस दृष्टिले सफल रहेका छन् ।

५.  निष्कर्ष

वर्गीय समाजमा साहित्यले निश्चित विचारधारामार्फत कुनै वर्गको राजनीतिक स्वार्थलाई सघाइरहेको हुन्छ र लेखकको दृष्टिकोण पनि कुनै वर्गविशेषद्वारा यथार्थको सामूहिक रूपबाट गरिएको सुस्पष्ट विश्लेषणबाट परिपुष्ट हुँदै जान्छ । यस्तो परिस्थितिमा साहित्य नै समकालीन सामाजिक, राजनीतिक, सांस्कृतिक समस्यातर्फ केन्द्रित हुँदै त्यसमा प्रस्ट र समाधानमूलक वर्गीय विचारधारको प्रस्तुतिमा सक्रिय रहन्छ । समकालीन नेपाली कथामा वर्गीयताको अभिव्यञ्जना प्रगतिवादी कथाकारहरूले समुचित रूपमा गरेका छन् किनभने तिनले कथालाई सर्वहारा वर्गको साझा उद्देश्यको एउटा अंशका रूपमा स्वीकार गरेर त्यसमा बुर्जुवा जीवनपद्धति र संस्कृतिको आलोचना गरेका छन् । तिनमा उत्पीडित वर्गको दृष्टिकोणलाई आत्मसात् गरेर समकालीन जीवनका जटिल परिस्थिति बोध गर्ने प्रयास पनि भएको छ । त्यसैले पुँजीवादी समाजको वैयक्तिक मुनाफाकेन्द्री चरित्र र अस्वस्थ प्रतिस्पर्धाको मारमा परेका श्रमिकहरूका पक्षमा अभिव्यक्ति दिँदै वर्गीय विभेदको अन्त्य र सर्वहाराको मुक्तिका खातिर वर्गीय एकताको आवश्यकताबोध पनि यस्ता कथामा पाइन्छ । त्यसै गरी उत्पीडित वर्गलाई समकालीन वस्तुस्थितिबारे जानकारी गराउँदै वर्गसङ्घर्षको दायित्वबोध गराउन, युवापुस्तालाई सर्वहारापक्षीय राजनीतितर्फ केन्द्रित गर्न, वर्गीय चेतनाद्वारा बुर्जुवावर्गको राजनीतिक सांस्कृतिक प्रभुत्व कमजोर बनाएर त्यसलाई समाप्त पार्ने उपाय प्रस्तुत गर्न र सर्वहारा दृष्टिकेन्द्री मानवीय संसार रचनाको प्रयास गर्न पनि यी कथाहरू सबल नै रहेका छन् तर समकालीन नेपाली कम्युनिस्ट राजनीतिमा जस्तै कथाले पनि पार्टीगत मूल्यअनुरूपको उद्देश्य प्राप्तिमा अधिक मोह भने देखाएका छन् । त्यसैले कुनै कथामा बुर्जुवा संसदीय प्रणालीको उपयोगबाटै सर्वहाराको मुक्ति सम्भव हुने र कुनैमा सशस्त्र सङ्घर्ष नै निर्विकल्प रहेको वर्गीय चिन्तन प्रस्तुत गरिएको छ । यसप्रकारका जुनै प्रक्रिया अवलम्बन गरे पनि समकालीन नेपाली कथा सर्वहारा वर्गीय मुक्तिको अनिवार्यता र त्यसका उपायहरूको सङ्केतमा भने सफल छन् । 


सन्दर्भसामग्री

इस्माली. २०६०. माछो, माछो, भ्यागुतो. समसामयिक साझा कथा. (सम्पा.) मोहनराज शर्मा र राजेन्द्र सुवेदी. ललितपुरः साझा प्रकाशन, पृ.२३६—२४० ।

गिरी, अमर. २०७५. कवितामा वर्गद्वन्द्व. काठमाडौँः भृकुटी एकेडेमिक पब्लिकेसन्स ।

गिरी, आन्विका. २०६६. कम्युनिस्ट. काठमाडौँः साङ्ग्रिला पब्लिकेसन ।

ग्रेवाल, ओमप्रकाश. २०६७. विचारधारा र साहित्यको अन्तर्सम्बन्ध. माक्र्सवादी साहित्यचिन्तन 

(सम्पा.निनु चापागाईं). ललितपुरः साझा प्रकाशन, पृ.२३८—२५५ ।

चापागाईं, निनु. २०६४. माक्र्सवादी चिन्तनमा सौन्दर्य. ललितपुरः साझा प्रकाशन ।

चैतन्य. २०६४. माक्र्सवादी कलादृष्टि र समीक्षा. काठमाडौँः ऐरावती प्रकाशन प्रालि ।

ढकाल, घनश्याम. २०६०. आजको महाभारत. समसामयिक साझा कथा. (सम्पा.) मोहनराज शर्मा र राजेन्द्र सुवेदी. ललितपुरः साझा प्रकाशन, पृ.२६१—२६९ ।

ढकाल, नारायण. २०७१. इन्द्रजाल. काठमाडौँः फाइनप्रिन्ट ।

पाण्डेय, मैनेजर. २०६७. साहित्य र सर्वहारा. माक्र्सवादी साहित्यचिन्तन (सम्पा.निनु चापागाईं). ललितपुरः साझा प्रकाशन, पृ.१४७—१६२ ।

पोखरेल, मातृका. २०७४. घाम झुल्किनुअघि. समकालीन प्रगतिवादी नेपाली कथा (सम्पा.बिन्दु शर्मा). काठमाडौँः नेपाल प्रज्ञाप्रतिष्ठान, पृ.२१५—२२० ।

बराल, ऋषिराज. २०६३. पैयुँ फुल्न थालेपछि. काठमाडौँः सिर्जनशील प्रकाशन ।

बराल, ऋषिराज. २०६४. साहित्य र समाज. ललितपुरः साझा प्रकाशन ।

बल, फूलमान. २०७४. कम्युनिस्ट केटी. समसामयिक प्रगतिवादी नेपाली कथा. (सम्पा.) बिन्दु शर्मा. काठमाडौँः नेपाल प्रज्ञाप्रतिष्ठान, पृ. १८२—१९७ ।

बोट्टोमोर, टोम (सम्पा.). सन् १९९१. अ डिक्सनरी अफ माक्र्सिस्ट थट. अक्सफोर्डः ब्ल्याकवेल पब्लिसर्स ।

विभास, नवीन. २०५७. आधा बाटो हिँडेपछि. नेपालः अतिरिक्त प्रकाशन ।

विभास, नवीन. २०७३. रोल्पा सुइना. काठमाडौँः साङ्ग्रिला पब्लिकेसन ।

शर्मा, बिन्दु. सम्पा. २०७४. समकालीन प्रगतिवादी नेपाली कथा. काठमाडौँः नेपाल प्रज्ञाप्रतिष्ठान ।

श्रेष्ठ. दयाराम. २०७५. प्रज्ञा आधुनिक नेपाली कथाकोश. काठमाडौँः नेपाल प्रज्ञाप्रतिष्ठान ।

सङ्ग्रौला, खगेन्द्र. २०५६. हृदयरामको डायरी. काठमाडौँः तन्नेरी प्रकाशन ।

साह, श्याम. २०७१. अब्बा. काठमाडौँः फिनिक्स बुक्स ।


No comments: