Thursday, March 5, 2020

कविता : चस्मा

 - मातृका पोखरेल


तिम्रो बजारबाट किनेको चस्माबाट
म तुरुन्तै मुक्ति चाहन्छु ।

तिम्रो बजारबाट किनेको चस्माबाट
उस्तै देखियो
गुन्डागर्दी र राजनीति
उस्तैउस्तै देखियो
दलाली र निष्ठा
समाजसेवा र व्यापार
केही फरक देखिएन ।

अहँ ! केही फरक देखिएन
सुकिला र मैला मनहरू
परिश्रमबाट आएको ज्याला
र कमिसनबाट आएको नगद
कतै फरक भएन ।

तिम्रो बजारबाट किनेको चस्माबाट
कालो र सेतो रङ
उस्तैउस्तै देखियो
कहीँ केही छुट्टिएन ।

अब म ,
तिम्रो बजारबाट किनेको चस्माबाट पूरै मुक्त हुन चाहन्छु 
नयाँ किन्न सकिन भने पनि
तिम्रो बजारबाट किनेको चस्मा
ढुङ्गामा किचेर
टुक्राटुक्रा पार्न चाहन्छु ।
कमसेकम खाली आँखाले
कुनै दृष्टिभ्रम हुँदैन
म बाँकी जीवन दृष्टिभ्रममा बाँच्न चाहन्न ।

यो चस्मा बजार तिम्रो हो
यो उत्तरआधुनिक बजार
मलाई थाहा छ ,
मैले अर्कै बजार खोज्नु छ
तिम्रो बजारबाट किनेको चस्माबाट
जे हेरे पनि भ्रमैभ्रम देखिन्छ ।

तिम्रो बजारबाट किनेको चस्माबाट
अहँ ! मैले हेर्न खोजिरहेको त्यस्तो केही पनि देखिएन
पूर्वबाट उदाउन खोजिरहेको सूर्य पनि देखिएन
अहँ ! केही पनि देखिएन
हिलोमा फुल्न प्रतिस्पर्धा गरिरहेका कमलका फूलहरू पनि देखिएनन् ।

देखियोस् न ,यो चस्मा लगाएपछि
हाँसीहाँसी झोला बोकेर विद्यालय गएका बच्चाहरू
देखियोस् न, क्लबभित्र ठुलो स्वर निकालेर हाँसिरहेका ज्येष्ठ नागरिकहरू
निरन्तर सुनियोस् उनीहरूको हाँसोको गुन्जन
तिम्रो बजारबाट किनेको चस्माबाट
अहँ ! त्यस्तो केही पनि देखिएन ।

तिम्रो बजारबाट किनेको चस्माबाट
म तुरुन्तै मुक्ति चाहन्छु ।


शाल्मली उनन्तीसौँ अङ्क, २०७३ जेठ

No comments: