Sunday, May 20, 2018

साहित्य सन्ध्यामा ‘समृद्धिका लागि साहित्य’ विषयक अवधारणापत्र चर्चा एवम् शुभकामना विशेष कविगोष्ठी सम्पन्न

साहित्य सन्ध्याको नियमित मासिक ३८४ औँ शृङ्खला यसपटक जेठ ५ गते शनिबार अपराह्न ठिक १ बजे सांस्कृतिक संस्थान, मदन भण्डारी कला–साहित्य प्रतिष्ठान र साहित्य सन्ध्याको संयुक्त आयोजनामा राट्रिय नाचघरको सभाकक्षमा ‘समृद्धिका लागि साहित्य’ विषयक अवधारणापत्र प्रस्तुत गर्नुका साथै विशेष कविगोष्ठी गरी सम्पन्न भयो । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानका अध्यक्ष माननीय डा.विजय सुब्बाको अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रमको सञ्चालन सोही प्रतिष्ठानकी सचिव डा.विन्दु शर्माले गर्नुभएको थियो । उक्त विशेष समारोहका प्रमुख अतिथि संस्कृति मन्त्री माननीय रवीन्द्र अधिकारी हुनुहुन्थ्यो भने अतिथिहरूमा मदन भण्डारी फाउन्डेसनका देवराज घिमिरे, नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य–सचिव प्रा.डा.जीवेन्द्र देव गिरी, सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, प्रगतिशील लेखक सङ्घका अध्यक्ष प्राज्ञ मातृका पोखरेल, साहित्य सन्ध्याका अध्यक्ष राम विनय, पूर्व मन्त्री शान्ता मानवी, विख्यात जनगायकहरू रामेश, रायन, श्याम तमोट, जे.बी.टुहुरे र जीवन शर्मा, प्रा.डा.कृष्णबहादुर थापा, प्रा.राजेन्द्र सुवेदी, प्रा.डा.महादेव अवस्थी, प्रा.केशव सुवेदी, प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’, प्राज्ञ नर्मदेश्वरी सत्याल, प्रगतिवादी साहित्यकार हरिहर खनाल, वरिष्ठ कवि वासुदेव अधिकारी, नेकपा केन्द्रीय लेखा आयोग सदस्य गोपाल बराल, पारिजात प्रतिष्ठानका सचिव स्नेह सायमी, माननीय सानु पहाडी, प्राज्ञ शुष्मा राजभण्डारी, भिक्टर प्रधान, मदन भण्डारी कलासािहत्य प्रतिष्ठानका उपाध्यक्ष प्रा.डा.कृष्णप्रसाद घिमिरे र महासचिव डा.देवी नेपाल उपस्थित हुनुहुन्थ्यो ।
उपस्थित विशिष्ट व्यक्तित्वहरूलाई सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले माल्यार्पण गरी स्वागत गर्नुभएको थियो भने विशिष्ट समारोहमा उपस्थित सबै व्यक्तित्वमा आयोजक तीनैओटा संस्थाका तर्फबाट उहाँले शब्दस्वागत गर्नुहुँदै नाच्ने, गाउने र बजाउने थलोको रूपमा चिनिएको नाचघरलाई त्यो परम्पराबाट माथि उठाउँदै साहित्य, कला र संस्कृतिको साझा केन्द्र बनाउने प्रयत्न आपूmले गरिरहेको र त्यसैअनुसार आफैँले एक्लै पनि नियमित कार्यक्रम सञ्चालन गरिरहेको र विभिन्न सङ्घसंस्थाहरूसँगको सहकार्यमा यस्तै खाले कार्यक्रमहरू निरन्तररूपमा गरिरहेको, सुसंस्कृत र सभ्य समाज निर्माणका लागि यो संस्थाले योगदान गर्नुपर्छ भन्ने मान्यताका साथ अगाडि बढेको, हामीकहाँ रहेका तीनओटा प्रज्ञाप्रतिष्ठानहरूका आफ्नै खाले विशिष्ट कामहरू छन् तर सांस्कृतिक संस्थानले भने तीनओटै प्रज्ञाप्रतिष्ठानले गर्ने काम गरिरहेको, देशको समृद्धिको निम्ति आवश्यक कला र संस्कृतिको निरन्तर अभ्यासको थलोको रूपमा यो संस्थानलाई विकसित गर्ने प्रयत्न गरिरहेको हुँदा यसलाई मानवमनका संस्कृति र कलाको थलोको रूपमा यो संस्थानलाई विकसित गर्दै साधन र स्रोतले सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै माननीय संस्कृति मन्त्रीज्यूको ध्यानकर्षणसमेत गराउनुभयो र सबैलाई हार्दिक स्वागत गर्नुभयो ।
उक्त विशेष गोष्ठीमा आमन्त्रित कविहरू डा.रामप्रसाद ज्ञवाली, कणाद महर्षि, उमेश उपाध्याय, विधान आचार्य, सुलोचना मानन्धर, आर.एम.डङ्गोल, लक्ष्मी माली, धीरेन्द्र प्रेमर्षि, रमेश शुभेच्छु, अनिता लामा र विना थिङले समृद्धिसँग सम्बन्धित आआफ्ना कविता वाचन गर्नुभएको थियो ।
नेपालको वामपन्थी राजनीतिका शिखर व्यक्तित्व मदन भण्डारीको विशिष्टता र समृद्ध नेपालको परिकल्पनासँग सम्बन्धित गीतको अत्यन्त सुन्दर दृश्यसमेत प्रस्तुत गरिएको थियो भने मदन भण्डारी कलासाहित्य प्रतिष्ठानका उपाध्यक्ष प्रा.डा.कृष्णप्रसाद घिमिरे, महासचिव डा.देवी नेपाल र सचिव डा.विन्दु शर्माद्वारा संयुक्तरूपमा तयार पारिएको ‘समृद्धिका लागि साहित्य’ विषयक विशद अवधारणापत्र महासचिव डा.देवी नेपालले प्रस्तुत गर्नुभयो भने त्यसमाथि समारोहमा उपस्थित विद्वानहरूबाट लिखित जिज्ञासा, थप्नुपर्ने केही पक्ष र स्पष्ट पार्नुपर्ने कुराका बारेमा राख्नुभयो र ती सबै जिज्ञासाका बारेमा प्रकाश पार्नुहुँदै प्रा.डा.कृष्णप्रसाद घिमिरेले प्राप्त सुझाव तथा जिज्ञासा सबैलाई समेटेर आगामी ‘शार्दूल’ अर्ध वार्षिकमा प्रकाशित गरिने जानकारीका साथ देशव्यापीरूपमा प्रतिष्ठानले अहिलेको समयको यो महत्त्वपूर्ण विषयलाई गम्भीर बहसका लागि उठाएको र सबैको सक्रियताको अपेक्षा गरिएको धारणा राख्नुभयो । 
मदन भण्डारी फाउन्डेसनका सदस्य देवराज घिमिरेले समसामयिक विषयमा फाउन्डेसनले बहसको प्रारम्भ गरेको र त्यसको थालनीका रूपमा यो विशिष्ट समारोहको आयोजना गरिएको जानकारी दिनुभयो । 
उक्त विशेष गोष्ठीमा प्रमुख अतिथि माननीय संस्कृति मन्त्री रवीन्द्र अधिकारीले राजनीतिक हकअधिकारको आन्दोलन सकिएको र नेपाली जनताको चाहनानुसार नेपालमा दुई तिहाइ बहुमतका साथ वामपन्थी सरकार गठन भएको वर्तमान अवस्थामा मुलुकको समृद्धिको बहस अत्यन्त आवयश्यक रहेको थियो त्यसैले आजको यो विशिष्ट समारोह अत्यन्तै समसामयिक रहेको छ । यहाँ वाचन गरिएका कविता र प्रस्तुत गरिएको ‘समृद्धिका लागि साहित्य’ विषयक अवधारणापत्र सुन्ने अवसर प्राप्त भयो । यसका लागि म आयोजक तपाईँ विद्वान व्यक्तित्वहरूमा हार्दिक आभार व्यक्त गर्दछु । मुलुक जतिसुकै धनी र समृद्ध होस् तर साहित्य, कला र संस्कृतिको विकासविना साँचो समृद्धि प्राप्त हुँदैन । जबसम्म मान्छेले स्वतन्त्रताको उपभोग गर्नपाउँदैन र क्षमतानुसारको सुखी जीवन व्यतीत गर्नपाउँदैन तबसम्म मुलुकको समृद्धि सम्भव हुँदैन । जतिसुकै सम्पन्न देश भनिए र मानिए पनि सुशासन र सामाजिक न्याय जबसम्म नागरिकले प्राप्त गर्दैनन् तबसम्म समृद्धि सम्भव हुँदैन । साहित्य श्रमजीवी जनताका पक्षमा लेखिनुपर्छ; स्वन्त्रता, सुशासन र न्यायका पक्षमा बढीभन्दा बढी लेखिनुपर्छ । हरेक नागरिकले आफ्नो क्षमतानुसारको काम गर्ने अवसर पाउनुपर्दछ, साहित्य र कलाले समृद्धिको पक्षपोषण गर्नुपर्दछ, जनतामा चेतना फैलाउने काम गर्नुपर्दछ, श्रमको आवश्यकता र महत्त्व एवम् विकासको महत्त्व बुझाउने काम गर्नुपर्दछ । नेपाली राजनीतिले पनि मुलुकको समृद्धि साहित्य, कला र संस्कृतिको विकासविना हुनसक्तैन भन्ने कुरा बुझ्नु आवश्यक छ र त्यसका निम्ति साहित्यकारहरूले झक्झक्याउने काम गरिरहनुपर्दछ । तपाईँ साहित्यकारहरूले सरकारका तर्फबाट गर्नुपर्ने कामका बारेमा सुझाव दिनुहोस् र सरकारको मन्त्रीको नाताले सम्भव भएसम्म र गर्नसक्नेसम्मका कामहरू गरेर म सहयोग गर्न तयार छु । राजनीतिमा मुलुकले दुई तिहाइको समृद्धि प्राप्त गरे पनि हाम्रो सांस्कृतिक धरातल कति हो भन्ने पत्ता लगाउने र मुलुक समृद्ध पार्न साहित्य, कला र संस्कृतिलाई कुन तहसम्म पुर्याउनुपर्दछ र कहाँ कहाँ राज्यले पूर्ण वा आंशिक सहयोग गर्नुपर्छ भन्ने कुरामा अहिलेसम्म सरकारको ध्यान नगएको अवस्थामा यति महत्त्वपूर्ण विषयमा यहाँहरूले बहसको थालनी गरिदिनुभएर राज्यलाई र स्रस्टा स्वयम्लाई पनि झक्झक्याउने काम गर्नुभएको छ, राम्रो अवधारणापत्र प्रस्तुत भएको छ, समृद्ध हुनु भनेको सभ्य हुनु पनि हो भन्ने पक्षसमेतलाई बहसको विषय बनाएर सरकारलाई झक्झक्याउने कार्य गरिदिनुभएको पक्ष सकारात्मक र सराहनीय रहेको छ, वन्दनीय रहेको छ । यसले निरन्तरता पाओस् । यति महत्त्वपूर्ण र गरिमामय समारोहमा उपस्थित भएर तपाईँहरूका कुरा सुन्ने र मेरा आफ्ना पनि थोरै कुरा भन्ने अवसर दिनुभएकाले गौरवबोध महसुस भएको छ, म हार्दिक धन्यवाद दिन्छु भन्नुभयो । 
साहित्य सन्ध्याका अध्यक्ष राम विनयले धन्यवाद ज्ञापन गर्नुहुँदै सांस्कृतिक संस्थानसँगको सहकार्यमा यसअघि पनि कार्यक्रम गरिएको थियो तापनि मदन भण्डारी कलासाहित्य प्रतिष्ठानसँगको यो पहिलो सहकार्य हो तर आजको यो सहकार्य अत्यन्त महत्त्वपूर्ण विषयमा गरिएको छ । वर्तमान माननीय संस्कृति मन्त्रीज्यूले मन्त्री नहुँदै पनि साहित्य सन्ध्याको कार्यक्रममा उपस्थित भएर पनि मुलुकको समृद्धिको पक्षमा अवधारणा राखिदिनुभएको पक्षलाई पनि मैले स्मरण गरेँ । ढिलै भए पनि मन्त्री हुनुभएकोमा र सफल कार्यकालका लागि साहित्य सन्ध्याका तर्फबाट बधाई ज्ञापन गर्दछु । जनताका पक्षमा काम नगर्ने हो भने २०१५ सालमा दुई तिहाइ मत प्राप्त गरेको काङ्ग्रेसकै अवस्था अहिलेको सरकारको पनि हुन्छ भन्ने तथ्यलाई हृदयङ्गम गर्नुपर्दछ । यतिखेर पुष्पलाल, मनमोहन र मदन भण्डारीको उदय भएको छ भन्ने मलाई लागेको छ र यो सकारात्मकतालाई अहङ्कारशून्य भएर देश र जनताका पक्षमा काम गरिनुपर्दछ । आजको यो विशिष्ट समारोहमा प्रस्तुत भएको अवधारणापत्रका माध्यमबाट हामी साहित्यकारले मुलुक र जनताको समृद्धिका पक्षमा वस्तुपरक भएर खबरदारी गर्नुपर्ने आवश्यकता औँल्याइएको छ, सबैको ध्यान यतातर्फ जाओस् भन्नुभयो । 
सभाध्यक्ष माननीय डा.विजय सुब्बाले आजको यो विशेष समारोहमा प्रगतिशील आन्दोलनका जीवित इतिहास अग्रजहरू, विद्वान व्यक्तित्वहरू आइदिनुभएर उत्साह थपिदिनुभएको छ । अब मुलुकको समृद्धिका विषयमा बहस थाल्नु अपरिहार्य छ भन्ने लागेर यो विशेष समारोहको आयोजना गरेका हौँ र सहकार्यको हाम्रो प्रस्ताव सहजै स्वीकार गरेर सांस्कृतिक संस्थानले गुन लगाएको छ मात्र होइन सांस्कृतिक संस्थानको सहकार्यको अवधारणा अत्यन्त प्रशंसनीयसमेत रहेको छ । प्रतिष्ठानले तीन तीन महिनामा यस्तै विशेष कार्यक्रम सम्पन्न गर्ने, आज वाचित रचनालाई शार्दूल अर्ध वार्षिकमा प्रकाशन गर्ने, राष्ट्रिय गीत प्रतियोगिताको आयोजना गरिने भएको छ र त्यसमा उत्कृट दस गीतलाई जनही रु.पाँच हजारका दरले पुरस्कार दिई ती गीतहरूलाई सङ्गीतबद्ध गरेर प्रकाशनमा ल्याउनसमेतको तयारी रहेको छ तर हाम्रा जनपक्षीय गीतसङ्गीतलाई सञ्चारमाध्यमले स्थान नदिने समस्या भने हामीले भोगिरहेका छौँ, यसले समृद्धिको यात्रालाई सुनिश्चित गर्दैन ! त्यसैले हामी ज्ञापनपत्रका माध्यमबाट माननीय संस्कृति मन्त्री र सञ्चार मन्त्रीको ध्यानाकर्षण छिटै गराउँदै छौँ, समाधानको प्रयत्नका लागि आग्रह गर्ने छौँ भन्नुहुँदै उपस्थित सबै सबैमा हार्दिक आभारसहित समारोहको समापन गर्नुभयो ।






No comments: