Sunday, April 15, 2018

दोस्रो जनआन्दोलनको स्मरणमा मातृका र वियोगीलाई स्रष्टा सम्मान


चैत ३०, २०७४ काठमाडौं : लोकतान्त्रिक साहित्यिक आन्दोलनमा स्रष्टाहरूले खेलेको भूमिकाको स्मरण गर्न र खबरदारीका लागि स्थापित ‘स्रष्टा चैत्र ३०’ ले शुक्रबार साहित्यकारद्वय मातृका पोखरेल र वियोगी बुढाथोकीलाई सम्मान गरेको छ। 

शिल्पी थिएटरमा आयोजित कार्यक्रममा वरिष्ठ कवि एवं तत्कालीन लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्चका संयोजक वैरागी काइँलाले उक्त सम्मान प्रदान गरे। दोस्रो जनआन्दोलनका समर्थनमा आरोहण गुरुकुलमा सभा गरी २०६२ चैत ३० गते पुरानो बानेश्वरको सडकमा कविता वाचन भइरहेका बेला प्रहरीले दमन गरेको दिनलाई स्रष्टा आन्दोलन दिवस मानी ‘स्रष्टा चैत्र ३०’ स्थापना भई सम्मान र अन्य कार्यक्रम हुँदै आएको छ। 

उक्त अवसरमा कवि काइँलाले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि स्रष्टाहरूले दिएको योगदानलाई भुल्न नहुने बताए। सम्मानित व्यक्तिबारे बोल्दै आरएम डंगोल र डा. नारायण चालिसेले पोखरेल र बुढाथोकीले सिर्जना र संगठनका माध्यममा लोकतन्त्र र परिवर्तनका लागि योगदान दिएको उल्लेख गरे। ‘स्रष्टा चैत्र ३०’ का अध्यक्ष मनोज न्यौपानेले लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मंच जस्तो संस्थाको आवश्यकता अहिले पनि रहेको औँल्याए। 

प्राज्ञको मर्यादाक्रम घटेकामा चिन्ता व्यक्त गर्दै कार्यक्रममा सहभागीले नेपाल प्रज्ञाप्रतिष्ठानसहित तीन प्रज्ञाप्रतिष्ठानका पदाधिकारी र प्राज्ञको मर्यादाक्रम घटाइनुले राज्यले स्रष्टाहरूलाई उपेक्षा गरेको देखिएको जनाउँदै तत्काल सच्याउन माग गर्ने प्रस्ताव पनि पारित गरेका छन्। अघिल्लो सरकारले बनाएको मर्यादाक्रममा प्रतिष्ठानका कुलपतिहरूलाई मुख्य सचिवसरह राखिएको छ। त्यसअघि कुलपतिहरूलाई राज्यमन्त्रीसरह राखिएको थियो।

रासस
http://thahakhabar.com बाट साभार 


 शिवपुरी सन्देश त्रैमासिक पूर्णाङ्क - ८० 


                                                  शिवपुरी सन्देश त्रैमासिक पूर्णाङ्क - ८० 




No comments: