Thursday, September 14, 2017

संविधान निर्माणमा लचिलो भएर प्रस्तुत हुनुपर्छ–नेता नेपाल

काठमाडौँ, १३ मङ्सिर, २०७१ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले संविधानका विवादित विषयमा सहमति जुटाउन लचिलो भएर प्रस्तुत हुनुपर्ने औँल्याउँदै सहमति हुन नसक्ने विषय थाती राखेर पनि संविधान जारी गर्न सकिने बताउनुभएको छ ।
बाल वाङ्मय तथा अनुसन्धान केन्द्रको आयोजनामा आज यहाँ आयोजित ‘संस्कार’ कृतिको विमोचन गर्दै नेता नेपालले सबै जातजातिलाई समान अधिकार दिनुपर्ने पक्षलाई ध्यान दिनुपर्ने तर जातीय सङ्घीयता हुन नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “जसरी पनि माघ ८ गतेभित्र संविधान जारी गर्नुपर्ने तथा आफूले भनेजस्तो नभए संविधान जारी गर्न नदिने दुवै अडान उचित छैनन्, यसमा लचिलो भएर जानुपर्छ, सहमति जुट्न नसक्ने विषय थाती राख्न सकिन्छ ।”
यसअघि एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सङ्घीयतालाई थाती राखेर माघ ८ गते संविधान जारी गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको थियो ।
‘संस्कार’मा वैज्ञानिक अवधारणा
जन्मदेखि मृत्यु संस्कारसम्म वैज्ञानिक अवधारणा समेटिएको सो पुस्तक सान्दर्भिक भएको भन्दै नेता नेपालले धर्म र संस्कारमा रहेका अन्धविश्वास र छुवाछूतजस्ता विकृति हटाउनुपर्नेमा पनि जोड दिनुभयो ।
आफूले आमाको निधन हुँदा कोरामा नबसेको स्मरण गराउँदै भन्नुभयो, “तर यस्ता विषयमा समाज एकाएक परिवर्तन हुँदैन, क्रमशः सुधार गर्दै लानुपर्छ, १३ दिनको मृत्यु संस्कारलाई पाँच वा तीन दिनमा झार्न सकिन्छ ।”
साहित्यकार खगेन्द्र सङ्ग्रौलाद्वारा संयोजन तथा विवेक सिर्जनशील प्रकाशनद्वारा प्रकाशन गरिएको कुल १७५ पृष्ठको सो पुस्तकमा सांस्कृतिक क्षेत्रका चिन्तक तथा राजनीतिज्ञ मोहनविक्रम सिंह, नरहरि आचार्य, प्रदीप ज्ञवाली, मोदनाथ प्रश्रित, घनश्याम शर्मा पौडेल, डा रामचन्द्र गौतम र डा विष्णु दाहालका विचार÷लेख सङ्ग्रहित छन् । उहाँहरूले नेपाली समाजले मान्दै आएका कतिपय संस्कार वैज्ञानिक र शास्त्रसम्मत नभएको ठहर गरिएको छ ।
विवेक सिर्जनशील प्रकाशनका कार्यकारी निर्देशक विजयराज आचार्यले २०६३ सालमा आफ्ना पिता पीताम्बरको निधन हुँदा परम्परागत मृत्यु संस्कारलाई पालना नगरी एक अक्षय कोष खडा गरी संस्कारसम्बन्धी यस प्रकारको नयाँ कृति प्रकाशनको परिकल्पना राख्नुभएको थियो ।
उहाँहरूका अवधारणामा प्रगतिशील लेखक सङ्घका अध्यक्ष अमर गिरी, नेपाली लेखक सङ्घका अध्यक्ष डा विष्णुविभू घिमिरे, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई, एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष मातृका पोखरेल र अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष डा ईश्वरचन्द्र ज्ञवालीले ऐक्यबद्धता जनाउँदै यसलाई राजनीतिक क्षेत्रबाट कार्यान्वयनमा उतार्न आग्रह गर्नुभयो ।
केन्द्रका अध्यक्ष विनयकुमार कसजूले संस्कृतिमा वैज्ञानिक सोच र व्यवहारलाई क्रमशः उतार्नुपर्ने बताउनुभयो । रासस

http://radionepal.gov.np बाट साभार 

No comments: