Friday, September 15, 2017

कवि स्नेह सायमीका पाँच गुण र अवगुण



नेपाली कविताका क्षेत्रमा चासो राख्नेहरुका लागि स्नेह सायमी कुनै अपरिचित नाम होइन । तीसको दशकदेखि लेख्न सुरु गरेका कवि सायमीको लेखन ४० को दशकमा निकै सक्रिय र प्रभावकारी देखिन्छ । नेपाली समाजको वास्तविकता पहिल्याउँदै कवितामार्फत अभिव्यक्ति दिने कवि सायमी नेपाली प्रगतिशील कविता फाँटका उल्लेख्य श्रष्टा हुन् । ०४३–०४४ सालतिर काठमाडौ खाल्डोमा प्रवेश गर्ने बित्तिकै मैले कवि स्नेह सायमीलाई चिन्ने अवसर पाएको थिएँ ।
निकै चल्तापुर्जा साहित्यिक कार्यकर्ता थिए उनि त्यसबेला । तिनताक अर्थात करिब २७/२८ वर्ष अगाडि पारिजात दिदीलाई मोटरसाइकलको पछिल्तिर राखेर प्रतिभा प्रवाहको तत्कालीन कार्यक्रमस्थल त्रिचन्द्र कलेजमा लिएर आउँदाको उनको अनुहार मलाई अझै पनि भरखरै देखेजस्तो लागिरहन्छ । त्यसबेलादेखिको उनको हँसिलो अनुहारको चमक अहिलेसम्मै उसैगरी कायम छ । त्यसपछिका यी समयमा कुनै न कुनै रूपमा म उनको समीपमैं रहेको छु । अहिले पनि उनी र म पारिजात स्मृति केन्द्रको कार्य समितिमा सँगसँगै क्रियाशील छौँ ।
एकजना अग्रजको गुणको मात्र चर्चा गर्नु त्यति अप्ठ्यारो काम थिएन । तर, अवगुणको चर्चा गर्नु निश्चितै रूपमा सजिलो काम हुँदै होइन र यो निकै खतरापूर्ण काम पनि हो । खबरडबली परिवारका साथीहरूलाई यो जिम्मेवारी लिन आफू अनिच्छुक रहेको जानकारी पनि गराएको थिएँ । तर सम्भव भएन । यो जिम्मेवारीलाई मैले निकै सकसका साथमा स्वीकारेको छु ।
मलाई मन पर्ने उनका केही कवितांशहरु :
सुकुम्बासीको घरजस्तै
हाम्रो पनि मन धेरै पटक जलिसकेको छ
स–साना आगोका फिलिङ्गागाहरुले
सजिलै टिप्न सक्दैन हामीलाई
तिमी निश्चिन्त भएर भन
तिमीलाई के भएको छ ?
(तिमीलाई के भएको छ ?– आन्दोलन कविताबाट )
मृत्युको लामो अन्तरालपछि पनि
परिवर्तनको लामो इतिहासपछि पनि
जुद्धशमशेर किन बाँचिरहेछ
हाम्रा चोकहरुमा ?
( जुद्ध सडकः पुल र पर्खालहरुबाट )

कवि सायमीका पाँच गुणहरु
१) कवि सायमीमा मानिसहरुसँग चाँडै घुलमिल हुने स्वभाव छ । उनीसँग भेट्नेबित्तिकै मानिसहरूले आफन्तबोध महशुस गर्छन् ।
२) केही कविहरु अझैसम्म पनि कवितामा शब्दको जञ्जाल थुपार्नु र क्लिष्ट अभिव्यक्तिमा प्रस्तुत गर्नुलाई कविताको सफलता मान्छन् । तर कवि सायमी कवितालाई शब्दका भारहरुले थिच्दैनन् । उनका कविताहरुमा शब्दको जञ्जाल छैन । क्लिष्ट अभिव्यक्तिबाट उनका कविता पूर्णतः मुक्त छन् ।
३) कवि सायमी समाज रुपान्तरणका लागि कविता लेख्छन् । कविता लेख्दालेख्दै सडकको मोर्चामा सहभागी हुन कन्जुस्याइँ गर्दैनन् ।
४) कवि सायमी साढे तीन दशक लामो समयदेखि कविता लेखनमा निरन्तर क्रियाशील छन् ।
५) कवि सायमी आत्मसन्तुष्टिका लागि भन्दा पनि सामाजिक बिसङ्गतिलाई प्राथमिकता दिएर कविता लेख्छन् ।

कवि सायमीका पाँच अवगुणहरु
१) पहिलो कुरो त कवि सायमी सिर्जनामा तपस्या गर्नुभन्दा हल्लामा बढी रुची राख्छन् । नाम कमाउने धोको निकै जब्बर छ उनीभित्र। त्यसकारणले पनि रचनालाई गुणवत्ता बनाउने विषय उनले कहिल्यै प्राथमिकतामा पारेनन् ।
२) कवि सायमी आफ्ना व्यक्तिगत फाइदालाई केन्द्रमा राखेर विषयहरुलाई सोच्ने गर्छन् । उनको सिर्जना सरदर हुनुमा यो पनि महत्वपूर्ण कारण हो भन्ने मलाई लाग्छ ।
३) कवि सायमीका अधिकांश कविताले पाठकको मस्तिष्कलाई झङ्कृत गर्ने ताकत राख्दैनन् । यो कुरो कविले बुझ्न सकेको देखिदैन । यो कुरो बुझ्न नसकेरै कहिलेकाहीँ उनी सामाजिक सञ्जालमा समालोचकहरुका विरुद्ध जाइलाग्छन् ।
४) कवि सायमीमा आलोचनालाई पचाउने क्षमता अत्यन्तै कमजोर छ । आलोचनालाई शिक्षाको रूपमा लिनेभन्दा आलोचना गर्नेकाविरुद्ध ऊनी टिकाटिप्पणीमैं उत्रिएका घटनाहरु भेटिन्छन् ।
५) कवि सायमी आफूलाई लागेको शंकाको वस्तुगत तथ्यको खोजी गर्दैनन् । शंका लागेकै भरमा निर्णयमा पुग्छन् ।
http://www.khabardabali.com बाट साभार 

No comments: