Thursday, March 5, 2020

कविता : अनेकोटले हेर्ने आँखा

 - मातृका पोखरेल

मलाई सबैभन्दा बढी
अनेकोटले हेर्ने आँखा
र, उसले देख्ने सपना मन पर्छ ।

मलाई जसरी मनपर्छ
अनेकोटका आँखा
सबैलाई मन पर्दैन त्यसरी
कोही डराउँछन्  उसका आँखासँग
र झन् डराउँछन्  उसका सपनासँग
तर म जति पटक उसलाई हेर्छु
उसको आँखाबाट एउटा नयाँ घाम उदाएको देख्छु
म प्रत्येक रात
आफूले देखेका सपनामा उसले देखेका सपना खोज्छु
चैत लागेपछि
माइला लामाको गीत
अर्जुन पराजुलीको कविता
निर्मला देवकोटाकी आमाको आँसु
च्याङ्बा लामाकी जीवनसङ्गिनीको
हत्या गरिएका रहरहरूसँगसँगै
म एकपटक अनेकोटको छातीमा उभिन्छु
र, फेरि सुम्सुम्याउँछु
सपनाका सुन्दर आकृतिहरूलाई
अनेकोटले देख्ने आँखा
मलाई साँच्चै मन पर्छ ।

सबैले देख्दैनन्
इन्द्रेणीमा पोखिएको रङ्ग
जसरी अनेकोटले देख्छ
सबैले बुझ्ेरै
भोकाएका मान्छेहरूको हृदय
जसरी अनेकोटले बुझछ
सबैले छाम्न सक्दैनन्
विस्तारवादी आराहरूले रेटिएको
संवेदनाको छाती
तर अनेकोटले राम्ररी छाम्नसक्छ
म विश्वस्त छु
अनेकोट मेरो विश्वासको धाम हो ।

भन्नेहरूले भनेकै छन्
आस्थाको भूगोलमा मेटिदै गएको छ सिमाना
ऊ चिन्ताग्रस्त छ
भन्नेहरूले यसो पनि भनेका छन्
अर्को ज्वालामुखीको स्वागतमा
ऊ फूलका मालाहरू बोकेर उभिएको छ
ऊ जे सोचिरहेको छ
हामी सबैको सपना सोचिरहेको छ ।

मलाई सबैभन्दा बढी
अनेकोटले हेर्ने आँखा
र, उसले देख्ने सपना मन पर्छ ।

०००
कलम साहित्यिक त्रैमासिक,  वर्ष १८, अङ्क ४, पूर्णाङ्क  ५४, वैशाख  असार २०६७

No comments: