Sunday, April 21, 2019

प्रलेसको बाइसौँ परिसंवाद कार्यक्रम सम्पन्न ।

काठमाडौँ । “राष्ट्रियता र पूर्वीय दर्शन” विषयमा प्रगतिशील लेखक सङ्घको बाइसौँ परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । प्रलेसका केन्द्रीय उपाध्यक्ष गोपिरमण उपाध्यायले विषयवस्तु प्रस्तुत गर्नु भएको उक्त कार्यक्रम २०७६ वैशाख ६ गते (पहिलो शुक्रवार) केन्द्रीय कार्यालय बागबजारमा सम्पन्न भएको हो ।

कार्यक्रममा विषयवस्तु प्रस्तुत गर्दै उपाध्यक्ष उपाध्यायले नेपाली राष्ट्रियता “भारतखण्डे” सित होइन, “हिमवतखण्ड” सित जोडिएको दावी गर्नु भयो । नेपालमा “भारतखण्डे” को स्थानमा “हिमवतखण्ड” शब्दावली साहित्यकार मदनमणि दीक्षितले प्रयोग गर्न सुरु गरेको बताउँदै उपाध्यायले त्यसपछि मोदनाथ प्रश्रित लगायतका विद्वानहरुले सो सिलसिलालाई अगाडि बढाएको बताउनु भयो । उहाँले थप्नु भयो– पछिल्लो समयमा नेकपा (क्रान्तिकारी–माओवादी) का नेता मोहन वैद्य किरणद्वारा “हिमाली दर्शन” पुस्तक प्रकाशन गर्दै नेपाल “हिमवतखण्ड” को एउटा अङ्ग भएको दावी गरिएको छ ।

उपाध्यायको प्रस्तुतिमाथि राम घिसिङ, बालकृष्ण अधिकारी, जगत रेग्मी, भीम क्षेत्री, पुण्य गौतम विश्वास, डा. धु्रव घिमिरे, कृष्ण बस्नेत र केशवनाथ योगीले पुरक प्रश्नहरु राख्नु भएको थियो ।

उपमहासचिव आर.सी. न्यौपानेको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरी, महासचिव समिर सिंह, पूर्व केन्द्रीय अध्यक्ष मातृका पोख्रेल, केन्द्रीय पदाधिकारी लगायत केन्द्रीय सदस्य, पार्षद तथा ३ नं. प्रदेश र काठमाडौँ जिल्लाका साहित्यकार–कलाकारहरुको उपस्थिति रहेको थियो ।



www.pwa11th.blogspot.com बाट साभार 

No comments: