Thursday, September 14, 2017

कुलपति बन्न कुदाकुद

काठमाडौं। नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति, उपकुलपति र सदस्यसचिव बन्न इच्छुकहरूको लर्को लाग्न थालेको छ। नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र ड्यास माओवादीका प्राज्ञ र साहित्यकारहरू प्रतिष्ठानको सचिवालयमा नियुक्त हुने प्रयासमा लागेको समाचार छ। चारवटै दलका प्राज्ञ र साहित्यकारहरू आन्तरिक छलफलमा जुटेको पनि थाहा भएको छ। २०७० माघ २० गते ९ जनाको पदावधि सकिएको थियो। सदस्यसचिव सनत रेग्मी र सदस्य विष्णु प्रभातको पदावधि भने आउँदो वैशाखसम्म रहेको बताइन्छ। त्यही कारण ९ वटा पदका लागि दर्जनौ आकांक्षीहरू देखिएका छन्।

नेपाली काग्रेसनिकट केही साहित्यकार र प्राज्ञहरूले धुव्रचन्द्र गौतमलाई कुलपति बनाउने भन्दै नाम लिन थालेका छन्। तर, गौतमका बारेमा अनेक दोष देखाएर कांग्रेसभित्र नै विरोध सुरु भएपछि उनी उक्त दौडबाट बाहिरएको टिप्पणी छ। अहिले कांग्रेसबाट उपकुलपतिका लागि तुलसी भट्टराई, गोविन्द भट्टराई, विष्णुविभु घिमिरेको नाम चर्चामा आएको छ। विष्णुविभु घिमिरे र श्रवण मुकारुङको नाम सदस्यसचिवका लागि पनि चर्चामा ल्याइएको छ। त्यसैगरी नेकपा एमालेको तर्फबाट कुलपतिमा गंगाप्रसाद उप्रेतीको नाम चर्चामा छ। निवर्तमान उपकुलपति उप्रेतीसँगै केही एमालेनिकट साहित्यकारले मोदनाथ प्रश्रितको नाम कुलपतिमा ल्याएका थिए। तर, मन्त्री भइसकेको व्यक्तिलाई कुलपतिमा ल्याउन नहुने भन्दै केहीले मर्यादाक्रम नमिल्ने सुझाव दिएका थिए। साथै प्रश्रित आफैंले नआउने सन्देश दिएको पनि चर्चा छ। सोही कारण उप्रेतीको नाम चर्चामा आएको हो। यता उपकुलपतिमा भने एमालेकै तर्फबाट हेमनाथ पौडेल, जिवेन्द्रदेव गिरी, अमर गिरी, भिक्टर प्रधानलगायतको नाम चर्चामा छ। यी मध्ये केहीलाई सदस्य सचिव बनाउन सकिने पनि बताइएको छ।

यता, एमाओवादीबाट भने खासै शीर्षस्थ साहित्यकार तथा प्राज्ञहरू देखिएका छैनन्। एमाओवादीले निनु चापागाईंको नामा कुलपति वा उपकुलपतिका लागि लिइरहेको छ। सदस्यका लागि भने एमाओवादीबाट मातृका पोखरेल, गणेश भण्डारीलगायतको नाम आएको छ। यता, ड्यास माओवादीको तर्फबाट भने धेरै साहित्यकारहरूको नाम आएको छ। एमाओवादीमा भन्दा ड्यास माओवादीमा बढी प्राज्ञहरू देखिएको पनि बताइएको छ। ऋषिराज बराल, ईश्वरच्द्र ज्ञावली, ताराकान्त पाण्डेय, जगदिशचन्द्र भण्डारीलगायतका प्राज्ञ तथा साहित्यकारहरूको नाम कुलपति र उपकुलपतिका लागि चर्चामा आएका छन्। यस अगाडि कुलपति वैरागी काइँला, उपकुलपति गंगाप्रसाद उप्रेती, सदस्यहरूमा महादेव अवस्थी, सुलोचना मानन्धर, बुँद राना, बेञ्जु शर्मा, संगीता शर्मालगायत रहेका थिए। स्रोतका अनुसार, एमालेबाट हेमनाथ पौडेल, कांग्रेसबाट तुलसी भट्टराई, विष्णुविभु घिमिरे, एमाओवादी गणेश भण्डारी, मातृका पोखरेल, ड्यास माओवादीबाट इश्वरचन्द्र ज्ञवाली, जगदिशचन्द्र भण्डारीलगायतहरू पार्टी प्रतिनिधिका रुपमा प्रतिष्ठानमा हुने नियुक्तिको बारेमा सामान्य छलफलमा समेत जुटेको समाचार छ।


http://sanghu.weeklynepal.com बाट साभार 

No comments: