Sunday, September 17, 2017

ढाकाको मध्यरात - श्रीओम श्रेष्ठ ‘रोदन’






सुनसान थियो ढाकाका सडकहरू । फाट्टफुट्ट साइरन बजाउँदै कुदिरहेका थिए प्रहरीका गाडीहरू । त्यही शून्यतामा हाम्रो गाडी अगाडि बढिरहेको थियो । होटल अगाडि गाडी रोकिएपछि मैले घडी हेरेँ । रातको दुई बजेको रहेछ । लालबहादुर रावलजीसँग बिदावारी भएर गायक तथा संगीतकार प्रदीप बमजन र म भित्रियौं होटलभित्र । काउन्टरमा कोही थिएन । कोही छ भनेर बोलायौं । एकछिनपछि आँखा मिच्दै एकजना कर्मचारी आइपुग्यो । हामीले कोठाको साँचो माग्यौं । उसले अरू साँचोहरू भएको ठाउँमा हेरेर अघि नै लगिसकेको बतायो ।


हामी सँगै कुर्सीमा बसिरहेका थियौं । हाम्रो कोठामा हामी दुईजना मात्र थियौं । हाम्रो साँचो कसले र किन लगेको होला भन्ने सोचिरहेको थिएँ म ।

झल्याँस्स सम्झिएँ । दिउँसो कार्यक्रम सकिएपछि हामी बजार घुम्न गएका थियौं । होटलको भुइँ तल्लामा विभिन्न पसलहरू छन् । एक तल्लामाथि उक्लिएपछि मात्र होटलको काउन्टर आउँछ । होटलको माथिल्लो तल्लामा जानका लागि त्यहीँबाट लिफ्ट चढ्नुपर्छ । बजारमा किनेका केही सामान कोठामा लैजानलाई लिफ्ट चढ्न लाग्दा लतिकाजीले पनि सामान पु¥याइ दिनुभएको थियो ।

बिहानको ब्रेकफास्ट हामी सबैले उहाँ र पवनजीको कोठामा खाएका थियौं । त्यतिबेला नै उहाँले भन्नुभएको थियो, ‘हाम्रो भेट आजसम्म मात्र हो भोलि त हामी पाँच बजेको बस चढ्नलाई चार बजे नै होटलबाट निस्कन्छौं ।’

हामी सबैजना एउटै गाडीमा चढेर नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा गएका थियौं । फर्कंदा यसरी एउटै कोठाका हामी दुई जना छुट्टिएर आउने हाम्रो कुनै योजना थिएन् । छुट्टिँदा पनि उहाँहरूले सामान लगेर कोठामा राखेको पनि सम्झिन सकिन मैले । निकै अप्ठेरो लाग्यो मलाई । हाम्रो कारणले अरूलाई अप्ठेरो नहोस् भन्ने चाहन्थ्यौं हामी । संंयोगले दुवैजना एउटै कोठाको भएकोले ढुक्क थियौं । जे नहोस् भन्ने सोचेको थियौं त्यही नै भयो आखिर । 

लतिकाजीहरू होटल पुग्नासाथ सामान लिन मलाई खोज्नु भएछ । मलाई नदेखेपछि काउन्टरमा जानु भएछ । साँचो लिएरै जानुभएको छ भन्ने थाहा पाएपछि मास्टर साँचो निकालेर कोठा खोल्नुभएको रहेछ ।

तर कोठाको साँचो मसँग पनि थिएन । कोठाबाट सामान राखेर फर्किँदा मातृकाजी र म लिफ्टमा सँगै परेका थियौं । साँचोको किरिंग ठूलो थियो । मातृकाजीले हाते ब्याग बोक्नुभएकोले उहाँलाई साँचो राख्न दिएको थिएँ । त्यो कुरो मैले त बिर्सिएको थिएँ नै उहाँले पनि सम्झनसक्नु भएन छ ।

अप्रिल १० देखि १५, २०१५ साहित्यिक तथा सांस्कृतिक कार्यक्रमका लागि जरा फाउन्डेशनबाट हामी ढाका आइपुगेका हौं । फाउन्डेशनका अध्यक्ष कृष्ण प्रसाईंको नेतृत्वमा राधेश्याम लेकाली, मातृका पोखरेल, नरेन्द्रबहादुर श्रेष्ठ, प्रदीप बमजन, महेश पौड्याल, नगेन्द्र पौडेल, अस्मिता भण्डारी, प्रमिस्था थापा श्रेष्ठ र म यात्रा टोलीमा थियौं । सीमा आभास, पवन पाठक र लतिका जोशी सिलगढीबाट बस चढेर आइपुग्नु भएको थियो । कार्यक्रम रुट फाउण्डेशन र ओइको लिमिटेड बंगलादेशकोले आयोजना गरेको थियो । दोस्रो दिनको कार्यक्रम सकिएपछि हामी नेपाली दूतावासको विशेष कार्यक्रम र रात्रिभोजका लागि पुगेका थियौं । राजदूत हरि श्रेष्ठ स्थापित साहित्यकार हुनुभएकोले पनि त्यो विशेष कार्यक्रमको आयोजना भएको हुनसक्छ ।

औपचारिक कार्यक्रम सकिएपछि रात्रिभोजको क्रममा धेरैजनासँग भेटघाट र परिचय भइरहेको थियो । कार्यक्रममा बंगलादेशमा प्रतिष्ठित पेशामा काम गरिरहेका नेपालीको अधिक मात्रामा सहभागिता थियो । म उभिएर खाना लिइरहेको थिएँ । एकजना चस्मा लगाएका गोरो युवकले मेरो नजिक आएर भन्नुभयो– ‘नमस्कार, हजुर श्रीओम दाइ होइन त ?’ 

‘हो’ मैले नमस्कार गरेर हात मिलाएँ ।

‘म लालबहादुर रावल’

‘तपाईंले मलाई चिन्नु हुन्न तर म हजुरलाई चिन्छु ।’ अभिवादन क्रममा भन्नुभयो ।

कतै म पनि चिनिपो हाल्छु कि भनेर गहिरिएर उहाँका दुवै आँखामा हेर्छु ।’

उहाँ आफ्नो परिचय गर्न थाल्नुहुन्छ ।

‘तपाई ५० सालमा जुम्ला आउनु हुँदा हाम्रो भेट भएको थियो ।’

२२ वर्षअघि पुगेको जुम्लालाई सम्झन खोज्छु । मधुरा दृश्य वरिपरि घुम्न थाल्छन् । तर लालबहादुरजीलाई भेट्दिन । म अलमलिरहेको थाहा पाएर रावलजी थप पुष्टि गर्नुहुन्छ ।

‘त्यतिबेला म कर्णाली टेक्निकल स्कुलमा पढ्दै थिएँ ।’ 

ओहो ? कस्तो अचम्म र संयोग । २२ वर्षअघि जुम्लामा भेटेको मान्छेसँग अहिले ढाकामा भेट हुनु । त्यो नि देख्नासाथ चिन्नु । त्यतिबेला मेरो प्रिय मित्र कवि मनरूप नेप्च्युन त्यहाँ पढाउनु हुन्थ्यो । उहाँकै निम्तोमा म जुम्ला पुगेको थिएँ । त्यहीबेला रारा तालसम्मको यात्रा गर्ने अवसर पाएको थिएँ । अहिले सम्झँदा पनि रोमाञ्चित हुन्छु म ।

जयबहादुरजीको शालिन व्यक्तित्व र व्यवहारबाट म प्रभावित भइरहेको थिएँ । उहाँले देशविदेशको अध्ययन र पिएचडी सकेर अहिले अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा काम र अध्यापनसमेत गराउँदै हुनुहुँदो रहेछ । प्रदीप बमजनजीसँग नेपालमा सँगै काम गर्नुभएको रहेछ । 

‘भोलि दिनभरि तपाईंहरूलाई घुमाउने जिम्मा मेरो भयो ।’ जयजीले हार्दिक अनुरोध गर्नुभयो । 

तर के गर्नु ? भोलि त नेपाल फर्किंदै छांै हामी । त्यो पनि दसै बजे होटलबाट हिँड्नुपर्छ भनिएको छ ।

‘त्यसो भए अहिले एक घण्टा भए पनि मलाई समय दिनुप¥यो ।’ यतिखेर अनुरोधभन्दा पनि बल नै गर्नुभयो ।

दूतावासमा हामी बिदावारी हुँदा झण्डै एघार बज्न लागेको थियो । ढिलो भइसकेको थियो । मैले त्यही संकेत गरेँ । तर उहाँ मान्ने पक्षमा हुनु हुन्थेन । 

‘होटलमा म पु¥याइहाल्छु, एक दिन ढिलो भएर केही हुँदैन । यो अवसर म गुमाउन चाहन्न,’ उहाँले प्रष्ट भन्नुभयो ।

हामीसँग अब कुनै विकल्प थिएन । हाम्रो यात्राको नेता कृष्णजी हुनुहुन्थ्यो । उहाँको स्वीकृति पाएपछि हामीहरू उहाँको गाडीमा उक्लेका थियौं । गाडीको चालक बंगलादेशी थियो । हामी तीनैजना गाडीको पछाडि सिटमा बस्यौं ।

केही बेरपछि गाडी इन्टरनेशनल क्लबअगाडि पुगेर रोकियो । मूल ढोकाबाट छिर्नासाथ सेक्युरेटीको अफिस थियो । त्यहाँ उहाँले कम्प्युटरमा आफ्नो सदस्यता नम्बर राखेर केही प्रिन्ट निकाल्नु भयो र भित्रियौं हामी । यहाँ सदस्यता नलिएका कोही पनि छिर्न नपाउने रहेछ, त्यो पनि विदेशी मात्रै । 

हामी भवनभित्र प्रवेश गरेनौं । स्विमिङ पुलको छेउको बगैंचाका कुर्सीमा बस्यौं । अन्य धेरैजना विदेशीहरू पनि पुलवरिपरि नै पिएर रमाइरहेका थिए । हामीलाई खानु केही थिएन । पियौं केही बेर । नयाँ भेटले पुराना दिनलाई नजिक्याउँदै लगिरहेको थियो । 

बिस्तारै अरू विदेशीहरू निस्कन थालेपछि हामी पनि निस्कियौं । बाहिर पुगेर गाडीमा चढ्दा एक बजिसकेको थियो ।

हाम्रो कोठाको साँचो जसले लगेको भए पनि पाइहालिन्छ नि भन्ने ठानेर प्रदीपजी र म पाँचांै तल्लामा जानका लागि लिफ्ट चढ्यौं । लिफ्टबाट निस्केर हाम्रो कोठामा जानका लागि पूर्व उत्तरतिर जानु पथ्र्यो । बाटोको मुखैमा कृष्णजी र नरेन्द्रजीको कोठा पथ्र्यो । त्यो कोठाको ढोका खुल्लै थियो र बत्ती बलिरहेको थियो । हामी सरासर त्यहीँ गयौं । कोठामा दुईजना दुईवटा खाटमा मस्त निदाइरहनुभएको थियो । छेउको कुर्सीमा कुट्टु टेलिभिजन हरेर बसिरहेका थिए । टेबुलमा पिउँदै गरेको हिृवस्कीको ग्लास र बोतल पनि थियो ।

सलाउद्धिन कुट्टु बंगलादेशका कवि र पकडवाला व्यक्ति पनि हुन् । कार्यक्रम र हाम्रो व्यवस्थापनको संयोजन पनि उनैले गरिरहेका थिए । एयरपोर्टमा हामीलाई लिन आएदेखि लगभग हामीलाई छोडेका छैनन् उनले । असाध्यै खट्न सक्ने मान्छे । कहिले नआत्तिने र नरिसाउने सरल स्वभावका छन् उनी ।

यो मध्यरातमा साथीहरूको कोठामा एक्लै पिउँदै गरेको देख्दा हामीलाई अचम्म लागेको थियो । दूतावासको कार्यक्रममा पनि कुट्टु साथै थिए । साथीहरूलाई पु¥याउन आएको भए पनि यति बेलासम्म त फर्कनुपर्ने । यहीँ बसेको भए पनि अरूहरू जस्तै सुतिसक्नुपर्ने । एक्लै किन बसिरहेको होला ? मनमा अनेक जिज्ञासाहरू तीव्र गतिमा दौडिए ।

हामीलाई देख्नासाथ उनी निक्कै खुशी भएर जुरुक्क उठे र गम्लङ्ग अँगालो मारे । तर उनको अनुहारमा कुनै परिवर्तन आएको थिएन ।

उसले अलिकति हडबडाएजस्तो गरेर सोध्यो–‘तपाईंहरूलाई कुनै दुःख त भएन ।’

कुट्टुको प्रश्न देखेर मलाई अचम्म लाग्यो । हामी ढिलो हुनुको कारण बतायौं । बिचरा उनी त हामी आइनपुगेकोले पीर गरेर बसिरहेको पो रहेछ । हामीलाई कतै केही भयो कि भनेर आत्तिएर दूतावासमा फोन गरेर सोधेछन् । प्रहरीलाई पनि हाम्रो बारेमा जानकारी गराएछ ।

अहिले राति साढे दस बजेपछि ढाकामा निकै हंगामा भएको रहेछ । पाकिस्तानबाट बंगलादेश स्वतन्त्र हुन गरिएको अभियानका कट्टर विरोधी मोहम्मद कमारुञ्जामनलाई रातको साढे दस बजे फाँसी दिइएको रहेछ । स्वतन्त्रता संग्राममा उनले गरेको जघन्य हत्या र बलात्कारको अभियोग र युद्ध अपराधीको रूपमा उनलाई फाँसी दिइएको थियो । फाँसी दिएलगत्तै उनको पार्टीका कार्यकर्ताहरूले सडकमा विरोध गर्दै तोडफोड गर्न थालेपछि तनाव भएको रहेछ । त्यही कारण राति खुल्ने पसलहरू र सवारी साधन बन्द भएको रहेछ । 

सडकको शून्यतालाई मैले स्वाभाविक रूपमा लिएको थिएँ । तर कुट्टुले हामी त्यही हुलमुलमा पो प¥र्यौं कि भनेर पीर लिइरहेका रहेछन् । 

बंगलादेशको स्वतन्त्रता अभियानमा ३० लाखभन्दा बढी मानिसको हत्या र दुई लाखभन्दा बढी महिलाको बलात्कार भएको थियो । बंगलादेश स्वतन्त्र हुनु हुँदैन भनेर उनले सन् १९७१ जुलाई २५ का दिन सेना लगाएर सुहागपुर गाउँमा १६४ भन्दा बढीलाई एकएक गरेर हत्या गरेका थिए । ६ घण्टामा पुरुष जति सबैको हत्या गरेपछि महिलाको बलात्कार गरेका थिए । त्यसपछि सुहागपुर गाउँ विधवा गाउँ बनेको थियो । त्यस घटनाको ४४ वर्षपछि आज उनलाई सरकारले बीस मिनेट झुण्ड्याएर मृत्युदण्ड दिएको थियो ।

सल्लाउद्धिन कुट्टु तनावले यति बेलासम्म कुरिरहेको भए पनि न उनले हामीमाथि आक्रोश पोखे न दुःख नै माने । उनको खटाइ र शालिनताबाट प्रभावित थिएँ म अहिले त झन् भित्रसम्मै छोइएँ । हाम्रो कारणले पाएको दुःखप्रति दुःख लाग्यो । तर गर्न के नै सक्थेँ र ? त्यसैले कुट्टुको सद्भावलाई सलाम गरेँ । कुट्टुको यही सद्भाव र हार्दिकतालाई नै ढाकाको प्रिय उपहार सम्झेँ मैले ।

http://ehimalayatimes.com बाट  

No comments: