Monday, March 2, 2020

कथा : म यसरी फर्किएँ


- मातृका पोखरेल 

विदेश जाने रहरले म फेरि यसपटक काठमाडौं पुगेँ । गाउँमा हुँदा रमेश र म अति मिल्ने साथी थियौं । यति मिल्ने साथी कि गाउँका मानिसहरूले हामी दुवैको नामलाई जोडेर एउटै बनाइदिएका थिए । बीस वर्षको उमेरसम्म हामीले सँगै खेल्यौं । एकघन्टाको बाटो भएको स्कूल सँगै पाटी बोकेर कुद्यौं । बानी, स्वभाव सबै कुरामा हामी यति नजिक भयौं कि अहिले सोच्दा पनि अचम्म लाग्छ । हाम्रा घरहरू सबै बेग्लाबेग्लै थिए । तर घरी म उसको घर घरी हाम्रो घरमा हामी पालो गरेर सुत्थ्यौं । हामी चार पाँच दिन छुट्टिन्थ्यौं वर्षमा । हामी दुवैलाई यति छोटो समय छुट्टिदा पनि लामो लाग्थ्यो । घाँसदाउरादेखि लिएर गाईवस्तु चराउने काम पनि हामी आपसी सल्लाहले मात्र गर्थौं।

हामी यसरी लामा समय छुट्टिएर बस्नुपर्ला भनेर कसैले पनि सोचेका थिएनौं । रमेश बीस वर्ष पुगेपछि अर्थात् दश वर्ष अघि काठमाडौं गयो । सुरूका केही वर्ष हाम्रो बीचमा पत्रको आदानप्रदान पनि धेरै पटक भयो । पत्रमा हामी हाम्रा आफ्ना मनोभावहरू खुलेर लेख्थ्यौं । दुवैतिरका खानपान, बसउठ र अन्य व्यवहारहरूका बारेमा धक फुकाएर लेख्थ्यौं । हप्ता दिनभित्र उसको चिठी पढ्न पाइन भने मलाई नरमाइलो लाग्थ्यो । उसलाई पनि त्यस्ते लागेको कुरा ऊ मलाई चिठीमा लेख्थ्यो । बीच बीचमा ऊ घरमा आउँदा कुदेर मेरो घरमा आउँथ्यो र घन्टौं ऊ र म सँगै गफ गरेर बिताउँथ्यौं । म पनि घरका काम बिर्सन्थेँ । ऊ काठमाडौं नफर्कुन्जेलसम्म मेरो घरको काम चौपट्टै हुन्थ्यो । बाल्यकालमा घुमेका ठाउँहरू हामीसँगै फेरि घुम्थ्यौं र आफ्ना अतीतका कथाहरू दोहोर्‍याउँथ्यौं ।

धेरै वर्ष भइसकेको थियो – रमेशसँग भेट नभएको । चिठीपत्रको आदानप्रदान पनि केही वर्षदेखि बन्द जस्तै भइसकेको थियो । पहिले त ऊ कमै मात्र पत्रहरू लेख्थ्यो तर पछि त हाम्रो सम्पर्क अघि बढाउन मभन्दा ऊ सक्रिय भएको देखिन्थ्यो । पछिल्ला वर्षहरूदेखि आफ्ना व्यक्तिगत कुराहरूभन्दा देशका, राजनीतिका खबरहरू उसले पठाउन थाल्यो र मसँग पनि यहाँका चुनावका, मान्छेका सोचाइहरूका बारेमा पत्रमार्फत सोध्न थाल्यो । कता कता उसका पत्रहरू पढ्न मलाई झन्झट लाग्दै आउन थालेको थियो, तर पनि म रमेशले सोधेका कुराहरूभन्दा व्यक्तिगत हालखबरहरू लेखेर पठाउँथेँ । त्यसपछाडि हाम्रो पत्रव्यवहारमा कमी आउन थाल्यो । परारसाल रमेश दशैंमा घर आउँदा हाम्रा पुराना व्यवहारहरूमा धेरै परिवर्तन आएको प्रष्टसँग मैले देख्न पाएँ । मलाई कताकता उसको व्यवहार नौलो लाग्न थाल्यो । म गाउँमा सामान्य खेतीपातीको काम गरेर बस्थेँ । त्यसबेला एकपटक मैले उसँग पैसा कमाउन विदेश जानुपर्ला भनेर प्रस्ताव राखेको थिएँ, उसले मेरो कुरा मन पराएको थिएन र त्यसबेला भनेको थियो – अर्काको देशमा गएर पैसा कमाउनुभन्दा आफनै देशका बारेमा चिन्ता गर्न सिक्नुपर्छ । तैंले मात्र पैसा कमाएर देशको समस्या हल हुँदैन, तँजस्ता कैयौं युवाहरूका समस्याका बारेमा सोच्नुपर्छ ।

पैसा त चाहियो नि ! मैले रमेशलाई सोच्न कर गर्दै भनेँ ।

पैसाको आवश्यकता कति, सम्पूर्ण जीवन यसैका लागि लगाउने । आखिर तेरो सम्पत्ति आफूले परिश्रम गरेर राम्रोसँग पुग्ने छँदैछ । उसले मसँग प्रतिवाद गर्ने शैलीमा भन्यो ।
रमेशको कुराले विदेश गएर पैसा कमाउने र यहीँ आएर सुखी जीवन बिताउने धेरै पहिलेदेखिको मीठो कल्पनामाथि पहिलोपल्ट प्रहार भएको मैले महसुस गरेको थिएँ । उसको त्यस भनाइपछि म नराम्ररी रन्थनिएँ । पैसा कमाएर ल्याउने र त्यसपछि वास्तवमै मैले मनभित्र कल्पनाको राम्रो घर बनाएको थिएँ । त्यही योजनाअनुसार मैले आफ्नो केही जग्गाजमिन बेच्ने सोचाइ बनाएको थिएँ । उसको कुराले हाम्रो निकटतालाई टाढा बनाइदिएको कुरामा मैले पहिलोपटक राम्रोसँग अनुभव गरेँ ।

आखिर ऊ पनि सुखी थिएन । शहरको बसाइ, सानोतिनो कमाइबाट जीवन गुजार्नुपर्ने । परिवार त ठीक्कैको थियो । एउटा छोरो, एउटी छोरी र श्रीमतीसहित ऊ । सम्पत्तिको नाउँमा त्यही एउटा सानो तरकारी पसल । उसले नयाँनयाँ साथीहरू थुप्रै बनाएछ । त्यही सानो एउटा सानो कोठामा पनि मानिसहरू आइरहन्छन् तर किन ऊ विदेश गएर पैसा कमाउने कुराप्रति घृणा गर्छ । म उसको सोचाइका बारेमा बुझ्नै सक्दिन । म पनि उसकै सहारामा काठमाडौं शहर आइपुगेको छु । यस शहरमा मैले चिनेका मानिसहरू त अरू पनि छन् । कति मानिसहरू सम्पन्नशाली पनि छन् । केहीको अभाव छैन । कति त मेरा मावलीतिरका नातेदारहरू पनि छन् । फुपूको छोरो पनि यतै बस्छ । जागिर राम्रो छ । भाउजू पनि जागिरे । एउटा फ्ल्याटै लिएर बसेको छ । दुई तीन ठाउँ घडेरी पनि किनेको छु भन्ने सुन्छु । कतिपटक उनीहरू कहाँ आश्रय लिन म गएको छु । तर किन किन उनीहरूसँग बस्दा आफन्त बोध हुनै सकेन मलाई । सम्पत्ति कमाएको तुजुक, घमन्ड, महत्वाकांक्षा आदिको नमिठो दुर्गन्ध कोठाभरि फैलिएको हुन्थ्यो । मलाई त्यो कुरा मनै पर्दैनथ्यो । उनीहरूको प्रगतिको कुरामा म सहमत थिएँ । तर जतिबेलै जहाँकहीँ सम्पत्तिकै चर्चा । गहनाको बखान सुन्दासुन्दा दिक्क लाग्न थाल्यो । तर रमेश त्यस्तो छैन । उसको कोठामा आडम्बरको कुनै पनि दुर्गन्ध पस्न पाउँदैन । उसको परिवारमा सम्पत्तिको तिर्खा कुनै कुरामा पनि देखिदैन । रमेशको कोठामा पराइको व्यवहार मैले कहिल्यै पनि महसुस गर्नुपरेन । तर ऊ मैले विदेश गएर पैसा कमाउने कुरामा कहिल्यै पनि सहमत भएन । त्यही कामले म गाउँबाट काठमाडौं आएको थिएँ । आधाजसो जग्गा पनि बेचेर आएको थिएँ तर अरब गएर पैसा कमाउन उसले मलाई कहिल्यै पनि सल्लाह दिएन र सहयोग पनि गरेन । धेरै पहिलेदेखिको मेरो यो योजना बदल्न पनि मलाई सम्भव थिएन । त्यसबाट मैले भविष्यको सुन्दर योजनाका नक्सा कोरेको थिएँ । रमेशले मलाई विदेश गएर दुःख पाउने मानिसहरूले भोगेको कथाव्यथाहरू लेखिएको सामग्रीहरू ल्याएर दिन्थ्यो । हाम्रै गाउँमा के गर्दा बढी उत्पादन गर्न सकिएला भनेर मसँग छलफल गर्न खोज्थ्यो तर यस्ता कुराहरूप्रति मलाई त्यति धेरै रूचि थिएन । म अर्कै सपना बोकेर शहर आएको मान्छे । त्यतिका वर्षदेखि मनभित्र बनाएको भविष्यको घर भत्काउन म पनि कसरी सक्थेँ र । ऊ जति जति मलाई सम्झाउन खोज्थ्यो, त्यति त्यति ऊबाट म टाढा हुन चाहन्थेँ । तर ऊ मलाई असाध्यै प्रेम गरिरहेको छ भन्ने कुरालाई पनि म सँगसँगै बुझिरहेको थिएँ । ऊ अध्ययनशील थियो, तार्किक थियो । ऊसँग छलफल र तर्कमा म जहिले पनि आफूलाई कमजोर महसुस गर्थें । सँगै खेलेर हुर्केको हुनाले उसको बौद्धिक क्षमतामा भएको विकास देखेर मभित्र कताकता हीनताभावको संकेत मैले पाउन थालेँ ।

जब मैले आफ्नो काम अघि बढाउन मेनपावर कम्पनीहरूको नजिक पुग्न थालें, रमेशसँगको भेटघाटलाई कम गर्ने सोचाइ पनि बनाएँ । म गाउँबाट आएर काठमाडौं बसेका अरू मानिसहरूको कोठाहरूमा बढी बस्न थालें । उसले शायद यो कुरा बुझेछ क्यारे ! तैले यहाँ बस्न अप्ठ्यारो नमान्दा राम्रो हुन्छसम्म भन्यो । म आउने जाने गरिरहन्छु भनेर प्रत्युत्तर दिएको थिएँ मैले । एकदिन उसले मलाई कोठामा बोलाएको थियो । उसले मलाई बोलाएकै समयमा त्यहाँ अरू तीनचार जना मानिसहरूलाई पनि बोलाएको रहेछ । ती सबै मानिसहरू कामका लागि विदेश गएर दुःख पाएर फर्केका थिए । आफू कसरी कसरी ठगियौं भनेर आफ्ना अनुभवहरू मलाई सुनाउन उनीहरूलाई त्यहाँ बोलाएको रहेछ उसले । उनीहरूका कुरा सुनेर म एकपटक त छाँगाबाटै पो खसें । उनीहरूको कुरा अनुसार त हामीलाई त्यहाँ मान्छेजस्तो व्यवहार नै नगरिँदो रहेछ । त्यहाँ भएकोमध्ये एकजनाले मलेशियामा भेडा चराउने काम पाएको रहेछ । अर्कोले होटेलमा तरकारी काट्ने । अर्कोले घर बनाउने ठाउँमा कुल्ली काम । त्यस्तै अर्की एकजना मायादेवी नाम गरेकी महिला पनि थिइन् । उनको कहालीलाग्दो कथा सुनेर मैले आँसु नै झारें तर त्यहाँ कसैले नदेख्ने गरी पुछें । मायादेवी काम गर्ने घरमा केटाहरूले प्रत्येक दिन उसलाई बलात्कार गर्दा रहेछन् । प्रतिकार गर्दा टाउको र शरीरमा विभिन्न भागमा पिटिँदोरहेछ । उनले टाउकामा थुप्रै खतहरू देखाइन् । कपाल खौरिएर बुर्का लगाउनुपर्ने र नगरे पाइने यातनाहरू सुन्दा मुटु नै चिसो भयो मेरो । पहाडमा भएको घरजग्गा बेचेर गएको प्रेमबहादुर पनि छ महिनामा फर्किएको रहेछ । उसको ठेकेदारले रिसको झोंकमा बनाउँदै गरेको घरको माथिल्लो तलाबाट खसालिदिएछ । विचरा दुई तीन तलमाथिबाट खसेर पनि बाँचेछ घाइते भएर । अस्पतालमा आफूले अलिअलि बचाएर राखेको पैसा खर्च गरेर सिध्याएछ । डाक्टरले छातिमा समस्या छ, केही महिना आराम गर्नु भनेपछि साथीहरूसँग चन्दा बटुलेर फर्केछ । धनकुमार भेडो चराउन जाँदा एउटा भेडा विरामी भएर मरेछ । साहुले त्यो वापत उसले जोगाएर राखेको सबै पैसा तिराएछ । विचरा त्यहाँ उपस्थित अर्को साथीको त पैसा सबै दलालले खाइदिएछ । ऊ पनि घर जान नसकेर यतैतिर मजदुरी कामहरू गरेर बसेको रहेछ । कति माया गर्दै ती सबैले तपाईं त अरब नजानुस है भनेर मलाई पटकपटक भने । मैले आफ्नो मनभित्र नजाने निर्णय लिन कुनै अबेर गर्दै गरिन । त्यतिका पैसा खर्च गरेर जानुभन्दा त्यही पैसा, त्यही परिश्रम यहाँ लगाउँदा कति राम्रो हुन्थ्यो भनेर उनीहरू आफ्नो विगतलाई धिक्कारिरहेका थिए ।

उनीहरूको अनुभव सुन्दा त हामी त्यहाँ मान्छेले जोत्ने गोरूको मूल्यमा किनिएका रहेछौ । उनीहरूको कुराले म साँच्चै पीडित भएँ । अर्थात् मैले मनभित्र कल्पिएको भविष्यको घर नराम्ररी चर्मरायो । प्रतिक्रियाहीन भएर मैले त्यहाँ उनीहरूको कुरा सुनिरहें ।

उनीहरू बाटो लागिसकेपछि म उसका अगाडि सावित भएको अपराधीको मानसिकता बोकेर बसिरहें । म उसलाई मेरो मनको कुरा राम्ररी भन्न चाहन्थें तर सकिरहेको थिइनँ । मनको कुरा भन्न केबाट शुरू गरौं आफैं पनि अस्पष्ट थिएँ । म चुपचाप उसको अघिल्तिर मुख रातो पारेर बसिरहें ।

नरेश ! अलि राम्ररी सोचेर काम गर । एकसुरमा बसिरहेको बेलामा उसले कोठाभित्र छिर्दै भनेको सुन्दा म झसङ्ग पनि भएँ । मैले उसलाई कुनै उत्तर दिइन ।

तैंले विदेशमा गएर काम गर्ने कुरालाई जति सहज देखेको छस्, त्यो पटक्कै होइन । यसै कारणले तँलाई वास्तविकता बुझाउन उनीहरूलाई बोलाएको हुँ । ऊ मतिर नफर्की एकोहोरो भन्दै गयो । यो त उसको स्वभाव पनि हो । पहिलेदेखि नै अरूसँग आँखा नजुधाई ऊ कुरा गथ्र्यो । ऊ अझै पनि त्यसैगरी कुरा गरिरहेको छ ।

मैले त्यतिबेलासम्ममा काम गर्न अरबतिर नजाने निर्णय गरिसकेको थिएँ तर यो कुरा रमेशलाई मैले कसरी सुनाऊँ मलाई थाहा थियो, मेरो निर्णय सुनेर ऊ खुशी हुनेछ । आखिर रमेश पनि त विदशेमा काम गर्न गएको थिएन । यी सब कुराहरू उसलाई कसरी थाहा भयो ? म यो प्रश्नलाई आफैंभित्र खेलाइरहेको थिएँ । रमेशलाई म नजाने निर्णय सुनाउन मलाई केही कुराले रोकेको छ । तर केले रोकेको छ, त्यो कुरो मलाई नै थाहा छैन । अत्यन्त अन्तरङ्ग साथीको रूपमा ऊ मलाई दिनहुँ सम्झाइरहेको छ । तेरो सोचाइ गलत हो भनेर आज बिहानसम्म ऊसँग मैले कडा प्रतिवाद गरेको छु । त्यति लामो समयदेखि बनाएको योजनाको घर भत्काउने निर्णयले मभित्र हुण्डरी चलिरहेको थियो ।

मैले नजाने निर्णय गरें । अत्यन्त अप्ठ्यारो मान्दै मैले यो निर्णय उसलाई सुनाएँ ।
मेरो निर्णयले रमेश खुशी भयो कि भएन, उसको अनुहार पढेर मैले केही पनि बुझ्न सकिन । उसको दृष्टिकोणको कारण म विदेश नजाने निर्णयले ऊ खुशी भएको हुनुपर्छ भन्ने मैले ठानें ।

घरमा भएको आधाआधी जग्गा बेचेर आएको हुनाले मैले जीवननिर्वाहको अन्य उपाय पनि सोच्न जरूरी थियो । मेरो यो अवस्थाका बारेमा रमेश परिचित नहुने कुरै थिएन ।

म भोलि नै घर जान्छु र विदेश नजाने निर्णय सबैलाई सुनाएर आउँछु । म उसँग यस कुराको प्रतिक्रिया लिन चाहन्थें ।

ठीकै छ तँ सुनाएर आइज, तैंले अब के काम गर्दा राम्रो हुन्छ सँगै बसेर सोचौंला । अत्यन्तै सहानुभूतिपूर्वक उसले मलाई ढाडस दिँदै भन्यो र आफ्नो काम छ भनेर बाहिर लाग्यो ।

आजको घटनाको म जसरी र जुन निर्णयमा पुग्दैछु, पहिले मैले यसको कल्पनासम्म गरेको थिइनँ । भोलि घर जाने तयारीका लागि म किनमेल गर्न बजारतिर जाने निर्णय गरेर त्यहाँबाट विदा मागेर बाहिर निस्किएँ ।




(वेदना, पूर्णाङ्क – ६५)

No comments: