Saturday, June 2, 2018

देविका तिमिल्सिनाको कथाकारितामाथि परिचर्चा कार्यक्रम सम्पन्न ।


काठमाडौँ, २०७५ जेठ १९ । नेपाल वाङ्मय परिषदको आयोजनामा शनिवार  राजधानीमा कथाकार देविका तिमिल्सिनाको कथाकारिता र उनको नविनतम कृति ‘पृथ्वी आफ्नै अक्षमा घुमिरहेछ’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
सो परिचर्चा कार्यक्रम नेपाल वाङ्मय परिषदका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षता एवम् प्रगतिशिल लेखक संघका अध्यक्ष, प्राज्ञ मातृका पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । साहित्यकार दीपसागर पन्तको उदघोषणमा सम्पन्न भएको सो समारोहमा कविराज भट्ट बिलौनाले स्वागत मन्तव्य प्रतुत गरेका थिए ।
कार्यक्रममा आर.एम. डंगोल एवम् डा. शान्तिमाया गिरीले उक्त कृतिमाथि आफ्ना अभिमत राखे भने पुरुषोतम सुवेदीले कथाकार तिमिल्सिनाको व्यक्तित्व एवम् उनको कथायात्राका बारेमा चर्चा गरेका थिए । समारोहमा आख्यानकारहरू नारायण ढकाल, इस्माली, गोपाल अश्क, पवन आलोकले लेखकलाई शुभकामना दिनुका साथै समकालीन नेपाली कथा लेखनका प्रवृत्तिका बारेमा चर्चा गरेक थिए  ।
कार्यक्रममा चेतनाथ कँडेल, विधान आचार्य, गोकुल अधिकारी, बुद राना, सुनिल पुरी, राम विनय, देवा अधिकारी, भुवन बोहरा, डम्बर शर्मा बडु, शार्दुल भट्टराई, कृष्णप्रसाद सुवेदी, डा. हेमनाथ पौडेल, उर्मिला पन्त पाण्डेय लगायत चार दर्जन भन्दा बढी स्रष्टाको उपस्थिति थियो ।
कृतिमाथि समीक्षाका क्रममा समालोचक डा. शान्तिमाया गिरीले तिमिल्सिनाका कथामा निम्नवर्गीय पात्रको जीवनका साथै अभिघातको प्रयोग भएको विचार व्यक्त गरिन । उनले अभिघातका सिद्धान्त अनुसार यस कृतिमा हिंसात्मक गतिविधिको समर्थन भएको एवम् फरक विचारप्रति असहिष्णु भएकोतर्फ संकेत गरिन ।
अर्का समीक्षक आर.एम. डंगोलले यो कृति नेपालको राजनीतिक आन्दोलनमा पञ्चायतकालदेखि वर्तमानसम्मको समय आएको र वर्गीय पक्षधरता सहित आएकोले प्रगतिशिल धारको प्रतिनिधित्व गरेको विचार राखे । डंगोलले तिमिल्सिनाका कतिपय कथामा आलोचनात्मक यथार्थवाद समेत आएको विचार व्यक्त गरे ।
समीक्षक पुरुषोतम सुवेदीले तिमिल्सिना नेपालको वाम आन्दोलनमा सशरीर संघर्षको मैदानका साथै लेखनमा पनि सशक्त रुपमा आएको कुरा राखे । सुवेदीले तिमिल्सिनाका कथामा विचारको पक्ष सशक्त रुपमा आएको र उनी जनपक्षधर स्रष्टा भएको विचार व्यक्त गरे ।
www.everestdainik.com बाट 
-----------------------------------------------


































































No comments: