Monday, April 26, 2021

कविता : यो सहरमा को को बस्छन् ?

 - मातृका पोखरेल


यो सहरमा को को बस्छन् ?
कहिलेकाहीँ मलाई लाग्छ
शासकहरु पुरै बेखबर छन् ।

शासकहरुलाई राम्ररी थाहा भएको भए
उनीहरु पटक्कै सान्त नहुनुपर्ने हो ।

कसै गर्दा पनि निभ्न नसकेको आफ्नो भोकको
कारण बुझेर
यही शहरमा बस्छ
धावा तामाङ
उसको भोकको जानकारी पाएको भए
शासकहरु सान्त नहुनुपर्ने हो ।
यही शहरमा बस्छ पीडा र कष्टहरूको ठुलो भीड
शासकहरु पक्कै बेखबर नहुनुपर्ने हो ।

इतिहासका क्रुर स्मृति
आफ्ना पुर्खाहरुको नाक काटिएको इतिहास
किशोर बिध्यार्थी रामलाल महर्जन भरखरै घोकेर सुतेको छ
उसले सपनामा चिच्याइरहेको आवाज
छिमेकी घरहरूले पनि सुनेकाछन्
उ यही सहरको आदिवासी हो ।

अरबको खाडीबाट
दाजुको लास आएको बाकस कुरिरहेको
यो सहरमा धनबहादुर मगर बस्न थालेको पनि धेरै वर्ष भैसक्यो ।
हजारौं धनबहादुर मगरहरू छन् यो शहरमा
तर पनि शासकहरू गजवले निदाइरहेकाछन् ।

जनयुद्धमा बेपत्ता बाबु खोज्न दोलखाबाट राजधानी आएको नेत्रबहादुर खड्का
बल्खु किनारमा गिट्टी कुटेर जिविका गर्छ
धुमिल भैसकेको बाबुको अनुहार
हिजो मात्र!अब बाबूलाई भेटेपनी नचिनिने कुरा गर्यो
अचेल उ बेग्लैबेग्लै कुरा गर्दैछ

मुम्बईमा बहिनी बेच्ने दलालको नामै किटेकी थिइ हीरालक्ष्मी गुरुङले
धेरै वर्ष भयो मुद्दा लड्न बसेकी ऊ यो सहरमा
न्याय पाउने कुरामा उसको विश्वास हराउँदै गएको छ ।

सहरमा गाइँगुइँ हल्ला चल्दैछ -
धावा तामाङ
धनबहादुर मगर
नेत्र बहादुर खड्का
रामलाल महर्जन
हीरालक्ष्मी गुरुङ
यस्तैयस्तै हजारौं मानिसहरूको भेट हुँदै छ अरे
सहरको कुनै कुनामा
केही आगोजस्तो एउटा पदार्थ सल्बलाइरहेको देखेको छु सहरमा
चेतना भएका शासक भए पक्कै यसरी ननिदाउनु पर्ने हो ।

म शासक भएको भए यतिबेला
कति छट्पटिन्थेँ होला यो सहरमा
या त आत्महत्या गरिसक्थेँ
या त टुडिखेलमा उभिएर
हात जोडेर माफी मागिरहेको हुन्थें
म शासक नभएकोमा यतिबेला सारै खुसी छु ।

यो शहरमा को को बस्छन् ?
कहिलेकाहीँ मलाई लाग्छ
शासकहरु पुरै बेखबर छन् ।

No comments: