Thursday, March 5, 2020

कविता : ऊ बगर; खडेरी पर्खन्छ

- मातृका पोखरेल 

ऊ बगर,
इतिहासको आदिम कथादेखि
खडेरीको यात्रा
सबैभन्दा पहिले
उसैको छातीबाट बस्तीतिर बुर्कुसी मार्छ
उसको यात्रामा बादल टेकिएकै छैन
उसको विश्वासमा शिखर कुल्चिएकै छैन
ऊ बगर,
बादलिएको आकाश फटाउन
सबै हुटिट्याउँहरुसँग
एक पर्म सहयोग माग्छ ।

० ० ०

ढुङ्गाको साँघुरो कापबाट
उसको सुख्खा छातीमा
भतभती पोलिँदै निस्किएको छ भ्यागुतो
ऊ बगर,
आकाशतिर हेरेर खडेरीको कामना गर्छ
ढुङ्गाको प्वालबाट
सिबीचरो कराइरहेको छ
उसको छातीमाथिबाट यात्रा गर्नेहरु भन्छन्
फेरि खडेरी पर्नुपर्छ
ऊ बगर,
उसकै टाउकोमाथि बास बसेर
गाउँतिर हुटिट्याउँ पस्छ
र, मृत्युको सूचना दिन्छ ।

० ० ०

बाढीले गैरीखेतहरु नकाटेको साल
उसको पात्रोमा ऊ
अशुभ घोषणा गर्छ,
ऊ बगर,
नयाँ जीवनको सहनाई
उसलाई अप्रिय लाग्छ
जब कतैबाट आउँछ चिसो बतास,
ऊ चिन्तामग्न हुन्छ,
ऊ बगर
निस्फिक्री घुम्न र किराहरुको सिकार गर्न
बकुल्लाहरुलाई मन पर्छ,
ऊ बगर,
छेपाराहरुलाई मन पर्छ
उसको छातीका ढुङ्गाहरुमा घाम ताप्न ।

० ० ०


परारै,
एक नदी रगत पोखिएपछि
छेउकुना आबाद हुँदै गएको बगर
पोहोरको हिउँदे बाढीले
फेरि काट्यो गैरीखेत,
ऊ बगर,
ऊसँग सम्भ्रान्त जीवनको सपना छैन
ऊसँग हरियो जीवनको विश्वास छैन ।


अक्षर, पूर्णाङ्क-५, २०६२-मङ्सिर

No comments: