Sunday, September 17, 2017

एमाओवादीको “झोलामा पुस्तक अभियान”



काठमाडौ/ एमाओवादीको केन्द्रीय कार्यालयमा सधैजसो राजनीतिक भेला बैठक भइरहन्थ्यो । तर आइतबार फरक दृश्य देखियो । पार्टीका सचिव गिरिराजमणी पोखरेललाई कवि मातृका पोखरेलले झोला र त्यसमा राख्न दुइटा किताब दिए । पोखरेलले मुस्कुराउदै किताब हालेर झोला भिरे । त्यत्ति गरेपछि कवि बलराम तिमल्सिनाले घोषणा गरे– हाम्रो ‘झोलामा किताब अभियान’ सुरु भएको छ ।

पार्टीको सांस्कृतिक मोर्चा एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघले सुरुवात गरको अभियानलाई पार्टी रुपान्तरणको अभियानमा महत्वपूर्ण सावित हुने नेता पोखरेलको भनाइ थियो । किताबकै बलबाट आफू अहिलेको अवस्थासम्म आइपुगेको स्मरण गर्दै अभियानले अध्ययनका लागि उर्जा दिने बताए । उनले पछिल्लो समय अध्ययनको संस्कृति घटिरहेकोमा चिन्ता व्यक्त गर्दै भने, । पहिलो किताब पसलमा सोध्दा सबैभन्दा बढी किताब किन्ने माओवादी भन्थे, अहिले सबैभन्दा कम किन्ने माओवादी भएका छन् । यसले अध्ययन संस्कृति घटेको देखाउछ । यसलाई पुनजागृत गर्न अभियान आवश्यक थियो ।’

मोर्चा इन्चार्ज विश्वभक्त दुलाल आहुतिले पनि अध्ययन संस्कृतिको क्षयीकरण भएकोले अभियान आवश्यक रहेको प्रष्ट पारे । अहिले झोलामा पुस्तकको सट्टा सिलबन्दी बोलपत्रको खाम हुन थालेको छ । क्रान्तिकारी महिलाको झोलामा पनि पुस्तक भेटिदैन, अरु–अरु नै चिज भेटिन्छ ।’ उनले चिन्ता व्यक्त गरे ।पुस्तकविनाको ज्ञान अपरिस्कृत हुने बताउदै उनले भने, ‘ज्ञानको स्रोत त जीवन नै हो । तर संस्लेषित ज्ञान भने पुस्तकमा मात्र हुन्छ । त्यसैले हामीले शिष्टाचारको प्याकेजमा नमस्कार, सन्चै मात्रै होइन, कुन पुस्तक पढिरहनुभएको छ भनेर पनि सोध्ने अभियान थालेका हौं ।’

कार्यक्रममा नेकपा माओवादीको सांस्कृतिक मोर्चा अध्यक्ष इश्वरचन्द्र ज्ञवालीले पनि अभियानमा आफ्नो ऐक्यवद्धता जनाए । उनले पार्टी फरक भए पनि सांस्कृतिक मोर्चाको गन्तव्यमा धेरै फरक नपरेको भन्दै अभियानमा सहभागी हुन र सहकार्य गर्न तयार रहेको बताए । अभियानमा पठन संस्कृतिलाई जीवनको अभिन्न अंग बनाउदै दैनिक भेटघाटमा सञ्चो विसन्चोको साथमा पुस्तकबारे पनि चर्चाको संकल्प गरिएकोमहासंघका संयोजक तथा कवि मातृका पोखरेलले बताए ।


कार्यक्रमका बारेमा नयाँ पत्रिकाका पत्रकार “कला अनुरागी ” को रिपोर्ट ……………….

No comments: