Wednesday, March 25, 2020

चेरव स्मृति प्रतिष्ठानद्वारा इन्जिनियरिङ सुरक्षा गोष्ठी सम्पन्न



    लाेकपाटी न्यूज / २४ मंसिर २०७५, सोमबार


    रसुवा, २४ मंसिर । चेरब स्मृति प्रतिष्ठानले निर्माण कार्यमा इन्जिनियरिङ सुरक्षासम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

    प्रतिष्ठानले रसुवास्तिथ चिलिमे जलविद्युत कम्पनीको ड्याम्प साइट र सान्जेन जलविद्युत कम्पनीको पावर हाउस क्षेत्र थाम्बुचेतमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

    विभिन्न आयोजनाअन्तर्गत कार्यरत सिभिल इलेक्ट्रिकल, मेनाकिनकल र ट्रान्समिसन लाइनमा कार्यरत इन्जिनियरहरुको सुरक्षाका पक्षमा गोष्ठी केन्द्रित रहेको प्रतिष्ठानका अध्यक्ष पुण्य घिमिरेले बताए ।

    ‘विकट पहाड र अफ्ट्यारा क्षेत्रमा खट्ने इन्जिनियरहरुको जिउधनको सुरक्षाका लागि सम्बन्धित कार्यालयबाट आवश्यक पहल भएको पाइँदैन,’ अध्यक्ष घिमिरेले भने, ‘इन्जिनियरहरुलाई कार्यक्षेत्रमा कसरी सुरक्षित रहने भन्ने विषयमा केन्द्रित यस्तो गोष्ठी नेपालमा अन्यत्र भएको पाइँदैन । मन्त्रालयस्तरबाट पनि इन्जिनियरहरुको सुरक्षाका लागि तालिम र रोजगारदाता आयोजनासँग आवश्यक समन्वय हुन जरुरी छ ।’

    उक्त कार्यक्रममा प्रमुख अतिथि मातृका पोखरेल र विशेष अतिथिमा नेपाल विद्युत प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक मोहनकृष्ण उप्रेती रहेका थिए ।

    उक्त सुरक्षा गोष्ठीमा कार्यक्रममा गोरखापत्र संस्थानका पुर्वमहाप्रबन्धक कपिलदेव घिमिरे, विद्युत प्राधिकरणका कर्मचारी, नेपाल सरकारका पूर्वकर्मचारीसहित चिलिमे र सान्जेन जलविद्युत कम्पनीका प्रतिनिधि, साहित्यकार, शिक्षक र प्रतिष्ठानका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

    गोष्ठीमा इन्जिनियरहरुको कार्यक्षत्र र व्यवहारिक जीवनमा आउने चुनौती र खतराको सुरक्षाका विषयमा ६ वटा कार्यपत्र प्रस्तुत गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए ।

    कार्यक्रमका प्रमुख अतिथि पोखरेलले यो कार्यक्रम नेपालमै फरक ढङ्गको र निर्माणलगायत सम्पूर्ण क्षेत्रमा उपयोगी रहेको बताए । कार्यक्रममा सान्जेन जलविद्युत कम्पनीका आयोजना प्रमुख श्री गणेश केसीले प्रतिष्ठानले साहित्यिक कार्यक्रमभन्दा फरक किसिमको उपयोगी कार्यक्रम सुरु गरेको बताए ।

    प्रतिष्ठानका अध्यक्ष पुण्य घिमिरेले निरन्तर यस किसिमका सामाजिक कार्य गरिरहने बताउँदै सान्जेन जलविद्युतको सहयोग प्रसंशनीय भएको बताए ।कार्यक्रममा प्रतिष्ठानले २ वर्षबाट प्रकाशन गर्दै आएको हिमाद्रि त्रैमासिक साहित्यिक पत्रिका सातौं अङ्कको लोकार्पण पनि सम्पन्न गरेको छ ।

    प्रतिष्ठानका उपाध्यक्ष तथा साहित्यकार धर्म पोखरेलले हिमाद्रिको समीक्षा गरेका हुन् ।
000 

www.lokpati.com  बाट साभार 

No comments: