Thursday, March 21, 2019

‘प्रलेसवारे कपोकल्पित र भ्रमपूर्ण समाचारप्रति आपत्ति छ ’- अध्यक्ष मातृका पोखरेल


बुटवल । २०७५ चैत्र ३ । प्रगतिशील लेखक सङ्घ, नेपालका केन्द्रीय अध्यक्ष मातृका पोखरेलले आफ्नो नाम समेत जोडिएर प्रलेसको वारे अनलाइनमा प्रकाशित समाचारवारे आपत्ति जनाएका छन् । उनले कपोकल्पित र मनोगढन्ते समाचराप्रति भ्रममा नपर्न अनुरोध गरेका छन् । आइतवार सामाजिक सञ्जाल फेसवुकमा अध्यक्ष पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।
यस्तो छ फेसवुक स्टाटस– “मेरो नाम पनि जोडिएको यो कपोलकल्पित र मनगढन्ते समाचार प्रति भ्रममा नपर्न सबै साथीहरू प्रति अनुरोध गर्न चाहन्छु । अहिले अर्को प्रलेसको विकल्प जरुरी छैन । अझ प्रलेसमा आफैं उपस्थित भएर लिएका जिम्मेवारी पुरा नगर्ने साथीहरूको एउटा सानो हुल अर्को प्रलेस चाहिन्छ भन्दै चिया पसल र गल्ली, गल्छेंडातिर हल्ला गर्दै हिंडेको छ भन्ने केही महिना पहिले देखिनै सुन्न थालिएको थियो । त्यही बजार हल्लालाई आधार बनाएर मैले हिजोको प्रलेस काठमाण्डुको चौथो जिल्ला सम्मेलनमा भनेको पनि थिएँ,- ” प्रलेसको विकल्पको नाममा कुनै संस्थाले केही दिनमा खुट्टा टेकेछ भने मलाई लाग्छ त्यसले दुइटा काम गर्ने छ । एउटा – प्रलेस र यसले गर्ने गतिबिधिलाई चिया पसलमा बसेर सत्तोसराप गर्नु , दोस्रो -NCELL लगायत बहुराष्ट्रिय कम्पनीले नेपालको प्रगतिवादी आन्दोलनलाई कमजोर बनाउन गर्ने कार्यक्रमहरूमा प्रतिध्रुर्वसँग कुम जोडेर नेपाली प्रगतिवादी साहित्य र प्रगतिशील स्रष्टाहरूका विरूद्ध खिसिट्युरी गर्नु । यी दुई कामबाट जोगिएर नेपालको प्रगतिवादी आन्दोलनलाई अघि बढाउने गतिबिधिमा केन्द्रित भयो भने हाम्रो आन्दोलन र अभियानलाई घाटा होइन फाइदा नै हुनेछ।”  तर, मूलबाटोलाई भ्रमपूर्ण तरिकाले समाचार दिने स्रोत वैकल्पिक प्रलेस बनाउन हिंड्ने साथी हुनुहुन्छ भने मैले अनुमान गरेको कुरा मिल्न जानेभयो । मूलबाटोले पनि यस्ता भुइँफुट्टा समाचारबाट आफूलाई अलग पार्ने प्रयत्न गर्दा प्रगतिशील आन्दोलनलाई सहयोग पुग्नेछ । मूलबाटोले प्रगतिशील लेखक सङ्घको एघारौ राष्ट्रिय सम्मेलन सफल पार्न लागिपरेका कोषाध्यक्ष कृष्णहरी भट्ट, प्रकाश चापागाईं, म लगायत धेरै साथीहरूको नाम जोडेर जसरी समाचार बाहिर ल्याएको छ, यो मनगढन्ते, हाम्रो पुरै असहमतिमात्र होइन आपत्ति समेत छ”
शनिवार एक अनलाइनमा “क्रान्तिकारी लेखक–साहित्यकारहरु छुट्टै प्रलेस निर्माणको तयारीमा” शीर्षकमा समाचार प्रकाशित भएको थियो । समाचारमा प्रलेस प्रतिक्रियावादीहरुको कब्जामा जाने स्थिति देखिएकोले सो केन्द्रलाई क्रान्तिकारीहरुले स्वीकार गर्नु उपयुक्त नहुने पनि निष्कर्ष निकाल्दै सत्ताइतर प्रगतिशील, क्रान्तिकारीहरुको एउटा अलग्गै वैचारिक धारको पहिचानको निम्ति ध्रुवीकरणको आवश्यकतालाई समेत महसुस गरी त्यसका निम्ति सार्वजनिक आव्हान गर्ने निर्णय समेत गरेको उल्लेख छ । साथै समाचारमा निनु चापागाई, आहुती, नरेन्द्रजंग पिटर, रोशन जनकपुरी, जीवन शर्मा, कृष्णहरि भट्ट, मात्रिका पोखरेल, बलराम तिमल्सिना, संगीत श्रोता, विष्णु भण्डारी, भुपाल राई, भोगीराज चाम्लिङ, पुण्य कार्की, सरिता तिवारी, केशव सिलवाल, कल्पना चिलवाल, प्रकाश चापागाईं, नन्दलाल आचार्य, राजेन्द्र घायल, अशोक शर्मा, कपिल अज्ञात, कला अनुरागी, विनोद विक्रम केसी, गुरुङ सुशान्त, राजु स्याङतान, सकुन्तला जोशी, यज्ञबहादुर डाँगी, केदार श्रेष्ठलगायतका लेखक तथा साहित्यकारहरुले पनि सत्ताइतर क्रान्तिकारी साँस्कृतिक धाराको निर्माण गर्नुपर्ने कुरामा सहमति रहेको उल्लेख छ ।
www.janabato.com बाट साभार 

No comments: