Sunday, September 17, 2017

छिम्केडाँडामुनिकम्बल खोसाखोस - सङ्गीतस्रोता



भोलिपल्ट फागुपूणिर्मा थियो । हामीलाई भने त्यसको कुनै रन्को थिएन । हाम्रा आँतदेखि आङसम्म अरू नै केही सलबलाइरहेको थियो । सायद, त्यो एउटा उत्साह थियो, एउटा रसिकता थियो । भीरैभीर र उकालैउकालोमा हामी दगुरिरहेका थियौँ । पसिनै-पसिना र थकानै-थकानमा पनि हामी रमाइरहेका थियौँ । घरि एक्लै-दुक्लै, घरि गरम्म साथीहरूसहित । अघिअघि हिँड्ने साथीहरू पक्कै पनि घुम्न भनेपछि हिरिक्कै हुनेहरू थिए । पछिपछि लत्रनेहरू पनि अरुचि राख्ने त होइनन्, तर ज्यान लोथि्रएपछि कसको के लाग्छ ? तैपनि चौतारामा, दोबाटामा, कुइनेटामा र पानीपँधेरामा सबै एक्कै ठाउँ हुन्थ्यौँ । बिसाइ पनि फेर्‍यो, साथीहरूलाई पनि पख्र्यो । यो अघि हिँड्नेहरू-अनुकूलको नीति थियो । हिँड्न थालेपछि फेरि छरिताहरू अघिअघि, ‘भद्रहरू’ पछिपछि ।
मध्याह्नतिर आँबुखैरेनीबाट उक्लिएको त्यो कुनै अभियानजस्तो टोलीले महाभारत पर्वत शृंखलाको एउटा अग्लो चुली छिम्केडाँडालाई ताकेको थियो । हिँडेको छ…., हिँडेको छ । एक घन्टा, दुई घन्टा, तीन घन्टा, चार घन्टा, पाँच घन्टा । ओहो, यस्ता घन्टा र मिनेटको के हिसाब ? अब समयको कुनै ख्याल गर्नै छाडियो । संसार जित्न हिँडेका योद्धाझैं रमाउँदै र उत्तेजित हुँदै हामीले बाटो छोट्याइरहेका थियौँ । खोला तरिसकेपछि, डाँडो काटिसकेपछि र नयाँ बस्ती नजिकिन थालेपछि स्वागतद्वार र तुलमुनिबाट छिर्नुपथ्र्यो । कतैकतै बारीका काँन्ला र रुखका हाँगाहरूमा समेत तुलहरू झुन्डाइएका थिए- अतिथिहरूलाई हार्दिक स्वागत छ ! मध्याह्न नछिप्पिँदै झोला भिरेर पैदल हिँडेको टोली बास बस्ने गन्तव्यमा पुग्दा साँझसमेत लल्याकलुलुक परिसकेको थियो । जुनेली रातमा मात्रै टोलीका सबै सदस्य फोक्सो फुलाउँदै छिम्केडाँडाको फेदीमा सुस्केरा हाल्न पुगे ।
तनहुँको छिम्केडाँडामा फागुपूणिर्मामा बर्सेनि मेला लाग्दो रहेछ । यसपालि स्थानीयवासीले थप पर्यटन प्रवर्द्धन होस् भनेर महोत्सवको आयोजना गरेका रहेछन्- छिम्केश्वरी पर्यटन महोत्सव-२०६५ । प्रचार-प्रसार पनि होस् भन्ने हेतुले होला, निम्तामा पत्रकारितासँग सम्बन्धित कवि-लेखकहरू अलि बढी थिए । तनहँु थातथलो भएका कवि अनिल श्रेष्ठ अघिल्लै दिन निम्ता बोकेर राजधानी आएका थिए । साहित्यकार मातृका पोखरेल, यात्रा-निबन्धकार युवराज नयाँघरे, ललितपुरका कवि केशव सिलवाल, भक्तपुरका चंकी श्रेष्ठ, रोल्पाका नवीन विभास र पर्वतमा जन्मे-हुर्केको यो अर्को ज्यानसहितको टोली कवि श्रेष्ठकै अगुवाइमा माइक्रोबसमा चढ्यो । र, पुग्यो आँबुखैरेनी । माइक्रोबाट उत्रेपछि गाउँमा केटाकेटीमा सुनिने एउटा गीतको सम्झना भयो- आइपुग्यो खैरेनी, झल्को लाइरहनी ! आँबुखैरेनीमा पुगेपछि मलाई घरतिरको झल्को लाग्यो । गाउँले आफन्तीको पनि झल्को लाग्यो । तर, झल्को मेटाइदिन त्यहाँ गोर्खाका साहित्यकारहरू नमस्कारसहित उभिइरहेका थिए । नमस्कार कवि मोदनाथ मरहठ्ठा, नमस्कार कवि नारायण पोखरेल, नमस्कार अरू सबै स्थानीय पि्रयजन । खैरेनीमै खाना खाएर टोली माथि भीरतिर ठडियो । कतै सिंढी, कतै गग्रेटा, कतै गौंडा, कतै काँन्ला, कतै बारीका इत्ला र खेतका आली । हामी हिँडिरहेको बाटो यस्तै थियो । कतै स्मृति, कतै राजनीति, कतै समाज, कतै साहित्य, कतै जीवन, कतै संस्कृति । हाम्रो कुराकानीको विषय पनि यस्तै थियो । कतै ठट्टा, कतै व्यंग्य, कतै सहमति-असहमति, कतै हाँसोरंग, कतै पिठ्युँपछाडिका साथीहरूमाथि खिसीटिउरी, कतै बालादिनका गफ । बाटैभरि दोहोरिरहेका थिए यस्तै-यस्तै सन्दर्भ ।

कवि चंकी श्रेष्ठ अघिअघि हिँड्न खुब रुचाउँदा रहेछन् । रुचि मात्रै होइन, उनले आफ्नो हिँडाइमा दम पनि देखाए । भीरपाखामा हुर्केको ठिटो भएकाले सबै साथीहरूभन्दा फुर्तिलो छु भन्ने त मलाई लागेकै हो । मैले खुला रूपमा त्यस्तो फुर्ति गरेको भए चंकी चुनौती दिन अघि सर्थे होला । पछि पटक्कै नहटी यात्राको अगुवाइ गरिरहे उनले । ठानेको थिएँ, यो भक्तपुरे अधबैंसेलाई मैले के बाँकी राखुँला र ? हाम्रोबीच सानोतिनो अघोषित प्रतिस्पर्धाजस्तै भइरहेको थियो, घोषित भएका भए चंकी झन् चेत छोडेर दौडन्थे होला । सबैलाई थाहा भयो, काठमाडौंका गल्ली-गल्लीमा लखरलखर हिँडिरहने उनी हिँड्नमा हार नखाने मान्छे रहेछन् । आयोजकतिरका अगुवा अनिल पछि कतै स्याँ-स्याँ गर्दै थिए । हामी भने सोध्दै-खोज्दै निरन्तर अघिको अघि नै भइरह्यौँ ।
झन्डै सात घन्टाको बाटो पार गर्दै चंकी, केशव र म बास बस्ने ठाउँमा अलि छिट्टै पुग्यौँ । तर, त्यसरी अघि पुगेर जित्नु केही थिएन । तुलनात्मक रूपमा केशव हिँडाइले बढी आलसतालस परेका थिए । उनको शरीरमा जाँगरको कुनै संकेत थिएन । हामी अरू साथीहरू आउन्जेल घरबाहिर पाखामा बस्यौँ, पूर्वतिर उकालो लागिरहेको जून नियाल्दै । हामीलाई राख्ने भनिएका दुई गाउँले घर हामी पुग्नुअघि नै मान्छेले खचाखच थिए । आँगनको वारिदेखि पारिसम्म मान्छे, पिंढीको वल्लो डिलदेखि पल्लो छेउसम्म मान्छे । धन्सारको आँटीमा पनि पाहुना, बारीका गरातिर पनि पाहुना, चौतारीको पेटीतिर पनि पाहुना । पसिना पुछ्दै आएका सहकर्मीसितै हामी पिंढीको गुन्द्री तानेर बस्यौँ । ओत लाग्न आएका ती दर्जनौं पाहुनालाई एकाघरको परिवारका सदस्यहरूले कसरी बन्दोबस्त मिलाउने होला भनेर हतारिएका देखिन्थे । यता यतै पाहुना छन्, उता उतै पाहुना । केहीबेरपछि खानाका लागि अनुरोध गरियो । हामीसहितको १५/२० जनाको ठूलो टोली उबडखाबड आँगनमा गुन्द्री ओछ्याएर ‘भान्सा’ का लागि तयार भयो । लोडसेडिङको कुनै चिन्ता थिएन, टहटह जूनको उज्यालोमा हामीले आ-आफ्नो भाग समात्यौँ । पातका टपरीमा भात, त्यसैमा कुखुराको मासु र झोल । झोल जोगाउन कति धौ ।

त्यो दृश्यले गाउँघरका पुराना बिहेका जन्ती-भतेर सम्झाइदियो । मासुको झोल जोगाउन टपरीभरिको भात एकैचोटि गज्याकगुजुक मुछेर खान थालियो । त्यसो नगर्नेको रस एक्कैछिनमा भुँइभरि आहाल हुन्थ्यो । दिनभरिको थकानले पो हो कि अहा ! त्यो खानाको स्वाद कति स्वादिलो । त्यो मासुको झोल कति झोलिलो । त्यो खाना कति खाइरहुँजस्तो । थपी-थपी खाइयो टपरीमा । चुठिसकेपछि थाहा भयो, भोलिपल्टै हुने कार्यक्रमका लागि स्थानीय क्षेत्रका सभासद् सुरेश आलेमगर पनि त्यहीँ बास बस्न आउँदै रहेछन् । ‘ल, है सभासद्को टोली पनि तल आउँदै छ, खानाको तयारी गर्दै गरौँ ।’ यस्तै गाइँगुइँ सुनिन थाल्यो । त्यहीँ रहेका कतिपय पाहुनाले पनि खानाको पालो पाइरहेका थिएनन् । भात फेरि पकाउनुपर्ने थियो, कुखुरा फेरि भुत्लाउनुपर्ने थियो, मसला सिलौटामा फेरि पिस्नुपर्ने थियो, टपरीको फेरि जोहो गर्नुपर्ने थियो । अब सभासद्को टोली फेरि यतै भोको पेट लिएर सुत्न आउँदै छ । भन्दाभन्दै पुलिसको एक खेप आँगनमै आइसक्यो, निधारभरि पसिना र हातमा एकएक थान लौरो टेकेर ।

गाग्रीबाट पानी सार्दै-चुठ्दै गर्दा केही पाहुना हस्याङ्फस्याङ गर्दै थिए । खाना खाइसकेपछि बिरालाले पनि मुख पुछ्छ । तर, केही तनहुँवासी सज्जनसमेत चिसै हात पिंढी, खोपी र मझेरीतिर कुद्दै थिए । कसैले कसैलाई सोधेन, कसैले कसैलाई अब के गर्ने भनेन । पाहुनाहरूको अनपेक्षित उपस्थितिले घरबेटीलाई मात्रै होइन, पाहुनाहरूलाई पनि झस्काएको थियो । के आजको रात कुनै सिरकभित्र गुटमुटिन पाइएला ? सिरक त के, गुन्द्री र आँगन पनि नपाइने आशंकामा चिसै हात पाहुनाहरू सचेततापूर्वक गुन्द्री र कम्बलको खोजीमा क्रियाशील थए । केही स्थानीय पत्रकार मित्रहरू काखीमा कम्बल र गुन्द्री चेपेर पाखातिर लाग्दै थिए । केही भद्रजनहरू आफ्ना लागि गुन्द्री र सिरक स्टक राखेर गफिँदै थिए । हाम्रा साथीहरू पनि जो-जसले छिट्टै चुठे, उनीहरू पिंढीमा गुन्द्रीमाथि पल्टे । बाँडचुँड गरेर कम्बल ओडे ।

अब आँगनमा खाना खाइनसकेको सभासद् सुरेश आलेमगरको टोली आइपुग्यो । हाँसीमजाक गर्दै र गफ छाँट्दै गरेका स्थानीय पत्रकार महोदयहरू घरि आँगनमा र घरि चहुर गरिरहेका थिए । उनीहरूको फुर्तिफार्ती र बडप्पन बडो गज्जबको थियो । कसैले ‘बाबुहरू को हो ?’ भनेर सोध्यो भने उनीहरू अभिमानका साथ ‘हामी पत्रकार !’ भन्थे । राष्ट्रिय राजनीतिदेखि अन्तर्राष्ट्रिय अर्थनीतिसम्म उनीहरूको चर्चाको विषय थियो । घरि उनीहरू स्थानीय युवतीका नाममा ठट्टा गर्थे । घरि मन्त्रीहरूका भाषणमाथि विवाद गर्थे । मित्रहरूको चकचकी साँच्चै रमाइलो थियो । खाइसकेर आङ पनि तान्न पाइएको थिएन, चंकी श्रेष्ठ, नवीन विभास र म त एक्लै पो भएछाँै । कति छिट्टो हाम्रै सहयात्रीहरू पनि कोही खोपीछेउमा, कोही पिंढीमा पल्टिइसकेछन् । मातृका पोखरेल, मोदनाथ मरहठ्ठा, युवराज नयाँघरे, केशव सिलवाल, नारायण पोखरेललगायतका साथीहरू एक/दुईवटा कम्बलभित्र खुम्चिएर सुतेछन् । एकै गुन्द्रीमा तीनजनासम्म टाँस्सिएका बाबै ! बिचरा, दिनभरिको असिनपसिनले दिग्दार भएका र लोत परेर थाकेका ती ज्यानहरूको हालत कति दुःखी थियो ।

ज्यान त हाम्रो पो झन् दुःखी हुने भो अब । चंकी, नवीन र म आँगनमा घरि यता, घरि उता ओहोरदोहोर गरिरह्यौँ । दिनभरिको थकानले जीउका आँख्ला-आँख्ला दुख्दै थिए । आलस्यले शरीर पूरै गलित थियो । आरामको खोजीमा थुप्रैपटक हाइ काडिसकेका थियौँ हामीले । तर, आराम कतिवेला गर्ने हो, कुन ठाउँमा गर्ने हो- केही निधो थिएन । नजिकमा कोही आएर सान्त्वना दिए पनि कति राहत महसुस हुँदो हो भन्ने लागिरहेको थियो । जसले हामीलाई त्यहाँ पुर्‍याएका थिए, ती कवि अनिल पनि कता गायब कता । रात छिप्पिन लागिसक्यो । लौन के गर्ने हो ? बारीतिर आगो फुकेर बसौं भने डढेलोको जगजगी । त्यो अग्लो डाँडामा एकनासै स्याँठ चलिरहेको थियो । पारि वनमा सल्केको आगो केशरीको धर्कोजस्तो देखिएको थियो । बाहिर आगो उडाउँछ भनेर भतेर पनि गोठभित्र पकाइँदै थियो । तब हामीले आगो ताप्न कहाँ पाउनु ? सिरक, कम्बल र गुन्द्री खोसाखोसमा सकिएका थिए । हाम्रा नाममा केही बाँकी थिएन । ‘अनिलजी खोई, अनिलजी ?’ चंकी भन्दै थिए । बिचरा, कवि अनिल पनि के गरून् ! उनले सोच्दै नसोचेको संख्यामा पाहुनाको पहिरो चलेपछि कति तनाव भए होला उनलाई । त्यो कविता फुराउने टाउको पाहुनाको अस्तव्यस्तता देखेर कहाँ पुगेर रन्थनिएको होला ।

केही स्थानीयले आक्रोश पोख्दै थिए, ‘यही अनिलले त हो, यो बर्बाद पारेको । नचाहिएका कविहरू लिएर आएछ काठमाडौंबाट । क्यार्न ल्याउन परेको थियो कविहरू ? पत्रकार भए त पुगिहाल्थ्यो नि ! दुनियाँका कवि र सबि चाहिएकै थेनन् ।’ अनिल श्रेष्ठलाई यस्ता आरोप लगाउनेहरू हामीतिर फर्केर सोध्थे, ‘हो कि हैन, भन्नुस् त ?’ चंकीले ‘हो मा हो’ मिलाए, ‘त्यै त यी कवि, रवि, छवि बेकारका हुन् ।’ उता अलि पल्तिर बसेका स्थानीय पत्रकारहरू गलल्ल-गलल्ल हाँसिरहेका थिए । कत्रो सान पत्रकारको, अनि बिचरा कविहरू ! लौन, के गर्ने हो ? लौन, कसो गर्ने हो ? हामीसँग कुनै उपाय थिएन । हामीसँग कसैलाई केही भन्ने र कतै केही गर्ने उत्साह पनि थिएन । लौन, रात कता काट्ने ? हामी केहीबेर यता र उता गुन्द्री र कम्बल पाइन्थ्यो कि भनेर चहार्‍यौँ । एउटै गुन्द्री पाए पनि आँगनमा वा बलेसीतिर पल्टन हुन्थ्यो । कतै केही फेला परेन । त्यही घरका इष्टमित्र र नातागोता पनि पिंढीको डिलमा गुन्द्रीमाथि पल्टेका थिए । खाना नखाएका र सुत्ने बन्दोबस्त नभएका अरू पाहुना पनि थिए, सभासद्को टोलीमा । हाम्रो ज्यान भएको थियो- थचक्क बसौँजस्तो, घुत्रुक्क सुतौँजस्तो, डङरङ पल्टौँजस्तो । तर, कुनै उपाय थिएन । उस् !

उस् ! कतै घर खोज्न जाऊँ भने नजिकमा कुनै घर थिएनन् । अलि माथि दुई/चार घर थिए । तर, ती दिउँसैदेखि घन्चमन्च भइसकेका थिए । माथि हेर्‍यो, जंगल । तल हेर्‍यो, जंगल । अर्को बस्तीमा पुग्न झन्डै तीन/चार घन्टाको बाटो थियो । र, सँगै थियो अन्धकार, भिर, मध्यरात, अनि एकलास । फर्केर जानु पनि कहाँ जानु ? अघि बढ्नु पनि कहाँ ? पछि हट्नु पनि कहाँ हट्नु ? नवीनजी त फर्केर जाउ” भन्ने प्रस्ताव गर्दै थिए । ‘केहीबेर पर्खौँ न !’ चंकीभित्र कतै आशाको त्यान्द्रो थियो । यसरी रातारात र्फकनुको सन्देश राम्रो पनि हुने थिएन । फेरि हामी तीन दिनको निम्ता पाएर गएका थियौँ । दोधारे मन झन्झन् दोधारमा र झन्झन् संकटमा पर्दै थियो ।

त्यो घरका घरबेटीबा खुरुखुरु कोदाको सुकेको नल ओसार्दै थिए । पाहुनाका लागि सुत्ने व्यवस्था होस् भनेर उनले बारीबाट त्यसरी नल ल्याएका रहेछन् । मुठाका मुठा उनले ल्याएको नल ओछ्याएर पाहुनाहरू घरको पालीमुनि, गोठको छेउछाउमा र भकारोका ढुंगामाथि पल्टँदै थिए । गोठतिर कतै पल्टने ठाउँ छ कि भनेर म साथीहरूलाई छोडेर त्यता पसँे । त्यहाँ खाना पाक्दै थियो ।

छेउमा एकजना अपरिचित साथीले एउटा कम्बल र गुन्द्री चपक्क समातेर बसेका रहेछन् । ‘ओहो, साथी तपाईंले कम्बल पाउनुभएछ नि ? हेर्नुस् न हामीले त केही पनि पाएनौँ ।’ मेरो गुनासो सुनेर उनले भने, ‘यो हामी तीनजनाको हो । तपाईंलाई चाहिएको भए ऊ त्यो माथि छ ।’ उनले गोठको उपल्लो आँटीतिर देखाए । मैले लिस्नो चढेर हेरेँ । बाबै, त्यहाँ त तीन-तीन थान कम्बल र गुन्द्री पोको पारेर राखिएका रहेछन् । हामी पनि ठ्याक्क तीनजना थियौँ । लौ है, दुःखीका दिन फिर्ने भए ! मैले चंकी र नवीनजीलाई तुरुन्तै बोलाएँ- साथी हो, अब बाँचिन्छ । कसैले थाहा नपाओस् भन्ने हेतुले हतार-हतारमा हामीले एक-एकवटा गुन्द्री र कम्बल काखीमा चेपेर बारीको काँन्लो खोज्न अघि बढ्यौँ । ‘बाँचियो यार,’ साथीहरू भन्दै थिए । ‘धैर्य गर्नुपर्छ दुःखीका दिन आइहाल्छन्,’ मैले पनि गफ दिएँ ।

‘ए, पख् पख् ! ए, कुन हो त्यो हाम्रो कम्बल
लैजाने ? समात्-समात् ! को हो अर्काको कम्बल
चोर्ने ?’ गोठबाट निस्केका मात्रै के थियौँ, माथि चहुरबाट पाँच-छजनाको भीड हामीलाई गाली गर्दै हाम्फाल्न थाल्यो । काँन्ला-काँन्ला फराल्दै आएका ठिटाहरू एकाएक हामीलाई झम्टन थाले । म झन्झन् छिटो कुद्न थालेँ । चंकी श्रेष्ठ र नवीनजी टक्क रोकिए । ‘कसले राखेको भनेर सोध्नु पर्थेन ? यी कम्बल हाम्रा हुन्, पाँच थान थिए । अरू खोइ ?’ हेर्दाहेर्दै उनीहरूले हाम्रा हातबाट कम्बल र गुन्द्री मात्रै होइन, हाम्रो निद्रा र सपना पनि जबर्जस्ती खोसे । हामीले जम्मा तीन थान मात्रै ल्याएका थियौँ, उल्टो पाँच थानको अबगाल आइलाग्यो । हल्ला-खल्ला सुनेर पल्लो आँगनबाट कोही आयो, ‘ए साथी हो, कम्बल एकथान दिनुस् न, सभासद्ज्यूलाई केही पनि छैन ।’ तर, ती साथीहरूले कसैको कुरा सुनेनन् । ‘सभासद् होस् कि मन्त्री, गोलीमार !’ यसो भन्दै उनीहरू माथि चौतारातिर उक्ले । हामीलाई चोरको आरोप लगाउँदै माथि जाने सज्जन मित्रहरू त तिनै अघिका पत्रकार पो रहेछन् । ‘साथीहरू यी गुन्द्री-कम्बल तपाईंहरूका हुन् भन्ने हामीलाई थाहा थिएन,’ चंकीजीले स्पष्टीकरण दिए । स्पष्टीकरणले जोगायो, धन्न दुई/चार थप्पड खाइएन ।

‘अनिलजी खोइ, अनिलजी ?’ चंकीले अब यसो भन्न पनि छोडे । ‘अब कुनै विकल्पबारे नसोचौँ साथी हो,’ नवीनले यसो भनेर आफ्नो गह्रुंगो झोला बोके । रात झन्झन् छिप्पिँदै थियो । चंकी अघि लाए, मैले लामो सास फेरेँ । जताबाट आएका थियौँ त्यतै र्फकन अब हामी एकमत भयौँ । र, त्यो रमाइलो, प्यारो र उत्सवमय आँगन छोडेर बाटो सोझायौँ ।

13/08/2009 

नयाँ पत्रिका, दैनिक 

No comments: