Thursday, September 14, 2017

पुण्यप्रसाद खरेललाई मिश्र पुरस्कार : सुलसुले

काठमाडौं फागुन ७, २०७१ ।
राजधानीमा आयोजित एक विशेष समारोहमा युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले मिश्रको २५ औँ स्मृति दिवस पारेर युद्धप्रसाद स्मृति पुरस्कारद्वारा साहित्यकार पुण्यप्रसाद खरेललाई सम्मानित गरियो । वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्रदेव गिरी विशेष अतिथि हुनुहुन्थ्यो । अतिथिमा सम्मानित स्रष्टा पुण्यप्रसाद खरेल, पूर्व प्रशासके गेहनाथ भण्डारी, मिश्रका कान्छा छोरा महेश्वरप्रकाश मिश्र, प्राज्ञद्वय नर्मदेश्वरी सत्याल र मातृका पोखरेल, स्रष्टा चयन समितिका संयोजक कलाधर काफ्ले उपस्थित हुनु हुन्थ्यो ।
प्रतिष्ठानका अध्यक्ष वासुदेव अधिकारीको अध्यक्षता र भगवानचन्द्र ज्ञवालीको सञ्चालनमा सम्पन्न समारोहमा डा.बालचन्द्र मिश्रले स्वागत गर्नु भएको थियो । युद्धप्रसाद मिश्रको तस्बिरमा माल्यार्पण तथा पुष्पार्पण गरी आरम्भ भएको समारोहमा गेहनाथ भण्डारीलाई पनि सम्मापन पत्र प्रदान गर्दै दोसल्ला ओडाइएको थियो ।
मिश्र पुरस्कारद्वारा सम्मानित स्रष्टा पुण्यप्रसाद खरेलको साहित्यिक व्यक्तित्वका बारेमा स्रष्टा चयन समितिका संयोजक कलाधर काफ्लेले प्रकाश पार्नु भएको थियो । खरेलले विगत चार दशकदेखि अविच्छिन्न सिर्जनाका माध्यमबाट नेपाली समाजको रूपान्तरणका लागि उल्लेख्य योगदान गर्नु भएकोले २०७० सालको मिश्र स्मृति पुरस्कार तथा सम्मानद्वारा सम्मानित गर्न सिफारिस गरिएको कथन काफ्लेको थियो ।
सम्मानित व्यक्तित्व पुण्यप्रसाद खरेलले पुरस्कारको राशि कति छ भन्ने कुराले होइन कस्तो व्यक्तित्वको नामको पुरस्कार आफूले ग्रहण गर्दैछु भन्ने कुराले गौरवानुभूति हुन्छ भन्नुभयो । उहाँले मिश्रको देहावसान भएको भोलिपल्ट प्रजातन्त्र दिवसका दिन मिश्रलाई सम्झेर लेखिएको कविता वाचन गर्नु भएको थियो ।
समारोहमा प्रा.डा.जीवेन्द्र देव गिरीले आज सम्मानित स्रष्टा पुण्यप्रसाद खरेललाई बधाइ दिँदै २०३० सालमा दरभङ्गामा आयोजना भएको किसान आन्दोलनको भेलामा कविवर मिश्रसँग भेट्ने अवसर पाएको स्मरण गर्नुभयो ।
प्रमुख अतिथि आनन्ददेव भट्टले सम्मानित स्रष्टा पुण्यप्रसाद खरेलको व्यक्तित्वको निर्धारण उहाँले प्रकाशित गरेका दश ओटा कृतिले नै गरि सकेको बताउनु भयो । सभाध्यक्ष वासुदेव अधिकारीले कविवर मिश्रले स्थापित गर्नु भएको मूल्यको जगेर्ना हामीले गर्न नसकेको उल्लेख गर्दै सबैको प्रयत्नले नेपालको प्रथम गणतान्त्रिक कविका रूपमा उहाँको नाम घोषणा गरिनु पर्दछ भन्नु भयो । 

रमेश पोखरेल
www.fitkauli.com बाट साभार 

No comments: