Saturday, June 22, 2019

प्रलेस परिसम्वाद कार्यक्रम शृंखला-२४ सम्पन्न ।

काठमाडौँ । प्रगतिशील लेखनका समस्याहरुमाथि विमर्श गर्दै प्रगतिशील लेखक सङ्घको आयोजनामा चौबिसौँ परिसंवाद शृङ्खला सम्पन्न भएको छ । प्रलेसको केन्द्रीय कार्यालय बागबजारमा २०७६ असार ६ गते शुक्रबार सम्पन्न सो कार्यक्रमको अतिथि वक्ता प्रलेसका पूर्व अध्यक्ष मातृका पोखरेल  हुनुहुन्थ्यो ।

केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरीको प्रमुख आतिथ्यता, केन्द्रीय उपाध्यक्ष गोपिरमण उपाध्यायको अध्यक्षता तथा महासचिव समिर सिंहको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा अतिथि वक्ता पोखरेल ले प्रगतिशील लेखनको मुख्य समस्या वैचारिक अस्पष्टता नै रहेको बताउनु भयो । “वैचारिक रूपमा प्रष्ट नभइकन प्रगतिशील लेखन सम्भव छैन” पोखरेल ले अगाडि भन्नु भयो– “त्यसपछिको अर्को समस्या कलात्मक निखारता हो ।” उहाँले प्रगतिशील लेखनको क्षेत्रमा विचार व्यक्त गरे पुगिहाल्छ भन्ने गलत प्रवृत्ति पनि रहेको बताउनु भयो । साहित्यमा विचार चाहिदैन भन्ने प्रतिधु्रवीय विचारको विरुद्धमा विचारलाई प्राथमिकता दिने विचार सही भए पनि कला पक्षमा ध्यान दिनु त्यत्तिकै आवश्यक रहेको उहाँको तर्क थियो । “धेरै नलेखौँ, तर राम्रा लेखौँ” उहाँले बिना बिम्ब सयौँ कविता लेख्नुभन्दा केही राम्रा कविता लेख्नु श्रेयष्कर रहने बताउनु भयो । उहाँले अहिले साहित्यकारमध्ये कविहरुको सङ्ख्या बढी भएकोमा अब कथा, उपन्यासतिर पनि ध्यान जानु पर्ने आवश्यकतामा जोड दिनु भयो । कथा, उपन्यासको पाठक बढी भएकोतर्फ इङ्गित गर्दैै उहाँले सो धारणा व्यक्त गर्नु भएको थियो ।

अतिथि वक्ताले मन्तव्य राख्नु भएपछि त्यसमाथि अशोक कुँवर, विमल पोख्रेल, डा. बालकृष्ण अधिकारी, राम प्रकाश पुरी, नर्मदेश्वरी सत्याल, लक्ष्मी खड्का, डा. धु्रव कुमार घिमिरे, राम बहादुर बुढा, जगत प्रसाद रेग्मी, समिर सिंह र धन कुमारी न्यौपानेले पुरक टिप्पणी राख्नु भएको थियो ।

कार्यक्रमको अन्तमा प्रमुख अतिथि अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरीले पनि मन्तव्य राख्नु भएको थियो ।

www.pwa11th.blogspot.com बाट साभार । 















No comments: