Thursday, March 5, 2020

कविता : ऐना

 - मातृका पोखरेल


हिजोआज मैले हेर्ने ऐनामा 
अर्कै मान्छेको अनुहार देखिन्छ ।

जीवनभर
जसलाई गाली गर्दागर्दा थाकेको थिएँ ,
र मुद्दा हालेको थिएँ बाटोका प्रत्येक कुइनेटाहरूमा
अचेल लुसुक्क आइदिन्छ उही
मैले हेर्ने ऐनामा ।

बिहानबिहान मुख धोएर हेर्छु आफ्नो अनुहार
अर्कै मान्छे देखिन्छु ऐनामा ,
दारी काटेर हेर्छु
दारी पालेको अर्कै मान्छे देखिन्छु
साधारण लुगा लगाएर ऐना हेर्छु
टाइ, सुट र कोटमा देखिन्छु ।

प्रत्येक दिन नयाँ–नयाँ ऐना किनेर ल्याइरहेको छु
तर कहिल्यै देखिएन आफ्नो सक्कली प्रतिबिम्ब
म आजित भएको छु आफैंले दिनहुँ हेर्ने
आफ्नै ऐनासङ्ग ।

हिजोआज
ऐनामा आफ्नो अनुहार
कहिलेकाहीँ दक्षिणतिरका छिमेकीको जस्तो
कहिलेकाहीँ उत्तरतिरका छिमेकीको जस्तो
कहिले अमेरिकीको जस्तो
कहिले कुनै ठेकेदारको जस्तो
कहिले कुनै दलालको जस्तो
कहिले कसको जस्तो
कहिले कसको जस्तो
केही समयका लागि
मैले अचेल ऐना हेर्न पनि छाडिदिएँ
ऐना बोक्न पनि छाडिदिएँ ।

म सँगसँगै मेरा साथीहरू पनि
अचेल ऐनासँग खुबै डराउँछन् ।

ऐनामा आफ्नो अनुहार हराएका हामीहरू
निरन्तर छलफल गरिरहेका छौँ ।

हिजोआज मैले ऐनामा
आफ्नो अनुहार हराएको छु ।



अन्नपूर्ण पोष्ट दैनिक , वर्ष- १६, अङ्क - १४५ 
२०७४ असोज ७ शनिवार  

No comments: