Friday, February 28, 2020

कविता : फरक फरक छातीहरु

- मातृका पोखरेल 

उसको जीवनमा
स्थिरता खोज्ने हो भने
ऊ रुख हो

पहाड हो
जे पनि भन्न सकिन्छ
उसको गति खोज्ने हो भने
ऊ नदी हो

हावा हो
त्यो पनि भन्न सकिन्छ
मैले उसको छातीमा कठोरता खोजें
र भेटें इस्पात
मैले उसको छातीमा कोमलता खोजें
र भेटें तरल ।

मैले उसको छातीमा
अनुभूतिका डोबहरु खोजें
र भेटें करोडौं
गरिबीका आला यादहरु
परिवार जनसँगका विछोडहरु
घर जग्गा लुटिएका पीडाहरु
र भेटें एकैसाथ
करोडौं खुशीका क्षणहरु ।

उसलाई एक्लै भेटिन सकिंदो रहेनछ
वर्तमानमा मान्छेका साझा खुशीहरुमा
उसको रगत अनुवाद भएछ
वर्तमानमा मान्छेका साझा स्वतन्त्रताहरुमा
उसको चाहना अनुवाद भएछ
ऊ सिङ्गो युग थियो आफैंमा
ऊ थियो हाम्रो शहीद


No comments: