Friday, September 15, 2017

पूर्वएकता केन्द्र नेताहरूको छुट्टै भेला

एमाओवादीले आन्दोलनको रक्षा र नेतृत्व गर्नै नसक्ने ठहर

रामकृष्ण अधिकारी/राजधानीकाठमाडौं, ५ भदौं २०७२ 
एकीकृत नेकपा माओवादीभित्र नयाँ धारको औपचारिक जन्म भएको छ । अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता डा.बाबुराम भट्टराईले अलग–अलग गुटबन्दी सञ्चालन गर्दै आउँदा पार्टीभित्रको गुटहरूलाई भत्काउनुपर्ने बताउँदै आएका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकटका नेताहरूले औपचारिक रूपमा नयाँ धारको घोषणा गरेका हुन् ।
शनिबार राजधानीको कालिमाटीस्थित एभरेस्ट कलेजमा पूर्वएकता केन्द्रबाट माओवादीमा आएका नेताहरूले छुट्टै भेला गरी नयाँ धारको औपचारिक घोषणा गरेका हुन् । यद्यपि, यसलाई उनीहरूले एमाओवादीभित्रकै नयाँ गुट या पूर्वएकताकेन्द्र पक्षधरहरूको रूपमा नभई क्रान्तिकारी आन्दोलनलाई संगठित गर्ने नयाँ समाजवादी अभियान भएको बताएका छन् । उनीहरूले हालको एमाओवादीबाट अब क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको रक्षा र नेतृत्व दुवै नहुने निष्कर्ष निकाल्दै नयाँ ढंगले आन्दोलनलाई पुनगर्ठनको आवश्यकता औंल्याएका छन् ।
‘औपचारिक कम्युनिस्ट क्रान्तिकारी संस्था अब माओवादी आन्दोलनभित्र रहेन, क्रान्तिकारी व्यक्ति भने छन्, व्यक्तिबाट छलफलको आरम्भ गरी नयाँ ढंगले आन्दोलन पुनर्गठन अभियान चलाउने उद्देश्यले हामीले छलफल सुरु गरेका हौं,’ अभियानको संयोजनको जिम्मा लिएका नेता प्रकाशहरि पोखरेलले राजधानीसँग भने । उनीहरूले यसलाई ‘समाजवादका लागि वैचारिक अभियान’ नामांकन गरेका छन् ।
अभियानमा पोखरेलको संयोजकत्वमा श्रीकृष्ण श्रेष्ठ, गोविन्द महर्जन, जागृत रायमाझीलगायतका नेताहरू छन् । ‘अब प्रचण्डले नेतृत्व गरेको माओवादी धारबाट मात्र क्रान्तिकारी कम्युनिस्ट आन्दोलन अगाडि बढ्न सक्दैन भन्ने निष्कर्षका साथ हामीले वैचारिक अभियान चलाउन लागेका हौं,’ पोखरेलले भने । शनिबारको भेलामा वरिष्ठ नेता अमिक शेरचनदेखि लीलामणि पोखरेल, विश्वभक्त दुलाल (आहुति), पेशल खतिवडा, धनीराम पौडेल, मातृका पोखरेललगायतका नेताहरूको सहभागिता रहेको थियो ।
उनीहरू सबै पूर्वएकता केन्द्रबाट माओवादीसँग पार्टी एकतामा आएका नेता हुन् । भेलामा नेकपा मालेबाट माओवादी प्रवेश गरेका दिनेश पन्थीको पनि सहभागिता रहेको थियो । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव गिरिराजमणि पोखरेल भेलामा उपस्थित नभए पनि उनीहरूले अभियानप्रति नैतिक समर्थन जनाएको संयोजक पोखरेलले जानकारी दिए ।
संविधान निर्माण, माओवादी पार्टीका गतिविधि र समाजवादी आन्दोलनमा पार्टीको धारणालगायतका विषयको अध्ययनपछि एमाओवादी अब क्रान्तिकारी पार्टी नरहेको निष्कर्ष उनीहरूले निकालेका हुन् । ‘एमाओवादी पार्टी त अब विघटनजस्तै भइसकेको छ, यसलाई निर्मममतापूर्वक नयाँ ढंगले रूपान्तरणसहितको पुनर्गठन नगर्ने हो भने पार्टीको रूपमा रहँदै रहँदैन,’ अभियानको नेतृत्वकर्तामध्येकै पूर्वविद्यार्थी नेता जागृत रायमाझीले राजधानीसँग भने, ‘अहिले त्यसैका लागि ‘लुज फोरम’को रूपमा छलफल सुरु गरेका हौं ।’
शनिबारको भेलालाई अमिक शेरचन, लीलामणि पोखरेल र विश्वभक्त दुलालले सम्बोधन गरेका थिए । शेरचनले हालको एमाओवादी फेरिन सक्ने अवस्था लगभग समाप्त भएकाले अब यही संरचनाको पार्टी र नेतृत्वबाट क्रान्तिकारी आन्दोलन नहुने भएकाले क्रान्तिकारीहरूले नयाँ ढंगले सोच्नुपर्ने धारणा राखेका थिए ।
अर्का नेता लीलामणि पोखरेलले नेपाली समाजको चरित्रको व्याख्यामै एमाओवादी पार्टीले लिएको निष्कर्ष तथ्यसंगत नभएको टिप्पणी गरेका थिए । ‘नेपाली समाजको चरित्रमा दुईखाले बहस छ, एउटा पुँजीवाद आएको भन्ने र अर्काे २००७ सालकै पेरिफेरिमा रहेको भन्ने, अहिलेको समाजको चरित्र कस्तो भन्ने बहस र छलफल पुगेकै छैन,’ पोखरेलको भनाइ उद्धृत गर्दै पूर्वविद्यार्थी नेता रायमाझीले राजधानीसँग भने, ‘एमाओवादीले गरेको नेपाली समाजको अहिलेको चरित्रको व्याख्या नै तथ्यसंगत छैन ।’
देश सार्वभौम नभएको र अझै पनि विदेशीहरूको गुलामको अवस्थामा रहेको बेला पँुजीवादी व्यवस्थामा प्रवेश गरेको भन्ने तर्क तथ्यसंगत नभएको पोखरेलको भनाइ थियो । नेता दुलालले भने अब पुरानै तरिकाबाट नहुने भन्दै नयाँ ढंगले क्रान्तिकारीहरूले पहल लिनुपर्ने बताएका थिए । ‘प्रचण्डको नेतृत्वको माओवादी धारबाट आएका भन्दा हामी पूर्वएकता केन्द्रको धारबाट आएका नेता–कार्यकर्ता बढी क्रान्तिकारी देखियौं,’ दुलालको तर्क थियो ।
भेलामा सहभागीहरूले पार्टी केन्द्र र तलका बिचमा समन्वय हुन नसकेको, चेन अफ कमान्ड नै नभएको जस्ता कारण एमाओवादी पार्टी अब चल्न नसक्ने बताएका थिए । उनीहरूले अब पार्टीको महाधिवेशनबाट पनि निकास निस्कन नसक्ने ठोकुवा गरेका छन् ।
‘महाधिवेशन गर्दा पनि हेटौंडा महाधिवेशनकै जस्तो भीडतन्त्रमा परिणत हुन्छ, यसले निकास ल्याँउदैन,’ पोखरेलले भने, ‘प्रचण्डले नेतृत्व छोडेर बाबुरामलाई उत्तराधिकारी बनाउने भन्ने कुरा झन् अर्काे नयाँ सामन्तवादको पुनरावृत्ति गर्ने काम मात्रै हो ।’ पोखरेलले अब देशव्यापी रूपमा ‘समाजवादका लागि वैचारिक अभियान’का नाममा बहस चलाएर जाने बताए ।
‘नेता बन्ने हाम्रो रहर पनि होइन, पूर्वएकता केन्द्रलाई पुनः ब्यूँताएर प्रकाश (नारायणकाजी श्रेष्ठ) लाई नेता बनाएर मात्र पनि हुँदैन,’ पोखरेलले भने, ‘अब यथास्थितिमा पार्टी रहँदैन, त्यसबाट सम्बन्धविच्छेद गर्नुपर्छ तर कहिले गर्ने भन्ने बहस गर्नुपर्छ ।’
http://www.rajdhani.com बाट साभार 
प्रकाशित मिति: २०१५-०८-२३
----------------------------------------------------------------------




No comments: