Thursday, March 5, 2020

कथा : अविश्वास प्रस्ताव


- मातृका पोखरेल 



पञ्चायत ढलेपछि एकप्रकारले हीराप्रसादको होस ठाउँमै रहेन । जिल्ला पञ्चायत सभापति भएको तीन वर्ष पनि पूरा भएको थिएन । आफूलाई सम्हाल्न निकै सङ्घर्ष गर्नु परेको उनले स्वयम् अनुभव गरे । आफ्नो वरिपरि हेरे – राजाको सक्रिय नेतृत्व पाएर मेची महाकाली फैलिएको पञ्चायतको गन्धसम्म पनि कतै छैन । एशिसाली मापदण्डमा पुर्‍याउने त्यत्रो योजना कतै बाँकी रहेन । सधैंजसो सुनिरहने शान्ति क्षेत्र प्रस्तावको चर्चा उनले त्यसपछि रेडियोमा कहिले सुनेनन् । उनी साँच्चै तीन छक्क परे ।

पञ्चे र मण्डले भन्ने बित्तिकै ज्यान जोगाउन पनि सचेत भएर हिँड्नुपर्ने भयो । गाउँटोलमा धेरै मानिसहरू भेला भएका ठाउँहरूबाट थुप्रैपटक उनी तर्किएर हिँडे । हिजोका आफ्नै सहयोगीहरू भेला भएका ठाउँहरूबाट थुप्रैपटक उनी तर्किएर हिँडे । हिजोको आफ्नै सहयोगीहरू झण्डा बोकेर गाउँगाउँमा डुलिरहेका कुराहरू उनले सुने । तल्लो गाउँमा छानैभरी राता झण्डाहरू फर्फराइरहेको उनको घरबाट प्रष्टै देखिन्थ्यो । कुनै घरमा चारतारे झण्डाहरू, कुनै घरमा हँसिया हथौडाका झण्डाहरू । उनी यसरी पनि सोच्थे – कतै यो सपना त होइन ।

एक महिना जति बितेपछि उनको दिमागमा एकरात एउटा पुरानो घटनाको सम्झना आयो । पहिले क्याम्पसमा पढ्न जाँदा आफ्नै जिल्लाको सहपाठी साथी नरेश बस्नेतबाट उनले नेपाल विद्यार्थी संघको सदस्यता लिएका थिए । खुशीले उनी त्यो रात निदाउन पनि सकेनन् । आधा रातमै श्रीमती सरिनालाई उठाएर उनले त्यो कुरा सुनाए ।

त्यो सदस्यता भेटिन्छ कि खोजौं न ! त्यो भेटियो भने हाम्रो त भाग्य नै चम्किन्छ नि ! ठूलो कुरा पाउन लागेझैं हीराप्रसादले श्रीमतीसँग खोज्न अनुनय गरे ।

त्यस्तो नाथे चिर्कट्टोले के हुँदो हो । यो राजनीति पनि कस्तो नशा हुँदो रहेछ । यत्रो घरखेती छ, आफनो राम्ररी सम्हालेर बसे भइहाल्छ नि ! सरिनाको उदासीनतापूर्ण यो भनाइले उनलाई झनक्क रिस उठ्यो ।

हीराप्रसाद आधारातमा उठेर दराजका पुराना फायलहरू एकएक झिके र त्यो सदस्यताको अधकट्टी कतै भेटिन्छ कि भनेर खोज्न थाले ।

हजुरहरूको सल्लाहअनुसार चल्ने मान्छे त हुँ नि म । अचेल मलाई हजुरहरूको कम्युनिष्ट विचार मन पर्न थालेको छ । त्यसदिन सांसद हीराप्रसादले टाउको अलि झुकाउँदै प्रतिपक्षी दलका नेता जयकुमार भारतीको प्रस्तावलाई स्वीकार गरे ।
जयकुमार भारतीको कुरा उनलाई राम्रैसँग चित्त बुझ्यो । सांसद भएको दुई वर्ष भइसक्यो । एकपटकको चुनावमा आफ्नो भएभरको सम्पत्ति खर्च भयो । अब पनि मन्त्री हुन नपाए कसरी पैसा कमाउने ? यो चिन्ताले हीराप्रसादलाई केही दिनदेखि खानामा अरूचि बढ्न थालेको थियो । यो कारणका बारेमा उनकी श्रीमती अनभिज्ञ थिइनन् ।

एकदिन त मौका परिहाल्छ नि । चित्त नबुझे पनि उनले बेलाबेलामा लोग्नेलाई ढाडस दिँदै भन्ने गर्थिन् ।

प्रतिपक्षी नेता जयकुमार भारतीले एउटा लामो कागज झिके र एकासीयौं नम्बरमा उनको नाम लेखेर अघिल्तिर राखिदिए । सांसद हीराप्रसादलाई मनमा कता कता चिसो पसेको महसुस भयो । अस्तिमात्र सत्तापक्षका सभापतिले सहायक मन्त्रीका लागि कोशिश गरिदिने वचन नदिएका होइनन् । तर पार्टीमा अन्तर्घात गर्ने मान्छेलाई काखी च्याप्नु हुँदैन भनेर ठूलो आवाज उठ्ने गरेको छ । उनलाई दिएको वचन आज तीन दिनमात्र हुँदैछ । तर फेरि सोचे – विपक्षी दलका नेताले अविश्वास प्रस्ताव पारित भएर आफ्नो सरकार बने वन राज्यमन्त्रीको प्रस्ताव राखेका छन् । अविश्वास प्रस्ताव पक्का पास हुन्छ भनेर विश्वास पनि दिलाएका छन् ।

हीराप्रसादले अप्ठेरो मान्दै सेतो कागज ताने र कलम खोज्न श्रीमती सरिनालाई अह्राए । प्रतिपक्षी नेता जयकुमार भारतीले आफ्नो खल्तीको कलम दिदै भने – हाम्रो प्रयत्न चाँडै सफल हुँदैछ, धन्दा नमान्नुहोला ।

श्रीमतीले कलम लिएर आइपुग्दा उनले खाली कागजमा सही गरेर कागज प्रतिपक्षी नेताको हातमा दिइसकेका थिए । उनको अनुहारमा कालो बादलको छाया प्रष्ट रूपमा देखिन्थ्यो ।

प्रतिपक्षी नेताले अर्को मानिसलाई परिचय गराउँदै भने – उहाँ हाम्रो पत्रिकाको सम्पादक, यो सरकारलाई गाली गरेर तपाईंले एउटा अन्तर्वार्ता दिनुप¥यो । यो सरकार प्रजातन्त्र विरोधी सरकार हो भनेर तपाईंले प्रष्ट भनिदिनुपर्‍यो ।

यति भन्नेबित्तिकै उनी विदा भए र उनीसँग आएको एउटा पत्रकार रेकर्डर लिएर अन्तर्वार्ता लिन तयार भयो ।

प्रतिपक्षी दलका नेता बाहिर निस्केपछि हीराप्रसादले प्रतिपक्षी दलको पार्टी पत्रिकालाई एउटा अन्तर्वार्ता दिए । अन्तर्वार्तामा सरकारलाई उनले प्रशस्तै गाली गरे । धेरै र नयाँ आरोपहरू लगाए । संसारको सबैभन्दा सुन्दर व्यवस्था भनेको कम्युनिष्ट शासन प्रणाली नै हो भनेर नयाँ नयाँ तर्कहरू पेश गरे ।
पत्रकार बाटो लागिसकेपछि एउटा खाली कागजमा सरकारको विरूद्ध अविश्वास प्रस्तावमा मतदान गर्न सक्ने सांसदहरूको नाम टिपे । मन्त्री नपाएका स्वतन्त्र सांसदहरू जोडे, फेरि केरे फेरि जोडे । सानासाना केही राजनीतिक पार्टीहरू पनि जोडे जो सरकारमा आउने दिनको सपना बोकिरहेका थिए । तर कसैगरी एकसय तीन पुगेन ।

केही दिनदेखि सांसद हीराप्रसादको बेचैनीलाई बाहिरैबाट प्रष्ट देख्न सकिन्थ्यो ।
अचेल किन प्रधानमन्त्रीले फोन गर्दैनन् ? पहिले त दिनैपिच्छेजसो कुरा गर्थे । बाहिर पत्रपत्रिकामा यत्तिका समाचारहरू छापिइरहन्छन् । पहिले अविश्वास प्रस्तावको हल्ला आयो कि तपाईंलाई पनि कुनै मन्त्री बनाउने मेरो योजना छ भन्थे । अविश्वास प्रस्ताव पास हुन्छ भनेर प्रतिपक्षी दलको नेताले मलाई कतै ठूलो धोका दिएको त होइन । मनभित्रको उकुसमुकुसलाई अँध्यारो अनुहार बनाएर हीराप्रसादले श्रीमतीसमक्ष पोखे ।

जति चोट परे पनि श्रीमतीका अघिल्तिर यति कमजोर हैसियत उनी कहिल्यै प्रकट गर्दैनथे । हीराप्रसादको यो स्वभावलाई उनकी श्रीमती सरिनाले स्पष्टसँग महसुस गरेकी थिइन् । सरिनाबाट केही सान्त्वना पाउने उनको इच्छा फेरि भाँचियो, जतिबेला सरिनाले उनको कुरामाथि कुनै ध्यान दिइनन् । यस्तो संवेदनशील कुरामाथि सरिनाको कुनै गम्भीर प्रतिक्रिया नभएको कुरामा उनलाई मनमनै रिस पनि उठ्यो । तर, यो रिसलाई श्रीमतीका अघि कसरी प्रस्तुत गर्ने ? उसको लागि यो पनि सजिलो कुरा थिएन ।

अब चुनाव आउन तीन वर्षमात्र बाँकी छ । दुई वर्ष कुनै उपलब्धिविना बित्यो । सांसदको तलब र भत्ताले परिवार पाल्न र बैंकको व्याज मात्र तिर्न ठिक्क छ । आफ्नो क्षेत्रका जनताहरूले सांसदले कुनै काम गरेन भनेर आवाज उठाउने बेला भइसक्यो । यो काम गरिदिन्छु, त्यो काम गरिदिन्छु भनेर कति समय थामथुम पार्ने । गर्छु भनेका कामहरू पहाड जसरी उरूङ लागेर थुप्रिएका छन् । हिजो चुनावमा खटेर हिँडेका कार्यकर्ताहरूले असन्तुष्टि व्यक्त गर्न थालिसकेका छन् । उनीहरूलाई खुशी पार्न सकिएन भने अर्कोपटक जिल्ला नटेके पनि हुन्छ । नचाहँदा नचाहँदै पनि यस्तै यस्तै सोचाइहरू सिनेमाको पर्दामा झैं उनको मानसपटलमा आइरहेकोले आज हीराप्रसादलाई पटक्कै निद्रा परेन ।

अस्ति भर्खरमात्र अर्का स्वतन्त्र सांसद राघवसिंह भण्डारीले यहाँ आएर तीनघण्टा आफ्नो मनको दुखेसो पोखे । राघवसिंहले बोलिरहँदा मलाई पनि आफ्नो मनको कुरो उनको मुखले बोलेझैं लागेको थियो । राघवसिंहले भनेका थिए – पार्टीहरूले हामीलाई चुसेर फालिदिन्छन्, यदि हामीविना उनीहरूको काम चल्ने भयो भने ।

आखिर संसदमा तीनवटा पार्टीमध्ये कसैको पनि बहुमत छैन । घरि कोसँग घरि कोसँग मिलेर ठूला पार्टीहरूले सरकार चलाइरहेका छन् । हामीभन्दा अघिल्लो संसदमा स्वतन्त्र सांसदहरूले गरेको मोजमस्ती देखेर कमाएको र भएको सम्पत्ति सिध्याएर चुनाव जितियो । कस्तो भूतले खाने बेलामा परिएछ । पञ्चायत सकिएपछि कांग्रेसतिर लागियो । त्यो नेरेशे नमरूञ्जेल त्यहाँ टिकट पाइने छाँटै देखिएन । उसको माथि सबै नेतासँग बसउठ छ । पञ्चायतको विरूद्ध लागेर ठूलो दुःख पा’को, जेल परेको त्यागी मान्छे भनेर डुङ्गी पिटाको छ जिल्लैभरी । एउटा कर्मचारीलाई भन्सारमा सरूवा मिलाइदिएवापत मैले नै पचास हजार मिलाइदिएको हुँ । केको त्यागी हुन्थ्यो त्यो पाखण्डी ! परार त मैले त्यसको सबै भण्डाफोर गरिदिएँ । चुनाव जित्न पनि मैले त त्यसो गर्नैपथ्र्यो । थुप्रै कार्यकर्ताहरू कांग्रेस छाडेर मसँग लागेका छन् । उनीहरूको धेरै आशा र विश्वास छ ममाथि । म केही गर्न नसक्ने स्थितिमा छु भनेर उनीहरूलाई सुइँकोसम्म छैन । अहिलेसम्म मेरो पक्षमा बहस गरेरै बसेका छन् । तर अब कहिलेसम्म उनीहरूले मलाई साथ दिन्छन् । अब त आफ्नो चुनाव क्षेत्र जाँदा पनि होसियार हुनुपर्‍यो । भित्ताको घडीले तीन बजेको सूचना दियो । अटेसमटेस हुँदै चिन्ता र सोचाइहरूले रात्रिकालको शान्तिलाई चिरिरहेका थिए । उनको आँखामा निद्रा आउने कुनै संकेत थिएन ।

बेलुका सम्साँझै सुतेर घाम नआउञ्जेलसम्म नउठ्ने तपाईं अचेलभरि परिवर्तन हुनुभएको छ नि ! के सांसद भएपछि जनताको चिन्ता बढ्न थाल्यो कि के हो ? सरिनाको व्यङ्ग्यले निकै दुखेको अनुभूति भयो आज हीराप्रसादलाई । सरिना निद्राबाट व्युँझेकोमा खिन्न भए उनी । केही नबोली कोठाको बत्ती बालेर उनी शौचालयतिर गए ।
श्रीमतीका अगाडि हीराप्रसादलाई आफ्नो व्यथा पोख्न पटक्कै रूचि छैन । त्यतिमात्र होइन – आफूभित्रको चिन्ता श्रीमतीले कसैगरी पनि थाहा नपाओस् भन्ने उनको भित्री चाहना हो । किनकि मत किनेर चुनाव जित्ने कुराको सरिनाले पहिलेदेखि नै कडा प्रतिवाद गर्दै आएकी थिइन् । कांग्रेस पार्टी छाडेर स्वतन्त्र रूपमा चुनाव लड्ने कुरामा उनी पहिले पनि सहमत थिइनन् । त्यहीँदेखि उनको र श्रीमतीका आपसी व्यवहारमा समाजले बुझ्नेगरी चिसोपन देखा पर्दै गयो । सरिनाले बोलेको प्रत्येक शब्दहरूमा हीराप्रसादले व्यङ्ग्य खोज्न थाले ।

हीराप्रसाद शौचालयबाट फर्कदा सरिना उठेर विहानको काम शुरू गर्ने तरखर गर्न थालेकी थिइन् । हीराप्रसाद निद्रा मरिनसकेको अभिनय गर्दै भित्तातिर फर्केर सुते ।

सांसदज्यू हुनुहुन्न ?
सरिनाले झ्याल खोलेर बाहिर हेर्दा एउटा ठूलो झोला बोकेको अधवैंशेजस्तो लाग्ने कमिज सुरूवाल लगाइएको मान्छे र एउटा नवयुवक माथि फर्किएर कराइरहेका थिए । एक मन त सरिनालाई लागेको थियो – उनीहरूलाई केही पनि नबताउँ । तर त्यो पनि कसरी ? विहान राम्ररी उज्यालो भइसकेको थिएन । छिमेकीहरू सबैले थाहा पाइसकेका थिए । फेरि उनीहरू पनि ठूलो स्वरले कराइरहेका थिए । छिमेकमा मान्छेहरूले झ्याल खोलेर उनीहरूलाई हेर्न थाले । पल्लो घरबाट अनुराधाले उहाँको घर त्यही हो भनेर देखाइदिइन् ।

अब यी मानिसहरू कति समय यहाँ बस्ने हुन् ? खान दिनु, गाडी भाडा दिनु, कतैकतै घुमाइदिनु । अस्ति मात्र उहाँका चारजना कार्यकर्ताहरू विदा गरेको पाँच दिन पनि बितेको छैन । यिनीहरू पनि उहाँका कार्यकर्तै होलान् । त्यो बुढोचाहिँ लुगा हेर्दैखेरी परैदेखि गनाइहाल्लाजस्तो छ । सरिनाले मनमनै चिन्ताका सगरमाथा अग्ल्याइन् ।

हो ! सांसदको घर यही हो ! भर्खरैमात्रै थाहा पाएझैं गरेर सरिनाले झ्यालबाट आगन्तुकहरूतिर फर्केर भनिन् ।

सांसदज्यू हुनुहुन्न ?
पाको मानिसले झन् ठूलो स्वरले कराएर भन्यो ।
हुनुहुन्छ ! छिमेकीहरूले चियाएर हेर्लान् भन्ने डरले सरिनाले पनि ठूलै स्वरमा कराउँदै भनिन् र आगन्तुकहरूलाई माथिबाटै हातले इशारा गरिन् ।

खोज्दाखोज्दै लखतरान भएको बेला शिकारलाई बल्ल भेटेझैं गरी उनीहरू फूर्तिका साथ चप्पलैसहित भित्र कोठामा पसे । भित्र जति नै चोट परे पनि आगन्तुकहरूतिर फर्केर सरिनाले कुटिल हाँसो हाँसी र केही नबोली खबर गर्न पल्लो कोठातिर पसी । भित्र जति नै दुखे पनि राम्रो व्यवहार देखाउन हीराप्रसादले श्रीमतीलाई सांसद हुने सपना देख्नेबित्तिकै सिकाइसकेका थिए ।
फेरि तपाईंका दुईजना सन्तानको सवारी भा छ जानुस्, बैठक कोठामा । गाउँबाटै आएजस्तो छ । श्रीमतीले नाक खुम्च्याउँदै ओठे समाचार सुनाएको तरिकाबाट यी मानिसहरू आएको उसले मन पराएकी छैन भन्ने कुरा उनले बुझिसकेका थिए ।

उहाँ हाम्रो ठूलो सहयोगी मान्छे । उहाँहरूकै मद्दतले मैले चुनाव जितेको हुँ । उहाँको नाम शिवराज खत्री र ऊ भाइ उहाँको छोरो । सरिनाले चिया टेबुलमा राख्न नभ्याउँदै हीराप्रसादले आगन्तुकहरूको परिचय अघि सारे ।

होइन, माननीयज्यू, जनताहरू त रिसाउन थाले नि । चिया हातमा लिँदै चिन्तित मुद्रामा शिवराजले माननीयलाई गाउँतिरको पहिलो हालखबर सुनाएर कुरा अघि बढाउन खोजे ।

पार्टीका मान्छेले हल्ला चलाएका होइनन् । भित्रभित्रै पीडालाई लुकाएर हीराप्रसादले यो कुरालाई सामान्य बनाए ।

माननीयज्यूको त गाउँतिर मन्त्री हुने ठूलो हल्ला चलेको छ । पहिलेको खबरले माननीयलाई कुनै प्रभाव परेको नदेखेपछि शिवराजले दोस्रो तीर फाले ।

हेर्नुस् शिवराजजी ! यतिबेला भइसक्नुपर्ने हो, तर त्यसै ढिला भइरहेको छ । म आफै पनि अचम्ममा परिरहेको छु । अविश्वास प्रस्ताव पास भएपछि त मेरो मन्त्री बन्नु टुंगै छ नि । निराश बन्दै गएको मनलाई फेरि उनी आफैले ढाडस दिए ।

माननीयज्यू ! मेरो छोराले यसपटक एसएलसी पास ग¥यो । अब कलेज पढाउन घरको आर्थिक अवस्थाले धान्दैन । मैले हजुरलाई पहिले पनि बिन्ती गरेको थिएँ । चुनावको बेलामा हजुरले म चुनाव जिते पनि हारे पनि जागिर लगाइदिने वचन दिइबक्सेको थियो । म विश्वासमा परेर त्यति टाढादेखि आएको छु । शिवराजले छोरो विजयतिर हेर्र्दै आफू काठमाण्डू आउनु परेको गाँठो खोले ।
म मन्त्री भएपछि त त्यो सामान्य कुरा हो नि ! बरू तपाईंहरू अहिले घर जानुस् । संसदमा अविश्वास प्रस्ताव दर्ता हुनेबित्तिकै आउनुहोला । हीराप्रसादले अप्रत्यक्ष तवरले आफ्नो अप्ठेरो खोल्दै, आफू एउटा मिटिङमा गएर आइहाल्ने बताउँदै बाहिर निस्के ।

कोठामा बाबु र छोरामात्र थिए । सांसद पत्नी सरिना भान्साको काममा व्यस्त थिइन् ।
बुबालाई यो भ्रममा नपर्न मैले पहिलेदेखि नै भनेको हुँ नि । विजयले पहिलेदेखिको आफ्नो कुराले जितेको प्रमाण अघि सा¥यो । ठूला मान्छेलाई विश्वास गर्न सिक्नुपर्छ – शिवराजले आफ्नो पुरानो तर्क फेरि दोहो¥यायो ।

यिनीहरू त आफनो स्वार्थका लागि जे गर्न पनि तयार हुन्छन् । यिनीहरूलाई ठूला मान्छे भन्ने हामी मूर्ख हौं । यिनीहरू पद र पैसा भएपछि देश, समाज, पार्टी, सिद्धान्त केही पनि भन्दैनन् । विजयले बाबुको भनाइका विरूद्ध सदाझैं फेरि पनि कडा प्रतिवाद ग¥यो ।

त्यो सबै तपाईलाई चुनाव जित्नलाई बाँडेको भ्रम हो । मैले पहिले पनि तपाईंलाई बारम्बार भनेको थिएँ । यो मान्छेले जिल्लामा चुनाव जित्नलाई के भनेन्, के गरेन । तपाईंहरू जस्ता सोझा मान्छेहरूको सिकार गरेर आफनो स्वार्थ पूरा गर्छन् यिनीहरू । विजयका बारम्बार भनिरहने यी कुराहरू शिवराजलाई कताकता सत्य हुन् कि भन्ने लाग्न थालिरहेको थियो ।

विजयले शहरमा केही काम खोजेर पढ्छ भन्दा पनि शिवराजले मानेनन् र सँगसँगै घर लिएर फर्के । वास्तवमा यसै पटकमात्र उनलाई छोरो बुद्धिमानी रहेछ कि भन्ने महसुस भयो । उनले चुनावकै बेलामा शिवराजलाई भनेको थियो, – पद र पैसाका लागि कुनै विचार र सिद्धान्तलाई त्याग्ने मान्छेको पछि नलाग्नुस् ।

यता शिवराजको मनभित्र हीराप्रसादका भनाइहरूले चुनावको समयमा पारेका प्रभावहरू कमजोर हुँदै गएका थिए तर पनि अन्तर्मनको एउटा कुनामा अझै पनि विश्वासका सानासाना झुल्काहरू बाँकी नै थिए । चुनावदेखि नै गाउँटोलमा हीराप्रसादको विरूद्धमा युवाहरूबाट शुरू भएको असन्तुष्टि फैलिरहेको थियो ।

विजयलाई लिएर काठमाडौं जाँदा किनेर ल्याएको रेडियोबाट शिवराजले अविश्वास प्रस्तावको समाचार आउँछ भन्ने आशामा धेरै समयसम्म सुने । कहिल्यै रेडियोको समाचार सुन्न चाख नमान्ने बाबुले सदादिन समाचार सुन्नुको कारण विजयले बुझेको थियो ।

विस्तारै विस्तारै शिवराजभित्र रेडियोको समाचार सुन्ने रूचि हराउँदै थियो ।


(अक्षर, वर्ष–१, अङ्क–२)

No comments: