Thursday, March 5, 2020

कविता : सडकको सिकार

 - मातृका पोखरेल


सडक धेरै फराकिलो छ
उसले सहरका घरहरूलाई 
एकापसमा जोडेको छ
उहिल्यैझैँ,
सहरका प्रत्येक घरहरू
सडकसँग बेखबर छैनन्
अब गाउँतिर तन्कँदै छ सडक
हिजोझैँ,
गाउँहरू पनि सडकसँग बेखबर छैनन्
गाउँहरू सडकसँग जोडिदै छन्
जसजसलाई ढाँट्न खोज्दै छौ
ती सबै,
सडकको सागरका साक्षी छन्
तिमीले विगतमा
सानासाना खहरेहरूमा खेलेको सिकारझैँ
सडकमा उर्लिएको सागरमा
अब कसरी गर्छौ सिकार ?
यति बेला
सबैको कानमा गुन्जिएको छ
सडकको गीत
अब अन्यथा हुन्छ
सडकको सिकार नगर्नू ।

हुनसक्छ
तिमी स्वस्ति धून मात्र मन पराउँछौ,
तिमीहरूलाई मन परेन
सडकको सागरले खोजेको आधुनिक धून,
तर कसरी ढाँट्न सक्छौ?
हामी सबैले सुनेको
सडकमा पोखिएको गीत
हिजो तिमीले खुल्लमखुल्ला ढाँटेछौ
म पढिरहेको थिएँ समाचारपत्रहरूमा
मान्छेहरू अब अन्यथा हुन्छ
अस्ति हामी सबैले सडकमा
एउटै गीत सुन्यौँ
एउटा असफल र अप्रिय सङ्गीत भर्न
तिमी कोसिस गर्दै छौ
मान्छेहरू ! अब अन्यथा हुन्छ
सडकको सिकार नगर्नू ।

कसरी भुल्न सकिन्छ
ती दिनहरू,
सडकमा पोखिएको विशाल समुद्र
समुद्रभरि तैरिएका टाउकाहरू
नयाँ युगलाई आमन्त्रण गरिरहेका गीतहरू
इतिहासले जिब्रो टोकिरहेको दृश्य
अब अन्यथा हुन्छ,
सडकको गीतमा
तिमीले अप्रिय धून हाल्ने षड्यन्त्र ग¥यौ,
असफल धून
मान्छेहरू,
अब अन्यथा हुन्छ,
सडकको सिकार नगर्नू ।


कलम, पूर्णाङ्क –४४–४५,२०६३, आश्विन–फागुन

No comments: